Loading... आजः ३ पुष २०८१, बुधबार

मन्त्रालयलाई पार्टीका सम्पर्क कार्यालय बन्न नदिने मुख्यमन्त्री कंडेलको प्रतिबद्धता

कर्णाली प्रदेशसभामा उनको पहिलो सम्वोधनका मुख्य बुँदा
चौथो मुख्यमन्त्रीका रुपमा पहिलो पटक कर्णाली प्रदेश सभामा मन्तब्य राख्दै नेता कंडेल ।

शेरबहादुर थापा/सुर्खेत ।
कर्णाली प्रदेश सभाको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशका नेता यामलाल कंडेलले विहीबार कर्णाली प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीको रुपमा सम्वोधन गरेका छन् ।

कर्णाली प्रदेश सभामा २६ मिनेट १३ सेकेण्ड मन्तव्य राखेका मुख्यमन्त्री कंडेलले  प्रदेश सभामा विताएको ६ वर्षे अनुभवका आधारमा उनले विभिन्न प्रतिवद्धता जनाउँदै विगतमा सरकारको नेतृत्व गरेकाहरु भन्दा पृथक ढंगबाट अघि बढने बताएका छन् ।

साविकको भेरी अञ्चलबाट वितेको ६ वर्षमा कोही पनि मुख्यमन्त्री बन्न नसकेको अवस्थामा उनि यसपटक मुख्यमन्त्री बन्दै गर्दा उनिबाट धेरै नागरिकले थुप्रै आशा र अपेक्षा राखिरहेका छन् । चुनौतीको चाङमा गह्रौं भारी बोकेर उनले कर्णाली प्रदेशको नेतृत्व सम्हाल्ने अवसर पनि पाएका छन् । यसअघि साविक कर्णालीबाट यसअघि दुई जना मुख्यमन्त्री बनेका छन्, भने राप्तीबाट एक जना मुख्यमन्त्री बनिसकेका छन् ।

मुख्यमन्त्रीको रुपमा पहिलोपटक सम्वोधन गरेका मुख्यमन्त्री कंडेलको मन्तब्यले प्रदेश सभा सदस्यहरु मात्रै होईन, आम नागरिकलाईसमेत उत्साहित तुल्याएको छ । यहाँ विहीबार मुख्यमन्त्री कंडेलले सम्वोधन गरेका केहि विषयमा छोटो समिक्षा गरिएको छ ।
मन्त्रालयलाई पार्टीका सम्पर्क कार्यालय बन्न नदिईने
विगतमा हरेक मन्त्रालयमा पार्टी कार्यकर्ताहरुको लाईन लाग्ने गरेको थियो । योजना माग गर्ने पार्टी कार्यकर्ताको लाईनले मन्त्रालयका कर्मचारीहरुलाई समेत भेटघाट गर्ने, मन्त्रीलाई नयाँ रणनीति बनाउने समय नै अभाव हुने गरेको थियो ।

उक्त समस्यालाई नजिकबाट नियालिरहेका मुख्यमन्त्री कंडेलले मन्त्रालयलाई मन्त्रालयकै रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । ‘मन्त्रालयलाई पार्टीका सम्पर्क कार्यालय बनाउन दिईने छैन । मन्त्रालयलाई मन्त्रालयकै रुपमा बनाईनेछ, जनताका कार्यालय बनाईने छ ।’ उनले भनेका छन, ‘मन्त्रालयलाई विगतमा पार्टी कार्यालय बनाउने प्रचलन थियो । मन्त्रीले म हुँदा सम्म पार्टी कार्यकर्ता भेटन पार्टी कार्यालयमै जाने व्यवस्था गरिनेछ, मन्त्रालयलाई कार्यकर्ता भेटघाट गर्ने थलो बनाइने छैन ।’

सांसद र जनताको अपेक्षा अनुसार अघि बढछु
मुख्यमन्त्री कंडेलले विगतको जस्तो सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेटबारेमा प्रदेश सभामा नै प्रतिप्रश्न उठने गरेको बताउँदै आफू नेतृत्वमा रहेसम्म आफ्नो सरकारले प्रतिप्रश्न उठने गरि काम नगर्ने बताएका छन् । ‘हिजो प्रतिपक्षमा हूँदा सरकारलाई दिएको सल्लाह सुझाव जुन दिएको थिएँ, आज म गर्ने ठाउँमा पुगेको छु,’ उनले भनेका छन्,‘म कर्णालीबासीलाई के प्रतिबद्धता जनाउन चाहन्छु भने जनताको अपेक्षा जे गरेका छन्, तपाईँहरुले शुभकामना जे दिनु भएको छ, त्यसमा प्रतिप्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाउँदछु ।’

साथै उनले राजनीतिक दलहरु, सरोकारवाला लगायत सबैलाई राखेर सल्लाह गरी कर्णालीको विकास र समृद्धिको क्षेत्रमा आफ्नो केही सोच (योजना) बनाई अघि बढ्ने पनि बताए । उनले अगाडि भने, ‘पदभार ग्रहण गर्ने बेला फ्याट्ट ठुलो निर्णय गर्ने तर, नगर्ने बानीलाई सुधार गर्नेतिर ध्यान दिने सोच मेरो छ ।’

जस्तो नीति, उस्तै बजेट
चालु आर्थिक वर्षमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा बजेट एकातिर, नीति तथा कार्यक्रम एकातिर भएको भन्दै प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गरेको थियो । सदन अवरुद्ध गर्ने तिनै नेता कंडेंल हाल सरकारको नेतृत्वगर्न पुगेका छन् ।

