विग्रेड कमाण्डर तिमिल्सेनाको लोभलाग्दो बेमौसमी तरकारी खेति
सुर्खेत ।
दैलेखको चामुण्डा विन्द्रासैनी घर भई हाल वीरेन्द्रनगरमा बस्दै आइरहेका तत्कालिन नेकपा माओवादीका विग्रेड कमाण्डर गोविन्द तिमिल्सेनाले लोभलाग्दो तरकारी खेति गर्दै आइरहेका छन् ।
उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । हाल पार्टीको केन्द्रीय सदस्य छन् । उनी २०५५ साउनमा माओवादी पार्टीमा लागेका थिए ।
गोविन्द सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला भूमिगत थिए । विद्रोही माओवादीको ‘जनमुक्ति सेना’ को ‘ब्रिगेड कमान्डर’ तहको जिम्मेवारीमा पुगेका तिमिल्सेना कृषक परिवारबाटै भूमिगत बनेका थिए ।
उनी भूमिगत रहेकै समयमा एक पटक कैलालीको आम खैयामा भएको लडाइँमा खुट्टामा गोली लाग्यो । शल्यक्रिया गरेर राखिएको रड अझै निकालिएको छैन ।
म्याग्दी र रुकुमको खारामा पनि उनि घाईते भएका थिए, तर त्यो भन्दा ठूलो घटना आमखैयामा भएको थियो ।
उनको खुट्टामा लागेको चोट एम सिक्सिटिन बन्दुकको गोलीको हो । शान्ति प्रक्रियामा उनी पूर्वलडाकुका शिविरमा पुगे । सेना समायोजनका लागि प्रक्रिया सुरू भयो । उनी आफू नेपाली सेनामा नपर्ने निष्कर्षमा पुगे । कारण उनको देव्रे खुट्टामा गोली लागेको र रड राखिएको थियो ।
आखिर उनी छनोट प्रक्रियामा सामेल नै भएनन्, राजनीतिक मोर्चा रोजे । केही वर्ष आफ्नो जिल्ला दैलेखमा बसेर पार्टी संगठनको काममा लागे ।
पारिवारिक पेशा नै कृषि भएका कारण उनले वीरेन्द्रनगरमा कृषि पेशा नै अवलम्बन गर्ने योजना बनाए । उनले २०६६ सालमा सुरू गरे कृषि कर्म । प्रारम्भमा ६ कट्ठा जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती सुरू गरेका थिए, अहिले १० कट्ठामा गर्दै छन् ।
द्वन्द्वका क्रममा घाइते भएका तिमिल्सेनार्ला पछि धेरै हिँडडुल गर्न गाह्रो भयो । छोरीको उपचारका लागि पनि सुर्खेत बस्नुपर्ने भयो । यता आएपछि आर्थिक संकट भएको उनको अनुभव छ ।
जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पथ्र्याे । आफूले जानेको काम कृषि नै थियो । र राजनीतिमा होमिने नेता कार्यकर्ताले व्यवसायिक बन्नैपर्ने आवश्यकता पनि महसुस गरियो, उनि भन्छन् ।
कृषि कर्म त सुरु गर्ने, तर पैसाको जोहो कसरी मिलाउने ? उनलाई यो तनाव थपियो । यद्यपी उनले कृषि कर्म गर्ने दृढ निश्चय गरिसकेपछि ऋण खोज्न थाले । उनले सोढे एक लाख रुपैंया ऋण खोजेर टनेल निर्माण गर्न सुरु गरे ।
सुरुमा उनी ६ कट्ठामै खेती गर्दै थिए । करिब डेढ वर्षअघि अर्को ठाउँमा १० कट्ठा जमिन भाडामा लिएर खेती सारेका छन् ।
उनलाई अहिले परिवारकै सदस्यहरुले सघाई रहेका छन् । उनकी श्रीमती गीता अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सुर्खेत जिल्ला अध्यक्ष छिन् । उनी पनि खेतीमा नियमितजसो काम गर्छिन् । उनीहरूको बिहे भूमिगत समयमै भएको हो । गीता सांगीतिक कलाकारका रूपमा पार्टीमा सक्रिय थिइन् ।
‘पार्टीमा महत्वपूर्ण बैठक वा कार्यक्रम हुँदा मात्र सहभागी हुन्छौं । परिवारले नै खेती धानेका छौं,’ गोविन्दले भने, ‘कहिलेकाहीँ पार्टीको काममा धेरै समय दिनुप¥यो भने ज्यालादारीमा मान्छे राखेर काम गराउँछौं । हामीले राजनीतिमा भन्दा बढी समय खेतीमा दिएका छौं ।’
उनले हाल एक जना पूर्ण कालिन कामदार राखेका छन् भने पाँच जना अल्पकालिन कामदार राखेका छन् ।
गोविन्दको तरकारी बारीमा अहिले काँक्रो, करेलो, घिरौंला, चिचिन्डो, फर्सी, लौका, क्याप्सिकम, तोरी, हरियो धनियाँ, टमाटर, भाजी, सुई साग र पालुंगो छ ।
