सुर्खेत विमानस्थलमा रुख रोप्ने ? कुर्तक नगरौँः नगरप्रमूख ढकाल
सुर्खेत ।
पछिल्लो समयमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थलमा रुख रोप्ने योजना सार्वजनिक भएसँगै कर्णालीको राजनीति तरंगित भएको छ ।
कर्णाली प्रदेशको एकमात्र सुगम नगरपालिका वीरेन्द्रनगर नगरपालिकाका तत्कालिन नगरप्रमूख देवकुमार सुवेदी नेतृत्वमा बसेको आठौं नगरसभाबाट वीरेन्द्रनगर नगरपालिकामा रहेको यो विमानस्थल विस्तार गर्न कठिनाई हुने भन्दै विकल्प खोज्न निर्णय गरेको थियो ।
२०७७ साल माघ २८ गते सम्पन्न भएको उक्त नगरसभाले गरेको सोही निर्णयमा टेकेर कर्णाली प्रदेश सरकारले पनि विमानस्थल अन्यत्रै निर्माण गर्न भन्दै संघीय सरकारलाई पत्र पठाएको थियो ।
सोही विषयमा पछिल्लो समयमा सुर्खेत विमानस्थल सार्ने, नयाँ निर्माण गर्ने वा विस्तार गर्नेबारेमा तीव्र रुपमा छलफल, बहस हुँदै आइरहेको छ ।
बहसमा यहाँका स्थानीय नागरिकहरु प्रष्ट रुपमा विभाजित भएका छन् । नेकपा एमाले विमानस्थल विस्तार गर्नुपर्ने अडानमा छ भने नेपाली काँग्रेसको संस्थापन इतर समुहपनि विस्तारकै पक्षमा खुलेर लागेको छ तर काँग्रेसको संस्थापन समूह भने सुर्खेतको भेरीगंगामा विमानस्थल बनाई छाडने अठोटका साथ अघि बढिरहेको छ ।
तर, कर्णाली प्रदेश सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी नेतृत्वमा भने विमानस्थलबारेमा अनिर्णित छ । माओवादीका नेताहरुले विमानस्थल नयाँ निर्माण वा विस्तार पहिलो प्राथमिकता के हो भन्ने बारेमा हालसम्म मुख खोल्न सकेका छैनन् ।
यसको एउटा प्रमूख कारण के हो भने नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का वर्तमान गठबन्धनकै पक्षमा भएको र राष्ट्रिय सभाको निर्वाचनसमेत सन्निकट आएका कारण माओवादी नेताहरुले मुख खोल्न नसकेका हुन ।
यहि विमानस्थल विस्तार गर्ने वा नगर्ने भन्ने विषय अव घुमिफिरि स्थानीय सरकारसामू आइसकेको छ । नागरिक उड्डयन कार्यालयले समेत विमानस्थल विस्तारका लागि आफूहरु सकारात्मक रहेको बताइरहेका समयमा विमानस्थल विस्तारमा तपाईहरु किन अवरोध गरिरहनु भएको छ भन्ने प्रश्न वीरेन्द्रनगरपालिका नेतृत्वलाई स्थानीयले सामाजिक सञ्जालमार्फत सोधिरहेका छन् ।
यहि परिप्रेक्ष्यमा पहिलोप्रेसले वीरेन्द्रनगर नगरपालिकाका प्रमूख मोहनमाया ढकाललाई विमानस्थलबारेमा केहि प्रश्न सोधेको छ । पहिलोप्रेसको प्रश्नलाई वीरेन्द्रनगर प्रमूख ढकालले यसरी जवाफ दिएकी छिन्, प्रस्तुत छ उनको धारणाः
हामीले पहिलेदेखि नै वीरेन्द्रनगरमा सञ्चालनमा रहेको सुर्खेत विमानस्थललाई नै विस्तार गर्नुपर्ने धारणा राख्दै आइरहेका छौं । यसमा स्थानीय सरकार निरन्तर लागिरहेको छ, लागि परेको छ । हामी यो विमानस्थल विस्तारका लागि कटिबद्ध छौं ।
यो विमानस्थललाई बन्द गरेर जंगल बनाउने भन्ने कुरामा हाम्रो आपत्ति छ । वीरेन्द्रनगरमा रहेको यो विमानस्थललाई स्तरोन्नती गर्न सहज छ, सकिन्छ । यसकालागि संघीय र प्रदेश सरकारले मुआव्जाको ग्यारेन्टी लिनुपर्छ भने हामी त्यसको व्यवस्थापनको जिम्मा लिन्छौं । यसमा कुनै शंका गर्नुपर्दैन तर जसरी यहाँको विमानस्थललाई जंगल बनाईने भनेर भनिएको छ, त्यो कसैले दिवास्वप्न देखेको होला, कसैलाई लाग्ने वित्तिकै यहाँ जंगल बनाईहाल्ने कुरा हुँदैन । हामी यहि विमानस्थल विस्तार गर्ने पक्षमा भएका कारण यहाँ रुख रोप्ने कार्य हुँदैन, गर्दैनौं र कसैलाई गर्न पनि दिदैंनौँ ।
२०७७ सालको माघमा सम्पन्न आठौं नगरसभाको निर्णयबारेमा हामी क्लियस छौं । आवश्यकता भएको खण्डमा अन्यत्र विमानस्थल बनाउन हामी रोक्न सक्दैनौं, नगर कार्यपालिकाले यहाँ विस्तार गर्नै नसकिने भन्ने निर्णय गरेको जस्तो मलाई लाग्दैन, कहिँ कतै त्यस्तो भएको छ भनेपनि मैले अघि नै भनिँसकें, सरकारले स्थानीय नागरिकलाई उचित मुआव्जा प्रदान गरोस, विमानस्थल व्यवस्थापन गर्न हामी तयार छौं ।
अझ भन्ने हो भने उक्त नगरसभाबाट पारीत निर्णयमा यहाँको विमानस्थललाई विस्थापन गरेर अन्यत्र लैजाने भन्ने उल्लेख गरिएको छैन नि, यसबाट पनि हामी सबै क्लियर हुनुपर्छ जस्तो मलाई लाग्छ ।
अझ म के भन्छु भने, हाम्रो तर्फबाट विमानस्थल विस्तारमा कुनैपनि रोकावट हुँदैन । हामी यहि विमानस्थल विस्तार गरेर ठूला जहाज बस्नसक्ने वातावरण निर्माण गर्न स्थानीय नागरिकसँग पनि छलफल गर्न तयार छौं, हामी गर्छौं । बाहिर हल्ला आएजस्तो हामी विमानस्थल सार्ने भन्ने पक्षमा छैनौं ।
(वीरेन्द्रनगर नगरपालिकाका प्रमूख मोहनमाया ढकालसँग गरिएको कुराकानीमा आधारित सामाग्री)
पहिलोप्रेस
९ पुष २०८०, सोमबार १०:२४