सडकका खाल्डा नपुरेको भन्दै विद्यार्थी आन्दोलित, मुख्यमन्त्री वा नगरप्रमुखले लिखित सहमति नगरे आन्दोलन जारी रहने
सुर्खेत । वीरेन्द्रनगरको गणेशचोक देखि भैरव स्थान हुँदै ढोडेखाली जोडने सडकमा दुई वर्ष देखि खाल्डाखुल्डी भएको र त्यसले दुर्घटना निम्त्याएको भन्दै विद्यार्थीहरुले आज सडकमा चक्काजाम गरेका छन् ।
जन नमूना माध्यमिक विद्यालय र भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरुले सडकमा खाल्डाखुल्डी भएको र हिंडेर विद्यालय आँउदा सवारी साधनले आफ्नो ड्रेसमा हिलो छ्याप्नुका साथै बारम्बार दुर्घटना घटाएको भन्दै आन्दोलन सुरु गरेका हुन ।
भैरव माध्यमिक विद्यालय अगाडी नै दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले दुई तर्फि सडक अवरुद्ध गरेका हुन ।
‘हामीले बारम्बार नगरप्रमुखलाई यो बाटो सुधार गरिदिन अनुरोध गरेका थियौं । यो बाटोमा हामी दैनिक रुपमा आवतजावत गरिरहन्छौं । प्रदेश अस्पताल जाने बाटो पनि यहि भएका कारण सवारी साधनको चाप यहाँ बढि छ ।’ नाम उल्लेख नगर्ने शर्तमा एक विद्यार्थीले भने, ‘विद्यालयमा ड्रेस लगाएर जानुपर्ने तर बाटेमा कहिले हिलोमा छ्यापिएर जानुपर्ने, कहिले दुर्घटनामा पर्नुपर्ने अवस्था आएको दुई वर्ष भइसकेको छ । सरकारले केहि गर्ला भनेर आश गरेपनि हालसम्म कुनै प्रगति भएन । त्यसैले हामी यो आन्दोलन गर्न बाध्य भएका हौं ।’
अर्का एक विद्यार्थीले मुख्यमन्त्री यामलाल कंडेल वा नगरप्रमुख मोहन माया ढकाल आएर बाटो निर्माणबारे लिखित सहमति गरे मात्रै आफूहरु आन्दोलनबाट पछि हटने बताए ।
‘नगरप्रमूख वा मुख्यमन्त्री एक जना आएर हामीसँग एक हप्ता होस या दुई साता होस, लिखित सहमति गरेर बाटो बनाउने प्रतिबद्धता जनाउनुपर्यो ।’ ती विद्यार्थीले भने, ‘त्यो नभएसम्म यो आन्दोलन जारी रहन्छ ।’
यो सडक मुख्यमन्त्री यामलाल कंडेलकै वडामा पर्छ भने नगरउपप्रमूख निलकण्ठ खनालले यहि वडाबाट प्रतिनिधित्व गर्छन ।
यस विषयमा कुरा गर्न खोज्दा नगरप्रमूख ढकालको फोन उठेन ।
पहिलोप्रेस
३० भाद्र २०८१, आईतवार १३:१६