‘मलाई राम्रोसँग थाह छ, अविछिन्न उत्तराधिकारीका रुपमा म छु,’उनी भन्छन्, ‘हिजोको राम्रा कुरालाई अगाडि बढाइने छ भने केही कमजोरी भएका छन् भने सल्लाह सुझाव अनुसार रुपान्तरण गरेर अघि बढ्ने छु ।’ उनले आगामी आर्थिक वर्षको बजेट जस्तो नीति हुन्छ, उस्तै ल्याईने बताएका छन् ।

विगतमा हरेक सरकारले ल्याएका बजेटमाथि निरन्तर असहमति राख्दै आएका मुख्यमन्त्री कंडेलले यसपटक कस्तो बजेट ल्याउँछन, त्यो भने हेर्न बाँकी छ ।

बजेट कार्यान्वयनमा सुधार ल्याउने
मुख्यमन्त्री कंडेलले कर्णालीमा आवश्यकता अनुसारको बजेट नआएपनि आएको बजेट फालाफाल हुने अवस्था अन्त्य गर्ने बताए । बजेट जति आएको छ, त्यसलाई सहि रुपमा सदुपयोग गर्ने र आवश्यकता तथा औचित्यका आधारमा बजेट लगानी गर्दै समृद्ध कर्णाली निर्माणमा लाग्ने उनको प्रतिबद्धता थियो ।

मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयको सन्दर्भमा सुधार ल्याइछाड्ने प्रतिबद्धता पनि जनाए । अगाडि उनी भन्छन्, ‘हिजोदेखि हामी सत्ता र प्रतिपक्ष दुबैले उठाएको विषय भनेको बजेट सदुपयोग गर्न नसकिएको कुरा हो, बजेट कार्यान्वयनको अवस्थालाई सच्याउने मेरो पहिलो प्राथमिकता हुने छ ।’

साथै कतिपय नीतिहरुमा पुर्नविचार गर्नुपर्ने अवस्था रहेको र त्यसलाई सुधार गरेर लिनुपर्ने पनि उनले बताए । छलफल गरेर परिमार्जित गरेर जानुपर्ने पनि कतिपय कुराहरु छन्, त्यसो गरेर केही सुधार गर्न सकिन्छ भन्ने आफुलाई लागेको पनि उनले बताए ।
कर्णालीमा योजना छनोटको विषयमा निकै विवाद र बेथिती छ । योजना छनोट, बजेट वितरण गर्ने प्रक्रियामा निर्ममतापुर्वक नयाँ तरिकाले अघि जाने प्रतिबद्धता पनि कँडेलले गरे । तर, त्यसमा सांसदहरुले सहयोग गर्नुपर्ने उनले बताए ।

‘म सँधैका लागि होइन् पाउँदासम्मको जिम्मेवारी हो, यसलाई खेर नजानेगरी काम गर्ने छु,’कँडेलले भने, ‘कर्णालीको समृद्धि र विकासका लागि सबैले सहयोग गर्नुपर्ने र विशेषगरी कर्मचारीलाई कर्णालीको समृद्धिमा गहिरो तरिकाले लाग्नुपर्नेमा मेरो जोड छ । कर्मचारी साथिहरुले नयाँ तरिका, नयाँ सोचका साथ काम गर्नुपर्छ र त्यो वातावरण तयार गर्न सकियो भने केही नयाँ काम गर्न सकिन्छ भन्ने लागेको छ ।’

अहिले कार्यान्वयनमा नगएका योजनाका सन्दर्भमा सुधार गरेर जाने बताए । ‘यता कार्यान्वयनमा पनि नजाने, उता बजेट पनि अभाव हुने योजना छन्, भने त्यस्तामा केही सुधार गर्नुपर्ने छ,’उनले भने ।

सरकार विस्तार तत्काल हुन्छ
मुख्यमन्त्री कंडेलले सरकार विस्तार तत्काल हुने सदनमा जानकारी गराए । हाल मुख्यमन्त्री मात्रै रहेको अवस्थातर्फ इंगित गर्दै उनले भने, ‘यो अवस्था धेरै लामो समयसम्म रहने छैन ।’

सरकार गठन ढिलाई हुनुमा समस्या नभई कतिपय आआफ्नो परामर्शका निमित्त आफु एक्लैले मात्रै शपथ लिएको जानकारी गराए ।
तीन दलवीच छलफल भइरहेको बताउँदै सरकार विस्तारबारे उनले भने, ‘यो अवस्था छोटो समयमा अन्त्य हुन्छ ।’
रकमान्तर गर्न नपर्ने बजेट ल्याईने

विगतमा हरेक सरकारले बजेट ल्याउने, सदनबाट पारित गराउने तर अन्तिममा ठूलो रकम रकमान्तर गरि खर्च गर्ने प्रवृत्ति हावी थियो । तर मुख्यमन्त्री कंडेलले भने आफू नेतृत्वको सरकारले आगामी आउने बजेट जस्तो सदनबाट पारीत हुन्छ, त्यस्तै कार्यान्वयन गर्ने बताएका छन् । अर्थात उनले रकमान्तर गर्ने नपर्ने खालको बजेट ल्याउने योजना उनको छ ।

कँडेलले अब नीति तथा कार्यक्रम र बजेटमा सम्पुर्ण ध्यान केन्द्रित हुने बताए । साथै विगतको भन्दा नयाँ र सुधार गरेर बजेट ल्याउने तरिकाका आधारमा आफु अघि बढ्ने उनको प्रतिबद्धता छ । रकमान्तर हुने अवस्था नआउनेगरी काम गरिने प्रतिबद्धता उनले जनाए ।
बजेट ल्याउने, ल्याएको बजेट सुरुमा नचल्ने पछि रकमान्तर गर्ने प्रचलन अन्त्य गर्ने उनको प्रतिबद्धता छ ।

 


सम्बन्धित समाचार