Loading... आजः १८ कार्तिक २०८१, आईतवार

लोकतन्त्रमाथि लादिएको राजनीतिक दलको भद्दा मजाक, ‘हारेका’बाट ‘जितेका’हरुले शपथ खाने व्यवस्था !

शेरबहादुर थापा, सुर्खेत । नेपालमा लोकतन्त्र, प्रजातन्त्र वा गणतन्त्र जे भनेपनि राजनीतिक दलहरुले यसलाई मजाकको रुपमा लिने गरेका छन् ।

सत्ता प्राप्तिकालागि अनेकन चालवाजी गर्न त राजनीतिक दलहरुको स्वभाविक प्रयास मान्न सकिएला तर नीति, विधि, आफैले जारी गरेको घोषणापत्र, दलको सिद्धान्तलाई तिलाञ्जली दिएर सत्ता सञ्चालन गर्ने अभ्यास पहिले भारतको विहारको जस्तै देखिन थालेको छ ।

अझ त्यति मात्रै होईन, राजनीतिक दलहरुले नेपालमा चुनाव जितेका भन्दा हारेकालाई बढी प्राथमिकता दिन थालेका छन् ।

कर्णाली प्रदेशको प्रदेश प्रमूखको रुपमा सुदुरपश्चिमका यज्ञराज जोशीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका छन् ।

यहाँ उनि प्रदेश प्रमूख हुनै नपाउने भनेर भन्न खोजिएको होईन तर लोकतन्त्रको दुहाई दिने एमाले र काँग्रेसले प्रदेश चुनावमै पराजित भएका जोशीलाई प्रदेश चुनाव जितेकाहरुको शपथ ग्रहण गराउने अवसर दिलाएका छन् ।

एकै तहको निर्वाचनमा पराजित व्यक्तिले निर्वाचित सांसदलाई शपथग्रहण गराउनु लोकतन्त्रमाथिको खतरा भएको बुझाई कर्णालीका सांसदको छ ।

थाहा पाउनुहोस उनको हारको श्रृंखला

२००६ साल चैत २५ गते बझाङको भातेखोलामा जन्मिएका जोशी ३० को दशकदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए ।

०४८ सालदेखि (आठौँ महाधिवेशनबाट) महासमिति सदस्य भएका उनी ०६३ सालमा कांग्रेसको कञ्चनपुर जिल्ला सभापति भएका थिए । ०४९ सालमा कांग्रेसका तर्फबाट महेन्द्रनगर नगरपालिका (हाल भीमदत्त नगरपालिका)को पहिलो मेयर भएका उनी ०५४ सालमा मेयरका लागि उम्मेदवार बने पनि पराजित भए ।

०६५ सालको उपनिर्वाचनमा पनि उनी पराजित हुन पुगे । उनी संसदीय चुनाव लडेको यो पहिलो पटक थियो ।
०७० मा दोस्रो संविधान सभा चुनावमा पनि जोशी उम्मेदवार हुन चाहेका थिए । तर त्यो बेला टिकट पाएनन् ।
यस्तै ०७४ मा कञ्चनपुर ३ (क) बाट उनी प्रदेश सभा उम्मेदवार बनेका थिए । नेकपा एमालेका प्रकाश रावलसँग उनी पराजित भए ।

हाल पाटीको केन्द्रीय सदस्य समेत रहेका जोशी कर्णालकिो चौथो प्रदेश प्रमूखको रुपमा आएका छन् । कर्णालीमा उनलाई आयातित प्रदेश प्रमूखको रुपमा लिइएको छ भने सांसद र नागरिक पनि प्रदेश चुनाव लडेकाबाटै शपथ खानुपर्ने बाध्यता आइलाग्नु लोकतन्त्रका लागि खतरा भएको टिप्पणी गर्न थालेका छन् ।

