Loading... आजः ४ पुष २०८१, बिहीबार

नेपाली काँग्रेस संसदीय दल नेतृत्वविहीन बन्दा सदन अनिर्णयको बन्दी बन्दै

चौध सांसदका चौध थरि कुराले सरकारलाई सहमति गर्न सकस

सुर्खेत ।
नेपाली काँग्रेस संसदीय दलको नेता चयन हुन नसक्दा कर्णाली प्रदेश सभा अनिर्णयको बन्दी हुन थालेको छ ।

सर्वसम्मत रुपमा चयन भएका तत्कालिन प्रदेश सभा सदस्य एवम पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही २०८० साल चैत २२ गते निलम्बित भएसँगै काँग्रेस संसदीय दलको नेता रिक्त हुन पुगेको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि कर्णाली प्रदेश सभामा असार एक गते ३१ अर्ब ४१ करोडको बजेट ल्याएपछि असन्तुष्ट बनेको काँग्रेसले पछिल्लो समयमा सदन अवरुद्ध गर्दै आइरहेको छ ।

यसबीचमा बारम्बार काँग्रेससँग छलफल गरेको सत्ता पक्षले सहमति गर्न सकेको छैन भने काँग्रेस भित्रको चरम गुटबन्दीका कारण प्रमूख सचेतक हिक्मत विष्टले ठोस सहमति गर्न समस्या सिर्जना भएको हो ।

काँग्रेससँग प्रदेश सभामा हाल १४ जना सांसद रहेका छन् । ती मध्ये दुई सांसद केन्द्रीय सदस्य समेत हुन । जानकी सिंह र राजीव विक्रम शाह केन्द्रीय सदस्य हुन ।

यसअघि राजीवले दलको नेतामा दावी गरेतापनि बाध्य भएर शाहीलाई सर्मथन गर्न पुगेका थिए । त्यसपछि नै निरन्तर काँग्रेस भित्र विवाद हुँदै आइरहेको छ ।

‘बजेटबारेमा सहमति गर्न बारम्बार हामीले छलफल गरेका छौं । उहाँहरु चौध जना सांसदको धारणा नै चौध थरि भएका कारण ठोस सहमति गर्न सकिएको छैन ।’ सत्तारुढ एक सांसदले पहिलोप्रेससँग भने, ‘बजेट पारीत गर्न प्रमूख प्रतिपक्षी दलसँग सहमति गर्ने विकल्प खोजि भइरहेको छ ।’

उनका अनुसार बजेटमाथिको संद्धान्तिक छलफल सकिएर आर्थिक मामिला तथा योजना मन्त्रीले जवाफ दिँदै गर्दा काँग्रेसले सदन अवरुद्ध गर्नु भनेको संसदीय मर्यादा विपरितको कार्य भएको आरोप समेत लगाए ।

यता, काँग्रेसले भने बजेट पुर्नलेखन हुनुपर्ने माग राखिरहेको छ ।

‘विगतमा आफू प्रमूख प्रतिपक्षीमा हुँदा बजेटमा १५ लाख मुनिका योजना कार्यान्वयन गर्न नहुने भनेर सहमति गर्ने तर अहिले आफू मुख्यमन्त्री हुँदा आफैंले तत्कालिन समयमा गरेको सहमति उल्लंघन गर्ने कुरा संह्य हुँदैन ।’ काँग्रेस सांसद एवम पूर्व आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह भन्छन, ‘तसर्थ यो बजेट सदनमा पुर्नलेखन आवश्यक छ ।’

उनले बजेट पुर्नलेखन नभएसम्म आफूहरु टसको मस नहुने बताए ।

लामो समयसम्म दलको नेतृत्व किन चयन नगर्नु भएको भन्ने प्रश्नमा नेपाली काँग्रेसका प्रमूख सचेतक हिक्मत विष्टले दलको नेता शाही नै रहेको बताए ।

‘उहाँको बारेमा भन्नुपर्दा प्रदेश सभा भित्रको निलम्बन हो, दल भित्र निलम्बन होईन । दलबाट हटाइएको होईन । अहिले उहाँले समन्वय गरिरहनु भएको छ । निर्देशन दिइरहनुभएको छ । भौतिक उपस्थिति नभएका कारण अहिले मैले नै काँग्रेसको नेतृत्व गर्दै आइरहेको छु ।’
उनले भने, ‘अहिले नै दलको नेता बदल्नुपर्ने आवश्यकता छैन । अदालतले केहि न निर्णय देला । अर्को कुरा उहाँको निलम्बन फूकुवा गर्न अदालत जाने कि भनेरपनि छलफल भइरहेको छ ।’

दलको नेता विहीन हुँदाका कारण तपाईहरु चौध जनाका चौध कुरा हुँदा सरकारलाई सहमति गर्न सकस भएको भन्ने बजार हल्ला छ नि भन्ने प्रश्नमा आफूहरु एकमत रहेको दावी उनको छ ।

‘बाहिर के कुरा भएको छ थाहा भएन । १४ जनाका चौध कुरा भएका छैनन् । हिजो मात्रै दलको वैठक बसेको थियो, एकमतले निर्णय गरेका छौं । बैठकमा अनेकथरि विचार आउने कुरा फरक भयो । हाम्रो दलको निरन्तर वैठक चलिरहेको छ ।’ उनले भने, ‘सरकारसँग छलफल गर्न पूर्व आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहलाई दलको वैठकबाट निर्णय गरेर सरकारसँग वार्ता गर्न पठाएका छौं ।’

सरकारले चाहेको खण्डमा सहमति हुने हो, सरकारको कुरा हो, सरकारको प्रस्तुतिमा निर्भर रहन्छ, सरकार जसरी प्रस्तुत हुन्छ, हामी त्सरी नै प्रस्तुत हुन्छौं, उनको भनाई छ ।

हेर्नुहोस निलम्वनको सूचना


सम्बन्धित समाचार