Loading... आजः २२ आश्विन २०८१, मंगलवार

आठबीस सरकार प्रमूखको ‘रजगज’, असार मसान्तमै आसेपासेलाई डेढ करोड बढीको कोटेशन

कोटेशन पाउने अधिकांश कार्यकर्ता, वडामा कम बजेट विनियोजन


शेरबहादुर थापा/सुर्खेत । दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकामा नगरप्रमूख तर्कबहादुर बडुवाल छन । नेकपा एमालेबाट निर्वाचित मेयरलाई स्थानीय मतदाताले लामो समय कम्युनिष्ट आन्दोलनमा होमिएको र कहिल्यै पनि सत्ता अवसर नपाएको भन्दै भारी मत दिएर विजयी बनाएका थिए ।

उनि नेमकिपा हुँदै गर्दा उनले ठूला ठूला सुशासनका भाषण गर्ने भएकै कारण एमालेबाट टिकट पाएपश्चात उनले त्यो छवि कायमै राख्लान भन्ने धेरैको आशा पछिल्लो समय निराशामा परिणत भएको पाइएको छ ।

नगरपालिकाले हाल संघीय सरकार र प्रदेश सरकारलाई समानिकरण अनुदानबाट आएको ऋण रकमको चुक्ता गर्न परेका कारण वडामा पर्याप्त बजेट पठाउन नसकिएको बताउँदै आएपनि असार मसान्तमा ‘कमिशन’ उठाउने चक्करमा ‘गोजीका आसेपासे’लाई आर्थिक वर्ष २०८०/०८१ मा लाखौंका कोटेशन वितरण गरेको पाइएको हो ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले नौ वटा वडाका लागि भन्दै प्रति वडा जम्मा नौ लाख पचास हजारका दरले बजेट विनियोजन गरिएको छ । वडा नम्बर एक मा भने १३ लाख बजेट विनियोजन भएको छ ।

नगरपालिकाले अहिले कोलेनिकालाई हरेक वर्ष साढे दुई करोड रुपैंया तिर्दै आएको समयमा मनलाग्दी कोटेशन वितरण भएपछि अधिकांश जनप्रतिनिधि नै रुष्ट बनेका छन् ।

यतिसम्म कि नगरप्रमूखले आफ्नै ज्वाई देखि भाई हुँदै एमाले काँग्रेस र नेमकिपाका नेता कार्यकर्ताहरुलाई रिझाउन कोटेशन वितरण गरेको पहिलोप्रेसलाई नगरपालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।

नगरप्रमूख बडुवालका ज्वाईको नाम इन्द्रबहादुर विष्ट हो । उनको घर अछाम हो । उनको कम्पनीको नाम कालिका देवि निर्माण सेवा हो । उनको कम्पनीका लागि सडक सफाई आठबीस नगरपालिका वडा नम्बर ८ र ९ मा चार लाख रुपैंया कोटेशन मार्फत बजेट विनियोजन गरिएको छ । यद्यपी यो कामको जिम्मा भने नगरप्रमूख बडुवालका भाई नाता पर्ने विनोद सिजापतिले लिए । उनि नेमकिपाका कार्यकर्ता हुन ।

उनले यति मात्रै होईन, गाई जात्रा फिल्ड निर्माण (ग्याविन) योजना निर्माण भन्ने शीर्षकमा दश लाखको कोटेशन दिइएको छ, यो कम्पनी सञ्चालक अछामकै नृप कुमार बोगटी हुन ।

यस्तै नृप कै कम्पनीले खोलिबजार देखि ओम्काना हुँदै गैराखेत सम्मको सडक सफाई समेत गरिएको नगरपालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यसका लागि नगरपालिकाले चार लाख सन्ताउन्न हजार आठ सय नब्बे रुपैंया बजेट विनियोजन गरिएको छ । यो काम पनि प्रमूखका भाई नाता पर्ने सिजापतिले नै गराएका हुन ।

नेपाली काँग्रेस निकट तरुण दलका नगर अध्यक्ष पूर्णबहादुर शाहीलेसमेत नगरपालिकाबट रु दश लाख बराबरको कोटेशन पाउन सफल भएका थिए । उनलाई नगरपालिकाले साईगाउँ गुडिमुडा कुना टोल झोलुङ्गेपुल जाने सडक निर्माण गर्न भनेर ९ लाख २५ हजार १४६ रुपैंया बजेट विनियोजन गरिएको छ । उनको एपि निर्माण सेवा आठबीस नपा ३ नामक कम्पनी छ ।

यहि कम्पनीले आठबीस नगरपालिकाको वडा नम्बर तिनको सडक सफाई गर्ने जिम्मा पनि पाएको थियो । अध्यक्ष शाहीले यो योजनाबाट तीन लाख ४९ हजार रुपैंया भुक्तानी लिएको देखिएको छ ।

यस्तै, नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिका सदस्य विनोद कुमार शाहीले आठबीस नगरपालिका वडा नम्बर ६ खड्कागडेनमा दश लाख बराबरको कोटेशन प्राप्त गरेका छन् । यद्यपी उनको कम्पनी जय बोसाकोट कन्स्ट्रक्सन प्रालिले खड्केगडेन पहिरो नियन्त्रण योजनाको ठेक्का लिएको थियो ।

