Loading... आजः २२ भाद्र २०८१, शनिबार

कर्णालीमा पहिलोपटक ब्याटमिन्टन प्रदेश अम्पायर तालिम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेश व्याडमिन्टन संघको आयोजनामा कर्णाली प्रदेशका ३५ जना अम्पायर बनेका छन् ।

दशौं खेलकुद प्रतियोगिता २०८१ साल मंसिर दुई गते देखि नौ गतेसम्म कर्णालीमा आयोजना हुने भएको हुँदा त्यसैको तयारी स्वरुप संघले उक्त तालिमको आयोजना गरेको प्रदेश अध्यक्ष टक्क बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार तालिममा कर्णालीका दशै जिल्लाबाट सहभागि भएका थिए । जसमा ६ जना महिलाको सहभागिता रहेको थियो भने २९ जना पुरुषको सहभागिता रहेको थियो ।

‘हुम्लाबाट तीन जना, डोल्पाका दुई, जुम्लाका तीन, कालिकोट चारजना, दैलेखबाट दुई जना, सुर्खेतबाट ११ जना, जाजरकोटबाट तीन जना, रुकुम पश्चिमबाट पाँच र सल्यानबाट दुई जनाको सहभागिता रहेको थियो ।’ अध्यक्ष शाहीले भने, ‘पाँच दिनसम्म चलेको उक्त प्रशिक्षण अन्र्तराष्ट्रिय रेफ्रि किरण कारन्जित र व्याडमिन्टन एसियाका दिपक थापाले दिएका थिए ।’

प्रदेश खेलकुद परिषदको आर्थिक सहयोग र सुर्खेत जिल्ला व्याडमिन्टन संघको समन्वयमा आयोजित उक्त तालिममा सहभागिलाई सहभागि प्रमाणपत्र दिइएपनि राष्ट्रिय स्तरको एम्पाएर बनाउन लिखित परीक्षासमेत लिइएको हो ।