सुर्खेत विमानस्थल स्तरोन्नतीबारे दुई पूर्व मन्त्रीको महानिर्देशक अधिकारीसँग छलफल
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ५७ वर्ष देखि सञ्चालनमा आइरहेको सुर्खेत विमानस्थल स्तरोन्नतीका लागि पूर्व मन्त्री एवम संघीय र प्रदेश सांसदहरु थप छलफलमा जुटेका छन् ।
शनिबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसँग सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद हृदयराम थानी र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर दुई क बाट निर्वाचित सांसद यामलाल कंडेलले सुर्खेत विमानस्थल स्तरोन्नतीको विकल्प नरहेको भन्दै तत्काल उक्त कार्य अघि बढाउन आग्रह गरेका हुन ।
‘हामी जनताको प्रतिनिधि भएका कारण आज हामी दुवै जना महानिर्देशकसँगको छलफलमा सहभागि भएका हौं ।’ एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका पूर्व मन्त्री कंडेलले पहिलोप्रेससँग भने, ‘उहाँहरुले स्थानीय, प्रदेश सरकार तयार भएको खण्डमा आफूहरु स्तरोन्नतीको बाधक नहुने प्रतिबद्धता जनाउनु भएको छ ।’
छलफलमा महानिर्देशक अधिकारीले सुर्खेत विमानस्थल स्तरोन्नतीका लागि पहिले देखि नै विभाग तयार रहेको बताएका थिए ।
‘हामीले पहिलेपनि आवश्यक बजेट व्यवस्थापन गरेका थियौं । दुई तीन वर्ष बजेट फिर्ता भएको थियो ।’ उनको भनाई उदृत गर्दै थानीको सचिवालयले भन्यो, ‘यदि स्थानीय सरकार र प्रदेश सरकारले विगतमा अर्को विमानस्थलको खोजी गर्न भन्दै परिपत्र नगरेको भए हालसम्म स्तरोन्नतीको धेरै कार्य सम्पन्न भइसकेको हुने थियो ।’
यता, दुई पूर्व मन्त्रीहरु सुर्खेत विमानस्थलको स्तरोन्नती गर्नुपर्ने भन्दै काठमाडौंमा छलफलमा रहेको समयमा नेपाल सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भने पुर्वी सुर्खेतमा मुटु रोग सम्वन्धी स्वास्थ्य शिविर उदघाटन गर्न आएका छन् । उनले आज आयोजना गरिएको शिविरको समुदघाटनसमेत गरेका हुन ।
पहिलोप्रेस
७ पुष २०८०, शनिबार १३:३८