कर्णालीमा सत्ता समीकरण फेरिँदा काे बन्लान काँग्रेसबाट मन्त्री ?
सुर्खेत । केन्द्रमा नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने निर्णय गरेसँगै कर्णाली वाहेकका अन्य प्रदेश सरकारहरुमा उथलपुथल भइरहेको छ ।
कर्णालीमा भने नेकपा एमाले नेतृत्वकै सरकार भएका कारण यहाँ माओवादीले हालसम्म सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छैन भने एमालेले माओवादी मन्त्रीहरुलाई बर्खास्त पनि गरेको छैन ।
अहिले नेकपा माओवादी संघीय सरकारमा के हुन्छ भनेर कुर्दै बसिरहेको छ भने एमाले पनि पर्ख र हेर को रणनीतिमा छ ।
असार २१ गते बजेट पारीत भएसँगै कर्णालीमा सत्ता गठबन्धन के हुन्छ भन्दा पनि कहिले काँग्रेसको इन्ट्री हुन्छ भन्ने प्रश्न सर्वसाधारणका लागि महत्वपूर्ण छ ।
हाल सरकारमा माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसि, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावत र सामाजिक विकास मन्त्रीका रुपमा विरबहादुर शाही छन् ।
नेपाली काँग्रेस र एमालेबीच हालसम्म कर्णाली सरकारबारे औपचारिक छलफल भएको छैन भने एमाले र माओवादी बीचमा पनि सत्ता छोडने बारेमा केहि पनि छलफल भएको छैन ।
काँग्रेस भने सरकारमा जान तम्तयार भएर बसेको छ । काँग्रेसभित्र मन्त्री को बन्ने भन्नेमा तीव्र बहस मात्रै होईन, केन्द्रीय नेताहरुलाई रिझाउन तीव्र लविंगसमेत सुरु भइसकेको छ ।
काँग्रेसबाट यसपटक मन्त्री बन्नेमा सुरेश अधिकारीको नाम एक नम्बरमा छ । उनि शेखर कोइराला टिममा आवद्ध छन् । कर्णालीका १५ सांसदमध्ये दुई जना मात्रै शेखर टिमका हुन । यसअघि कृष्ण विसि मन्त्री भइसकेका छन् ।
अन्य सम्भावित मन्त्रीमा दैलेखका घनश्याम भण्डारी छन् । उनले साविकको भेरि अञ्चललाई समेटने छन भने साविक कर्णालीबाट दुई जना मन्त्री काँग्रेसले पठाउने सम्भावना छ ।
ती मध्ये कालिकोटबाट प्रतिनिधित्व गरेका हालका प्रमूख सचेतक हिक्मत विष्टको दावी पनि बलियो छ ।
यस्तै, हुम्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने विजया विष्टको पनि सम्भावना छ । उनि निलम्वित संसदीय दल नेता जीवनबहादुर शाहीकै जिल्लाकी भएका कारण उनको मन्त्री बन्ने सम्भावना छ तर एमालेले मन्त्री परिषदमा दलित, महिला कोटाबाट गोमता विकलाई मन्त्री बनाइसकेका कारण यसपटक जुम्लाको भाग्य चम्किन सक्छ ।
जुम्लाबाट गत निर्वाचनमा स्वतन्त्र निर्वाचित भई काँग्रेस प्रवेश गरेका देवेन्द्र शाहीको सम्भावना रहेको काँग्रेस स्रोत बताउँछ । यदि विजया बुढा मन्त्री बन्न नसकेको खण्डमा शाहीकै सम्भावना अत्याधिक रहेको बताईन्छ ।
यद्यपी हाल कायम १४ सांसदमध्ये केहिले भने पुराना मन्त्रीहरुलाई नै पठाउनु पर्ने माग राख्दै आइरहेका छन् । यसअघि माओवादी भित्र पनि यस्तै विवाद हुँदा माओवादीले चारै जना नयाँ अनुहारका मन्त्रीहरु पठाएको थियो ।
यद्यपी काँग्रेस सरकारमा कहिले सहभागि हुन्छ भन्ने कुराको टुंगो भने लागेको छैन । तर राजनीतिक स्रोतका अनुसार सकभर काँग्रेस असार भित्रै यो सरकारमा सहभागि हुन चाहन्छ ।
पहिलोप्रेस
२३ असार २०८१, आईतवार ०७:१०