Loading... आजः ४ पुष २०८१, बिहीबार

एमाले संकल्प अभियानको पक्षमा उभियो दैलेखको रेडक्रस मावि, बनायो स्वागतद्वार

आवश्यक छानविन गर्छौंः शिक्षा शाखा प्रमूख उपाध्याय

सुर्खेत ।
नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी राजमार्ग अन्र्तगतको संकल्प अभियानमा दैलेख जिल्लाको एक माध्यमिक विद्यालय पनि पक्षमा उभिएको छ ।

दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं. ६ स्थित श्री रेडक्रस माध्यमिक विद्यालय भुर्तिले एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीसहितका नेताहरुलाई स्वागत गर्न घुम्ने खोलामा स्वागत गेट निर्माण गरेको हो ।

एमालेको अभियान टोली आज दैलेख सदरमुकाममा आउने कार्यक्रम रहेकाले उक्त स्वागत गेट निर्माण गरिएको पाइएको हो ।

नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष जितेका जनक न्यौपाने विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेको उक्त विद्यालयले मध्यपहाडी सडक खण्डमा बडेमानको स्वागतद्वार निर्माण गरेको हो ।

विद्यालयले स्वागतद्धार निर्माण गरेर राजनीतिमा होमिएपछि दैलेखमा विद्यालयको आलोचना हुन थालेको छ ।

राजनीतिक आस्थालाई पर राखेर शिक्षा दिक्षा दिने विद्यालय नै राजनीतिक दलका पछि लागेको यो पहिलोपटक हो ।

‘यो एमाले मात्रैको विद्यालय होईन, यहाँ सबै दलमा आस्थावान अभिभावकका छोराछोरीहरु अध्ययन गर्ने गर्दछन् । विद्यालयलाई शान्ति क्षेत्र घोषणा देखि राजनीतिक रुपमा संलग्न हुन नपाउने व्यवस्थाको बर्खिलाप यो विद्यालयले गरेको छ ।’ स्थानीय पत्रकार भीम सिजापति भन्छन, ‘यो भनेको रमिता हो । विद्यालयको आडमा राजनीति गर्न दिने काम कोही कसैले गर्न हुँदैन र गर्न दिनु पनि हुँदैन ।’

यता, विद्यालयका प्रधानाध्यापक पदम थापालाई यस बारेमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

उता, नगर शिक्षा शाखा प्रमूख पुर्ण प्रसाद उपाध्यायले भने त्यसरी कुनै अमूक राजनीतिक दलको स्वागतमा विद्यालयले स्वागत गेट बनाउन कानूनी रुपमा नमिल्ने बताए ।

‘त्यो उहाँहरुले कुन रुचि लिएर बनाउनु भएको हो थाहा भएन । त्यसरी कुनै एक दलको व्यानर बनाई स्वागतद्धार निर्माण गर्न पाईदैन । यसबारेमा म विद्यालयका प्रधानाध्यापकलाई बुझ्छु ।’ उनले पहिलोप्रेससँग भने, ‘त्यसपछि गेट भत्काउन लगाउने देखि अन्य छानविनका कार्यहरु हामी अघि बढाउँछौं ।’

 

 


सम्बन्धित समाचार