जलवायु परिवर्तनको समस्या समाधान गर्न आवश्यक छः मन्त्री शाह
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जलवायु परिवर्तनले कर्णालीमासमेत असर गरेको बताउँदै यो समस्याको समाधान गर्न सबै लाग्नुपर्नेमा जोड दिएको छन् ।
कर्णाली प्रदेशका साना किसान र कृषि मध्यस्थकर्ताद्धारा उत्पादित कृषि वस्तु र नविनतम सोच सम्वन्धी आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शाहले कर्णालीमा अपार कृषि सम्भावना रहेको बताउँदै यहाँका सम्भावनालाई उपयोग गर्न नयाँ प्रविधि किसानसम्म पुर्याउन आवश्यक भैसकेको बताए ।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा चुनौती थपेको भन्दै उनले यसलाई समाधान गर्न सबै सरोकारवाला मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री शाहले प्रदर्शनीमा नेपालको पहिलो कृषि उद्यमशीलता लक्षित अनलाइन कोर्स निर्माण भएकोमा खुसी व्यक्त गर्दै उक्त कोर्सको प्रदर्शन अवलोकन गर्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल बहादुर हमालले बजार अनुभव प्राप्त गर्न र बलियो सञ्जाल स्थापना गर्ने मञ्च प्रदान गरेकोमा सन्तुष्टि व्यक्त गरे ।
प्रदर्शनीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको एक–एक स्टलसहित ३९ स्टलहरू रहेका थिए जसमा कर्णालीका कृषि जन्य उत्पादन, वस्तु आदि सहित जडीबुटी, कृषि व्यवसाय योजना र साना किसानले विकास गरेका फार्म अभिलेख प्रदर्शनीमा थिए । प्रदर्शनीमा करिब ३ सय जनाको सहभागिता रहेको थियो ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सात स्थानीय तहको सहकार्यमा युथ इनोभेसन ल्याव र डब्लुएचएच नेपालसँगको साझेदारीमा आयोजित एक दिने प्रदर्शनीमा साना किसान र कृषि मध्यस्थकर्ताले आ–आफ्ना विचार र ज्ञान सहित वस्तुहरु प्रदर्शन गरे ।
कार्यक्रममा नीति–निर्माताहरू, वरिष्ठ सरकारी कर्मचारी, सम्भावित लगानीकर्ता, व्यवसायिक संघसंस्था, उत्पादक, शैक्षिक क्षेत्र र युवा सहित झन्डै ३०० सरोकारवालाको सहभागिता रहेको थियो ।
यस प्रदर्शनी कर्णालीमा स्थानीय कृषि–खाद्य प्रणालीको सुदृढीकरणका लागि व्यवसाय इन्क्युवेसन परियोजना अन्तर्गत आयोजना भएका दुईवटा बुटक्याम्प र अन्य गतिविधिहरूको अन्तिम चरण थियो । यो परियोजना जिआइजेडको ग्रेप कार्यक्रमको एक हिस्सा हो जसले प्रदेशमा हरित बजारलाई बढावा दिन साना किसानलाई व्यवसायीक सिप विकास प्रदान गर्ने लक्ष्य लिएको छ ।
यो परियोजना भगवतीमाई, भैरवी, दुल्लु, नौमुले, बराहताल, भेरीगंगा र वीरेन्द्रनगर पालिकामा कार्यान्वयन भइरहेको छ । ग्रेप कार्यक्रमलाई युरोपियन यूनियन, फिनल्याणको विदेश मामिला मन्त्रालय र जर्मन संघीय आर्थिक सहयोग र विकास मन्त्रालयले सहयोग गरेका छन् ।
प्रदर्शनीमा अधिकांश स्टलहरू ल्यावले यस अघि आयोजना गरेको दुई बुटक्याम्पका सहभागीले राखेका थिए । यो परियोजनाको हिस्साका रूपमा बुटक्याम्प केही महिना अघि सुर्खेतमा आयोजना गरिएको थियो ।
पहिलो बुटक्याम्प ३०० साना किसानलाई लक्षित थियो भने दोस्रो बुटक्याम्पमा ४० कृषि मध्यस्थकर्ता सहभागी थिए । सहभागीहरूलाई अनलाइन आवेदन प्रक्रियाबाट छनौट गरिएको थियो जसमा १६८ महिला र ८७ जना अल्पसंख्यक र दलित समुदायले प्रतिनिधित्व गरेका थिए ।
पहिलोप्रेस
२८ भाद्र २०८१, शुक्रबार १६:४८