बजेट नसच्याए सदन अवरुद्ध गर्ने काँग्रेस सांसदको धम्की, काँग्रेसलाई सत्तारुढ सांसदकै साथ
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२का लागि ल्याएको बजेट नसच्याएको खण्डमा सदन अवरुद्ध गर्ने धम्की प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसले दिएको छ ।
सरकारले ल्याएको बजेटमाथि प्रदेश सभामा भइरहेको छलफलको पहिलो दिन आज सदनमा सरकारमा सहभागि मन्त्री एकातिर र वाँकी सांसदहरु अर्कैतिर भएको जस्तो भान भइरहेको थियो ।
आज सदनमा बोल्ने सत्तारुढ दलकै सांसदले समेत बजेटमा विचौलिया हावी भएको, बजेटलाई समानरुपमा वितरण नगरी सुर्खेत केन्द्रीत गरेको भन्दै चर्को आलोचनासमेत गरेका थिए ।
आजको वैठकमा नेकपा माओवादीबाट मंगल बहादुर शाही, भीम प्रकाश शर्मा, उर्मिला विश्वकर्माले बजेटको सामान्य छलफलमा भाग लिएका थिए । उनिहरुले सरकारले मनलाग्दी गरेको भन्दै बजेट निर्माणकोअ आधार के हो भन्दै सरकारसँग जवाफ मागेका छन् ।
सांसद मंगल शाहीले बजेटका विरुद्ध मतदान गर्ने चेतावनी दिए । उनले जुम्ला, मुगु र कालिकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विनियोजन गरिएको बजेट र वीरेन्द्रनगरमा विनियोजन गरिएको शशर्त बजेटको समिक्षा गरे ।
तीन जिल्लामा २० करोड ६५ लाख बजेट छ, वीरेन्द्रनगर नगरपालिकामा २४ करोड ५६ लाख, तीन जिल्लाको भन्दा तीन करोड ८९ लाख बढी हो, यो कसरी सन्तुलन भयो ? उनले प्रश्न गरे ।
यो बजेटमा मेरो विरोध भन्दै बजेटमा सुधार भएन भने आफू बजेटको विरुद्धमा जाने उनले बताए ।
मान्छेको नाममै बजेट आएका योजनामा विचौलिया पुष्टि भएको उनको भनाई थियो ।
‘पन्ध्र लाखका योजना भनेका टुक्रे योजना भनियो, अहिले एक पालिकामा ४० ओटा योजना छन, हिजो विरोध गर्ने, आजआफूले त्यहि गर्ने ? १५ लाखको योजनाले कति कालोपत्रे हुन्छ ? कति स्तरोन्नती हुन्छ ? १६० योजना दुई लाख देखि १२ लाख सम्मका योजना किन पालिकामा पठाइयो ?’ उनले थपे, ‘बजेट सुधार गर्न आवश्यक छ ।’
नेपाली काँग्रेसबाट राजीव विक्रम शाह, जानकी सिंह, कृष्णबहादुर विसी, खड्क बहादुर पोखरेल, सुरेश अधिकारी, देवेन्द्र शाही, बलिमाया बुढालगायतले बजेटमाथिको सामान्य छलफलमा आज भाग लिए । उनिहरु सबैले विगतमा प्रमूख प्रतिपक्षी दलमा एमाले हुँदा गरिएको व्यवहार अनुसार बजेट संशोधन हुनुपर्ने नत्र काँग्रेसले सदन अवरुद्ध गर्ने चेतावनी दिए ।
एमालेबाट टेकराज पछाई, तुलसा मल्लले भाग लिए तर उनिहरुलाई सरकारले ल्याएको बजेटबारेमा विरोध नगर्न निर्देशन भएका कारण उनिहरु प्रशंसा गर्न बाध्य भए ।
नेकपा एसबाट कल्याणी खड्काले नीति तथा कार्यक्रम अनुसार बजेट नआएको भन्दै आपत्ति जनाईन । उनले पनि बजेट संशोधन गर्न पर्ने बताईन ।
पहिलोप्रेस
३ असार २०८१, सोमबार १८:४४