नानपा दुईका वडाअध्यक्ष थापा र एमाले प्रदेश उपसचिव शर्माको मिलेमतोमा वडा कार्यालय नै सदरमुकाममा
सुर्खेत । दैलेखको नारायण नगरपालिकाको वडा नं. २को वडा कार्यालय नेकपा एमालेका प्रदेश उपसचिव एवम पूर्व सांसद रविन्द्रराज शर्माको घरबाट सञ्चालन भइरहेको पाइएको छ ।
तत्कालिन अवस्थामा एमालेका जिल्ला अध्यक्ष रहेका शर्माले नै थापालाई टिकट दिएका थिए भने त्यसैको ऋण तिर्न उनको घर शर्मासँगको मिलेमतोमा वडा अध्यक्ष रेशम थापाले भाडामा लिएका हुन ।
वडा नं. २ को कोटथाप्लामा वडा कार्यालय रहेको भएपनि कुसाडा घर भएका वडाअध्यक्ष रेशम थापाले नगरपालिकाको आडैमा रहेको उपसचिव थापाको घर विगत लामो समयदेखि भाडामा लिएर कार्यसञ्चालन गर्दै आइरहेका हुन ।
तर, यो घरका भाडा प्रशासनिक खर्चबाट तिर्दै आइएको भएपनि कति भाडा तिरिदैं आइएको छ भन्ने बारेमा वडा कार्यालयले हालसम्म सार्वजनिक गरेको छैन ।
स्थानीय चन्द्र थापाका अनुसार कोटथाप्लामा रहेको वडा कार्यालयको भाडा मासिक दश हजार रहेको छ भने यो घर वडासदस्य सुरज भण्डारीको हो ।
‘सदरमुकामबाट बढीमा दश मिनेटको दुरिमा रहेकोवडा कार्यालयमा वडाअध्यक्ष आउँदैनन् । नागरिकहरुले जन्मदर्ता देखि अन्य वडाबाट सिफारिस लिनुपर्ने अवस्थामा देवकोटा चोकमै पुग्नुपर्ने बाध्यता छ ।’ थापा भन्छन, ‘उहाँहरुले देवकोटा चोकमा रहेको शर्माको घर भाडामा लगेका छन् । त्यसको भाडा कति हो भन्ने कुरा हालसम्म खुलाएका छैनन् । नजिकै सम्पर्क कार्यालय खोल्नुको आवश्यकता र औचित्यता हालसम्मपनि उनिहरुले जनतालाई बुझाउन सकेका छैनन् ।’
उनले दोहोरो भाडा तिरेर सम्पर्क कार्यालय खोल्नु गलत भएको बताए ।
‘यो भनेको गलत क्रियाकलाप हो । वडामा विकास निर्माणका कामहरु लथालिङ्ग छन् । जनतालाई खर्चको भारी बोकाएर आफू सदरमुकाममा बस्नु कत्तिको जायज हो ?’ उनले भने, ‘यस विषयमा नगरपालिकामा ज्ञापनपत्र बुझाएको भएपनि नगरप्रमूख लोमन शर्माले कुनैपनि एक्शन लिएका छैनन् । आफ्नै दलको भएर उनिहरुले यो कार्य रोक्न नचाहेको पुष्टिसमेत भएको छ ।’
यता वडा सचिव सुरेन्द्र थापाले सदरमुकाममा वडा सम्पर्क कार्यालय सञ्चालन भइरहेको स्वीकारे ।
‘त्यहाँ विगत केहि समयदेखि वडा सम्पर्क कार्यालय सञ्चालन भइरहेको छ । जनतालाई सेवा प्रवाह गर्न सहज होस भनेर सञ्चालन गरिएको हो । म भने कोटथाप्लामा नै छु ।’ उनले पहिलोप्रेसलाई भने ।
वडाअध्यक्ष थापाले भने कानूनमा दुई घर भाडामा लिने प्रावधान नभएपनि जनताको काम गर्न सहज होस भनेर यो घर भाडामा लिइएको दावी गरे ।
‘जनतालाई काममा सहजता होस भनेर मैले यहाँ वडा सम्पर्क कार्यालय खोलेको हो ।’ उनले भने, ‘शर्मासँग मिलेमतो पनि होईन, नितान्त जनताको काम गर्न खोलिएको हो ।’
उनले विज्ञप्तीबारेमा आफूलाई जानकारी नभएको बताउँदै एमालेकै आफूसँगका प्रतिस्पर्धीले यो सूचना दिएको हुनसक्ने भन्दै आरोप समेत लगाए ।
‘यो सूचना एमालेका म सँगका प्रतिस्पर्धीले नै दिएका होलान ।’ उनले भने, ‘वडा सम्पर्क कार्यालय म मेरो कार्यकाल रहेसम्म राख्छु ।’
यसबारेमा प्रतिक्रिया लिन खोज्दा नगरप्रमूख शर्माको फोन सम्पर्क हुन सकेन ।
पहिलोप्रेस
३० असार २०८१, आईतवार ०९:०८