कर्णालीमा बढदै क्रिकेट क्रेज, लगानी बढाउँदै प्रदेश सरकार
सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो समयमा क्रिकेट क्रेज बढदै गएको छ । कर्णाली प्रदेशमा विगतका वर्षमा भलिवल तथा एथ्लेटिक्स खेलहरुमा धेरै क्रियाकलाप हुने गरेपनि पछिल्लो समयमा कर्णाली क्रिकेटमा थप निखारिन थालेको हो ।
देशैभरमा क्रिकेटको क्रेज निरन्तर बढिरहेको समयमा कर्णालीमा पनि क्रिकेटप्रति कर्णालीका युवाहरुको रुचि बढन थालेको हो ।
यहि पुस १० गतेदेखि वीरेन्द्रनगरमा प्रधानमन्त्री कपका लागि कर्णाली प्रदेशबाट छनौट खेल आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा सुर्खेत प्रथम भएको छ ।
यो वाहेक पछिल्लो समयमा गाउँ घरमा पनि साना बालबालिकाले क्रिकेट खेल्न सुरु गरेका छन् । दिनप्रतिदिन खेलाडीले क्रिकेटमा प्रगति गर्न थालेपछि प्रदेश सरकारसमेत क्रिकेट क्षेत्रमा लगानी बढाउन लागेको हो ।
कर्णाली प्रदेशमा हालसम्म कतैपनि क्रिकेट रंगशाला निर्माण भएको छैन । क्रिकेट रंगशाला निर्माण नभएपनि खेलाडीहरु भने विभिन्न स्थानमा समूह बनाई खेल खेल्ने गरेका छन् ।
प्रदेश सरकार स्थापना भइसकेपछि खेलकुद मैदान बनाउने देखि रंगशाला निर्माण गर्ने कार्य त्रिव्ररुपमा भइरहेको समयमा वीरेन्द्रनगरमा कालिन्चोक क्रिकेट मैदान निर्माणमा तीव्रता आएको छ ।
कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सन्जेलका अनुसार कालिन्चोकमा क्रिकेट मैदान निर्माण तीव्र रुपमा भइरहेको हो ।
यहि चैत मसान्तसम्म निर्माण गरिसक्ने गरि केपिडिडि कन्स्ट्रक्सन वीरेन्द्रनगरले परिषदसँग मंसिर १५ गते निर्माण सम्झौता गरेको थियो ।
कम्पनीले ७३ लाख १८ हजार ३३७ रुपैंयामा निर्माण गर्ने भनेर उक्त सम्झौता गरेको हो ।
मैदानमा निर्माण कम्पनीले क्रिकेट पिच गर्ने, माटो काटी अर्धनाली निर्माण कार्य गर्ने र मिलाउने, मैदानमा दुवो लगाउने र ल्याण्ड स्क्यापिंग गरि हरियाली गर्ने काम चैत मसान्तभित्र सम्पन्न गर्नेछ ।
तिन लेनको क्रिेकेट पिच गर्ने कार्य पुसमै सक्ने, माटो कटिंग र लेबल मिलेउने काम माघसम्म गर्ने, क्रिकेट मैदानमा दुवो लागाउने काम फागुन र चैतमा गर्ने र मैदानलाई हरियाली बनाउने काम सकेपछि परिषदलाई मैदान हस्तान्तरण गर्ने कार्यतालिका रहेको छ ।
निर्माण कम्पनीले २०८१ वैशाख १ गते मैदान हस्तान्तरण गर्नेछ ।
यो मैदान निर्माण भएसँगै परिषदले विभिन्न पालिकामा क्रिकेट खेलको विस्तार योजना अघि सारेको छ ।
‘क्रिकेट खेलको दिर्घकालिन विकासको लागि प्रत्येक स्थानिय तहको साझेदारीमा कम्तिमा एउटा एउटा क्रिकेट प्राक्टिस नेट सबै स्थानिय तहमा आगामि आर्थिक वर्षबाट निर्माण शुरु गर्ने योजना बनाएका छौं ।’ सदस्य सचिव सञ्जेलले भने, ‘सुर्खेत जिल्लाको मैनतडामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको क्रिकेट खेल आयोजना गर्न सकिने प्रदेश स्तरको रंगशाला निर्माणको गुरु योजना सहितको लागत प्रतिबेदन तयार गर्ने गरि अघि बढेका छौं ।’
उनका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा क्रिकेटको विकासकालागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ ।
‘हामी खेलकुदलाई उच्च प्राथमिकता दिएर अघि बढिरहेका छौं ।’ मुख्यमन्त्री राजकुमार शर्माले भने, ‘त्यसकालागि कहाँ के कति बजेटको आवश्यकता छ, कस्ता संरचना बनाउनुपर्ने हो, त्यो तयार गर्न खेलकुद परिषदलाई मैले निर्देशन दिइसकेको छु । क्रिकेटको विकासका लागि त हाललाई कालिन्चोक मैदान निर्माण भइरहेको छ, अन्य जिल्लामा पनि संरचना निर्माणमा हामी विशेष ध्यान दिन्छौं ।’
उनले सकेसम्म हरेक पालिकामा क्रिकेटका संरचना निर्माण गर्न सरकार लागि पर्ने बताए ।
‘खेलाडीलाई समय व्यतित गर्न होईन, उनिहरुकालागि खेलकुदले भविष्यमा असल जीवन यापनको अवसर दिन्छ भन्ने सन्देश प्रवाह गर्न जरुरी भइसकेको छ ।’ उनी भन्छन, ‘त्यहि सन्देश स्थानीय स्तरमै जाओस र कर्णालीको शिर उचों पार्ने खेलाडी उत्पादन गरेर देश र प्रदेशको नाम संसारभर फैलियोस भन्ने हाम्रो तीव्र चाहना छ । त्यसकालागि नभईनहुने लगानी गर्न हामी तयार छौं ।’
पहिलोप्रेस
१६ पुष २०८०, सोमबार १०:५६