‘प्रदेश प्रमूख कर्णालीकै हुनुपर्छ भन्ने कुरा भावुक कुरा हुन जस्तो लाग्छ ।’ माओवादीका केन्द्रीय सदस्य एवम पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट भन्छन, ‘तर त्यो भन्दा खतरनाक कुरा भनेको एउटै तहको निर्वाचनमा हार व्यहोरेका व्यक्तिबाट जितेकाहरुलाई शपथ ग्रहण गराउनु नै हो । यो भनेको लोकतन्त्रमाथिको भद्दा मजाक बाहेक केहि होईन ।’

उनले देशमा दलहरुले गोजीका व्यक्ति ल्याउने प्रचलनले लोकतन्त्र खतरामा पर्ने हो कि भन्ने लाग्न थालेको बताए ।

मध्यपश्चिम विश्वविध्यालयका पूर्व डीन एवम राजनीतिक विश्लेषक डा.पिताम्बर ढकाल राजनीतिक दलहरुले संघीयता, लोकतन्त्रप्रति नै वितृष्णा फैलाउन लागेको टिप्पणी गरे ।

‘चुनाव हारेका, आफ्नो चाकरी र सेवा गर्ने, नजिकका आफन्त भर्ति गर्ने, कार्यकर्ता व्यवस्थापन गर्ने प्रणाली जस्तो संघीयता देखिन थालेको छ ।’ उनले भने, ‘राजनीतिक दलहरुले देखाएको यो व्यवहारले आम नागरिकमा असन्तोष पैदा भइरहेको छ भने संविधानको मूल मर्मको अवमूल्यन हुँदा यो लोकतन्त्र नै खतरामा पर्ने निश्चित छ । राजनीतिक दलहरु बेलैमा नसच्चिए यो पदति नै खारेज हुने अवस्था मैले नजिक आइरहेको देखिरहेको छु ।’

उनले कर्णाली प्रदेशमा प्रदेश प्रमूख बन्न सक्ने व्यक्ति नै नभएको जसरी अन्यत्रबाट आयात गरि ल्याउने प्रचलनले कर्णालीका नागरिकमा वितृष्णा जागिरहेको बताए । यस्तै खालका गतिविधि दलहरुले देखाउँदै गएको खण्डमा त्यसले समग्र देशको राजनीतिक अवस्थामाथि खतरा ल्याउन सक्ने उनको टिप्पणी छ ।

चुनाव हारेकालाई नै चुनाव जितेकाहरुलाई शपथग्रहण गराउने व्यवस्था दलहरुले गर्नु लोकतन्त्रका लागि खतरा भएको उनको भनाई छ ।

प्रदेश प्राप्तिका लागि आन्दोलनमा होमिएका र सभामुखको भूमिका खेलेका सुर्खेतका प्रतिष्ठित व्यापारी चिन्तामणि शर्मा नेपालमा लोकतन्त्र नै नरहेको बताउँछन् ।

‘नेपालमा लोकतन्त्र कहाँ छ ? लोकतन्त्र भनेको त जनतन्त्र हो नि, दलका नेताहरुले त लोकतन्त्र शब्दलाई सत्तामा जाने भर्यांग मात्रै बनाएका हुन ।’ उनले भने, ‘यसरी प्रदेश प्रमूख नियुक्ति गर्ने हो भने यो व्वस्था नै खतरामा पर्ने निीश्चत मात्रै होईन, परिसकेको छ ।’

उनले अहिले नियुक्त भएका प्रदेश प्रमूख उपयुक्त पात्र नभएको बताए । ‘राजनीति गर्ने व्यक्तिहरु मन्त्री हुनुपर्छ, सांसद हुनुपर्छ, प्रदेश प्रमूख भनेको त साझा पद हो । राजनीति भन्द्या टाढा भएको, देश र जनताकालागि योगदान दिएको, स्थापित, दुःख पाएको, सर्वस्वीकार्य व्यक्ति चयन गर्नुपर्यो नि ?’

उनले थपे, यसरी राजनीति गरेकै व्यक्तिलाई गोजीबाट ल्याउने हो भने यो पदको मर्यादा के नै रह्यो र ?


सम्बन्धित समाचार