Loading... आजः ४ पुष २०८१, बिहीबार

मुख्यमन्त्री कंडेल पत्रकारमाथि निर्मम देखिए, गरेनन पुरस्कार वितरण

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल पत्रकारमाथि निर्मम देखिएका छन् ।

हरेक वर्ष कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तीन जना पत्रकारलाई जनही पचास हजार नगदका दरले पुरस्कार दिदैं आएको भएपनि गृह जिल्ला सुर्खेतकै मुख्यमन्त्री भएको अवस्थामा पत्रकारहरु पुरस्कार पाउनबाट बञ्चित भएका हुन ।

अन्य समयमा पत्रकार राज्यको चौथो अंग भएको, पत्रकारले समाजमा भए गरेका गतिविधि जस्ताको त्यस्तै ल्याउनुपर्ने भन्दै अव्यिक्ति दिने मुख्यमन्त्री कंडेलकै जिम्मामा आन्तरिक मामिला मन्त्रालय छ, तर उनले रीतपूर्वक निवेदन दिएका झण्डै २३ जना पत्रकारमध्ये तीन जना पनि छान्न नसक्दा एक लाख ५० हजार रुपैंया फ्रिज हुन पुगेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०८१ वैशाख २४ गते सार्वजनिक सूचना प्रकाशित गरेर पत्रकारसँग आवेदन माग गरेको थियो ।
स्रोतका अनुसार एमाले निकट प्रेस चौतारीका एक कालिकोटका पत्रकारको आवेदन अस्वीकृत भएको र अन्य चौतारीका कोही पनि पत्रकारको कागजात नपुगेका कारण पुरस्कार वितरणको निर्णय नै नगरि बजेट फ्रिज गराइएको हो ।

अर्थात, तीन जनामध्ये एक जना पनि चौतारीको नपर्ने निश्चित भएसँगै मुख्यमन्त्री कंडेललाई गुमराहमा राखेर उनकै सचिवालयले बहानावाजी गराउँदै बजेट फ्रिज गराएको हो ।

यता, मुख्यमन्त्री कंडेलले भने आफू पत्रकारकै पक्षमा रहेको बताए । पत्रकारलाई पुरस्कृत गर्ने सवालमा आफू रहेको बताउँदै मुख्यमन्त्री कंडेलले प्रदेश स्थापना दिवसको अवसरमा पत्रकारलाई पुरस्कृत गरिने बताए ।

‘पहिलेदेखिको प्रचलन अनुसार नै हामी पत्रकारलाई पुरस्कृत गर्छौं ।’ मुख्यमन्त्री कंडेलले पहिलोप्रेससँग भने, ‘तपाईले आरोप लगाएजस्तो म पत्रकारमाथि निर्मम बन्दिन, बनेको छैन ।’


सम्बन्धित समाचार