नैनेलदेव प्रावि फिल्ड निर्माण पिपलकोट, तीन लाख बजेट थियो । यो कामको जिम्मा स्थानीय निम बहादुर शाहीले लिएका थिए ।
टोपेन्द्रबहादुर चन्दको आयुष निर्माण सेवा नामक कम्पनीले उक्त कामको जिम्मा पाएको थियो ।

यस्तै सोही कम्पनीले राकम रोल सडकको सफाई गरेको भन्दै नगरपालिकाले दुई लाख भुक्तानी दिएको छ भने उनको कम्पनीले झुज सिमगाउँ सडक मर्मत तथा स्तरोन्नती वापत दश लाख रुपैंया नगरपालिकाबाट भुक्तानी लिएको छ । यद्यपी यो सडकमा भने ठेक्का भई बचेको रकमबाट यो कोटेशन दिइएको थियो ।

यस्तै उनको कम्पनीले सरस्वती मावि सिगौंडीको फिल्ड निर्माण भनेर दुई लाख ९० हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।

विराट निर्माण सेवालाई नगरपालिकाले दश लाख रुपैंयाबराबरको भेल्तडी तटबन्धनमा कोटेशन दिएको छ । दिपेन्द्रबहादुर शाही सञ्चालक रहेको उक्त कम्पनीले सोही योजना अन्र्तगत एक करोडको बजेटमा ५२ लाख मा ठेक्का लिएको थियो ।

यस्तै, कोटेशनमै भरत कुमार सिजापतिले काम गरेका छन् । उनको क्षितिज विल्डर्सले आठबीस नगरपालिका वडा नम्बर दुई सडक सफाई भनेर दुई लाख, बुढाखोला जौला पिपल वाम्नीस्थान हुँदै गाईजात्रा सम्म सडक निर्माण अन्र्तगत दश लाख, सडक सफाई वडा नम्बर ४ र ६ भनेर तीन लाख र भानुभक्त मिावि फिल्ड निर्माण भनेर आठ लाख रुपैंया नगरपालिकाबाट विनियोजित भएको विवरण नगरपालिकाले उपलब्ध गराएको हो ।

यस्तै आदित्य डेभलपर्सले दिपेन्द्र प्रावि फिल्ड नदि तिरको भागमा तटबन्धन योजना सम्पन्न गरेको भन्दै उक्त कम्पनीलाई पालिकाले आठ लाख रुपैंयाको कोटेशन दिएको थियो । सञ्चालक रमेश माझीका अनुसार उनले सात लाख ५३ हजार रुपैंया भुक्तानी पाएका छन् ।

सौगात निर्माण सेवालाई नगरपालिकाले पाँच लाख बराबरको नानटापु तटबन्धन ग्रावेल निर्माण योजना भनेर कोटेशन दिएको थियो । सञ्चालक जनकबहादुर माझीका अनुसार उनले एक लाख तिस हजारको हाराहारीमा आफूले भुक्तानी पाएको पहिलोप्रेसलाई बताए ।

यता, नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले कोटेशन वितरण गर्ने खासगरी दुई तरिकामा हुने गरेको बताए ।

‘कतिपय योजनालाई ठेक्का पट्टा गरिन्छ । सो योजनाबाट बचेको रकमलाई कोटेशन दिईने गरिएको छ ।’ उनले भने, ‘अर्को कुरा कहिलेकाही संघीय वा प्रदेश सरकारबाट बजेट आउने र त्यसलाई कार्यान्वयन गर्नुपर्ने अवस्था हुने भएका कारण पनि हामीले कोटेशनबाट काम गराउनुपर्ने अवस्था आएको हो ।’

प्राविधिकको रिर्पोट र मुल्यांकनको आधारमा आफूहरुले कोटेशनको भुक्तानी दिएको उनको भनाई छ ।

यता, नगरपालिकाका प्रवक्ता वीरबहादुर नेपालीले कोटेशन वितरणका बारेमा कार्यपालिका बैठकमा कुनै छलफल नभएकाले आफूलाई जानकारी नभएको बताए ।

‘हामीलाई थाहा छैन । कोटेशन कहाँ, कसलाई, कसरी वितरण भयो, यसबारेमा म अनविज्ञ छु ।’ उनले भने, ‘कार्यपालिका बैठक बसेको छैन । वैठक नबस्दा हामीलाई जानकारी भएन ।’

तर, नगरपालिका स्रोतले भने नगरप्रमूख बडुवालको ठाडो निर्देशनमा ती कोटेशन वितरण गरिएको जानकारी दिएको छ ।

‘उहाँले आदेश दिएपछि नमान्ने कुरा भएन । उहाँको चाहना बमोजिम नै कोटेशन वितरण भएको हो ।’ नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारीले भने, ‘नगरपालिकामा उहाँहरुकै रजगज चलिरहेको छ । उहाँहरुले भने अनुसार नगरे सरुवा गर्दिने खतरा वा भूमिका विहीन बनाईदिने खतरा भएकै कारण कर्मचारीहरुले आदेश मान्नुको विकल्प छैन ।’

हेर्नुहाेस कसले कुन काेटेशन पाए ?

 


सम्बन्धित समाचार