यति मात्रै होईन, उनको बारीमा अहिले विभिन्न जातका बेर्ना समेत विक्रीका लागि राखिएका छन् । ती वेर्नाको मूल्य भने फरक–फरक छ । कसैको बीस रुपैंया प्रतिगोटा मूल्य छ भने कसैको तीस रुपैंया पर्ने गरेको उनको भनाई छ ।
‘हामी गोठेमल प्रयोग गरेर अर्गानिक उत्पादन गर्छौं । बजारको कुनै समस्या छैन,’ गोविन्दले भने, ‘धेरै त बारीबाटै बिक्री हुन्छ । तरकारी टिप्न ग्राहकलाई नै पठाउँछौं, आफैं छानेर टिप्न पाउनुहुन्छ । व्यावसायिक रूपमा खेती गरेपछि आम्दानी भएन भन्नुपरेको छैन । मेरो सामाजिक सम्बन्धका आधारमा पनि व्यवसायमा लाभ भएको छ ।’
उनका अनुसार तरकारी खेतीबाट मासिक ५० हजार रूपैयाँ हाराहारी आम्दानी हुन्छ । हाल जमिनको वार्षिक भाडा ८० हजार रूपैयाँ छ ।
उनले सरकारी निकायले काम गर्नेलाई प्रोत्साहन गर्न नखोज्ने गुनासो गरे । ‘मैले खेती सुरु गरेको १४ वर्षमा एकपटक सरकारी अनुदान पाँए ।’ उनि भन्छन, ‘खेती विस्तार गर्ने क्रममा बेमौसमी खेतीका लागि श्री चेतना महिला कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड मार्फत १९ वटा टनेल बनाउँदा कृषि विकास निर्देशनालयले आर्थिक वर्ष २०७९÷०८० मा उक्त सहकारीलाई ५० प्रतिशत अनुदान दिएको थियो । अहिले १२ वटा टनेल (सानो टनेल) सहितमा बेमौसमी तरकारी रोपेको छु ।’
त्यसमध्ये सात ओटा टनेलको अनुदान उनले पाएका थिए । सहकारीमा आवद्ध भएका अन्य किसानलाई समेत निर्देशनालयले अनुदान दिएको थियो । उक्त अनुदान रकमबाट हलो देखि अन्य कृषि सामाग्री, वीउ विजनसमेत वितरण गरिएको उनको भनाई छ ।
उनले कृषि क्षेत्रको विकास नभएसम्म देशको अर्थतन्त्र उकालो नलाग्ने बताए । ‘कुल गार्हस्थ उत्पादन बढाउन कृषि क्षेत्रको विकास अनिवार्य छ । भारतबाट दाल, चामल, अन्य कृषिजन्य बस्तु आयोत गर्ने तर पैसा भारतलगायतका देशमा पठाउँदा त्यसले देशलाई खासै फाईदा गर्दैन । बरु उल्टै आयातमा भर पर्नुपर्ने हुन्छ ।’ उनि भन्छन, ‘त्यसका लागि अब राज्यले कृषि कर्ममा लागेकालाई प्रोत्साहन गर्न आवश्यक छ । कृषि कर्म गर्नेलाई अनुदान भन्दा पनि सामाग्रीमा सहयोग गर्नुपर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’
उनले कृषि कर्मगर्ने किसानका लागि मल, सिचाई, टनेल, अन्य आवश्यक कृषि औजारहरु उपलब्ध गराउनुपर्ने बताए ।
उनले अहिले १० कट्टा जमिनमा तरकारी खेति गर्दै आइरहेका छन् । तर उनलाई भने सिचाईको अभाव छ । ‘धारामा बढीमा दुई घण्टा पानी आउँछ, त्यो पानीले कसरी सिचाई गर्नु ?’ उनी गुनासो गर्छन, ‘कम्तिमा एक डिप वोरिङ्ग खन्न सकेको भए थप उत्पादन लिन सकिन्थ्यो ।’
डिप वोरिङ्ग खन्न कम्तिमा पनि पन्ध्र लाख लाग्ने तर आफूहरुको व्यवसायले त्यति रकम खर्च गर्न नसक्ने उनको गुनासो छ ।
यसपटक उक्त सहकारीलाई डिप वोरिङ्ग खन्न जम्मा आठ लाख रुपैंया विनियोजित गरेको छ प्रदेश सरकार अन्र्तगत कृषि निर्देशनालयले ।
तर यो बजेटले उक्त कार्य सम्पन्न गर्न सकिने अवस्था नभएको उनको गुनासो छ ।
उनले व्यवसायिक खेति गर्नका लागि विभिन्न तीन ओटा सहकारीबाट साढे पाँच लाख ऋण लिएका छन् ।
उनले हालसम्म मल, वीउ गर्दा आठ लाख भन्दा बढी फार्ममा लगानी गरिसकेका छन् ।
यता, कृषि निर्देशनालय खारेज भएको भएपनि हाल कार्यालय प्रमूख रहेका चित्र रोकायाले कृषि क्षेत्रको विकासका लागि कार्यालय निरन्तर लागि परेको बताए ।
‘उहाँहरुलाई हामीले विगतमा सानो सहयोग गरेका थियौं, यो वर्षपनि आठ लाख रुपैंया उक्त सहकारीलाई दिइएको छ ।’ उनले भने, ‘यो वर्ष पर्याप्त बजेट नभएका कारण हामीले धेरै सहयोग गर्न सकेनौं । आगामी समयमा कहि कतै स्रोत जुट्यो भने हामी सहयोग गर्न तत्पर छौं ।’
पहिलोप्रेस
६ फाल्गुन २०८०, आईतवार ०९:३८