जनताको मन जित्ने गरी सेवा प्रवाह गर्न प्रदेश अस्पतालका स्वास्थ्यकर्मीलाई मुख्यमन्त्री कंडेलको निर्देशन
सुर्खेत । कर्णाली प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल प्रदेश अस्पताल कालागांउ हो । प्रदेश अस्पतालले जनताबाट अपेक्षा गरिएअनुसारको सेवा प्रवाह गर्न नसकेको भन्दै बारम्बार नागरिकले आवाज उठाउँदै आइरहेका बेला आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले जनताको मन जित्ने गरी सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
प्रदेश अस्पतालमा जडान गरिएको एमआरआई मेसिन उदघाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीका बिरामीको विश्वास जित्ने गरी एमआरआई सेवा दिन निर्देशन दिएका हुन । अस्पतालको सामान्य गल्तिले विरामी र आम नागरिकमा ठुलो असर पर्नसक्ने भन्दै सेवा दिदाँ ध्यान दिन मुख्यमन्त्री कँडेलको सुझाब छ ।
प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउनुपर्छ भन्ने आवाज उठिरहेका बेला कँडेलले भने, ‘प्रदेश अस्पतालका आगामि संरचना विकास र संचालनबारे यो क्षेत्रका विज्ञसँग छलफल गरी अध्ययनपछिको यथार्थ रिपोर्टका आधारमा प्रदेश सरकार अघि बढ्नेछ । तथ्यले जे बताउँछ सो आभारमा काम गर्न हामी अघि बढ्नेछौं । गर्नैपर्ने काममा सामुहिक निर्णय गर्न सबै तयार हुनुपर्छ । प्रदेश अस्पताल अझै यो भन्दा राम्रो बन्छ र बनाउनु पर्छ, तर कसरी बनाउने भन्ने बारेमा तर्क वितर्क गर्नुभन्दा पनि दिगो उपाय खोजौं ।’
प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार अस्पतालको साथमा रहेको र आवश्यक परे सहयोग गर्ने भन्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिन निर्देशन दिए । उनले भने, ‘एमआरआई सेवाले कर्णालीबाट काठमाडौं सेवा लिन जाने बिरामीको दर रोक्नेछ, बिरामीलाई आर्थिक भार पनि कम हुनेछ । तर मेसिन खरिद भयो मर्मत र संचालनमा ध्यान दिनुहोला । यहाँ खरिद गर्दा हतारीने र मर्मत र संचालनमा ध्यान नदिने चलन छ, यस नहोस् ।’
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक एमआरआई मेसिन जडानपछि सञ्चालनमा ल्याइएको छ । एमआरआई मेसिनबाट गत वर्ष भदौ महिनादेखि बिरामीको उपचार सेवा सुरू गरिएको थियो । तर औपचारिक रूपमा उद्घाटन भने शुक्रबारदेखि गरिएको हो ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
डा. डम्बर खड्काका अनुसार हाल यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको उपचार गरिँदै आएको छ । २५ देखि ३५ जनालाई दैनिक जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) सहितको आवाजविहीन उच्च गुणस्तरको छ । मेसिन सञ्चालनमा आएसँगै आवश्यक परेको खण्डमा २४ सै घण्टा अस्पतालले सेवा दिन सक्नेछ ।
देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ । मेसिन जडानसँगै प्रदेश अस्पताल सुर्खेतमा चिकित्सकले एकै दिनमा रिपोर्ट दिन सक्नेछन् ।
निर्देशक खड्काले भने, ‘अस्पतालले हालसम्म २५ करोड ५९ लाख रकम मौज्दात राख्न सफल भएको छ । केहि आवश्यक उपकरण पनि किनिरहेका छौं । अस्पतालमा कार्यरत कर्मचारीका पाँच जना परिवारको बीमा गर्दा अस्पतालले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने गरेको छ ।’
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको हो । पाँच वर्ष ग्यारेन्टी भएको मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको छ । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको थियो ।
चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाइ उपचार गर्न सजिलो हुन्छ ।
ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ ।
एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ । अत्याधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत पहिचान गर्न सकिन्छ ।
पहिलोप्रेस
२८ भाद्र २०८१, शुक्रबार १७:०३