Loading... आजः २२ आश्विन २०८१, मंगलवार

कर्णालीका सांसदहरु कानून निर्माण भन्दा बजेटमा मात्रै केन्द्रीत बन्दै

सत्ता फेरबदलले निस्प्रभावि बन्दै कर्णाली प्रदेश सभा


शेरबहादुर थापा/सुर्खेत । कर्णाली प्रदेश सभा केन्द्र तथा प्रदेशमा हुने सत्ता फेरबदलका कारण निस्प्रभावि बन्दै गएको प्रदेश सभाको तथ्यांकले देखाएको छ ।

यतिमात्रै होईन कर्णाली प्रदेश सभाका दुवै कार्यकालहरु कानून निर्माण गर्ने भन्दा पनि बजेटमै बढी केन्द्रीत हुने गरेको पाइएको छ ।

पहिलोप्रेसलाई प्राप्त विवरणअनुसार प्रदेश सभाको अघिल्लो कार्यकालको चौथो अधिवेशनसम्म तीव्र गतिमा चलेको प्रदेश सभा त्यसपछिका वाँकी ६ ओटा अधिवेशनमा निस्प्रभावि देखिएको थियो ।

प्रदेश सभाको पहिलो कार्यकालमा दश ओटा अधिवेशन सम्पन्न भएका थिए । जसमा पहिलो अधिवेशन २०७४ माघ २१ मा सुरु भएकोमा २२ ओटा वैठक बस्दै उक्त अधिवेशन २६ घण्टा २९ मिनेट ३२ सेकेण्ड सञ्चालन भएको थियो ।

यस्तै दोश्रो अधिवेशन २०७५ जेठ ११ गते सुरु भएको थियो । उक्त अधिवेशनमा ४१ ओटा वैठक बस्दा सदनले ४९ घण्टा १६ मिनेट ५३ सेकेण्ड खर्चेको थियो । यो बजेट अधिवेशन थियो ।

तेस्रो अधिवेशन २०७५ सालको फागुन १५ मा सुरु भएको थियो भने जम्मा १३ वैठक बसेर प्रदेश सभाले १६ घण्टा ३९ मिनेट ३० सेकेण्ड खर्चेको थियो ।

चौथो अधिवेशन २०७६ जेठ १० गते सुरु भएको थियो भने यो अधिवेशनमा ३३ ओटा वैठक सम्पन्न भएको थियो । यो अधिवेशनमा सदनले ५४ घण्टा पाँच मिनेट १३ सेकेण्ड खर्चेको थियो । यो बजेट अधिवेशन थियो ।

यस्तै, पाँचौं अधिवेशन २०७६ माघ २४ गते सुरु भएको थियो भने कुल ७ ओटा वैठक मात्रै बसेको यो अधिवेशनमा जम्मा १० घण्टा३५ मिनेट ३२ सेकेण्ड समय प्रदेश सभाले खर्चेको थियो ।

बजेट अधिवेशनको रुपमा छैठौं अधिवेशन २०७७ जेठ ११ मा सुरु हुँदा २९ ओटा वैठक बसेपनि सदनले ४८ घण्टा १० मिनेट ४२ सेकेण्ड खर्च गरेको थियो ।

सातौं अधिवेशन २०७८ वैशाख ११ गते सुरु भएको थियो भने यो अधिवेशनमा कुल चार ओटा मात्रै वैठक सम्पन्न भएका थिए । यो अधिवेशनमा सदनले ६ घण्टा १६ मिनेट १५ सेकेण्ड समय खर्च गरेको थियो ।

२०७८ जेठ २४ गते आठौं अधिवेशन सुरु भयो । यो अधिवेशनमा १८ ओटा वैठक बस्दा १५ घण्टा ३१ मिनेट ५ सेकेण्ड मात्रै समय खर्चियो । यो बजेट अधिवेशन थियो ।

तत्कालिन मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीले सदनमा २०७८ मंसिर १४ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव प्रदेश सभामा लिए । जम्मा दुई ओटा वैठक बसेको यो अधिवेशनमा एक घण्टा १३ मिनेट ५४ सेकेण्ड खर्च भएको थियो ।

नवौं अधिवेशन २०७८ पुस २८ गते सुरु भएको थियो । यो अधिवेशनमा १९ ओटा वैठक बस्दा सदनले २३ घण्टा दुई मिनेट २५ सेकेण्ड खर्च ग¥यो भने अन्तिम बजेट अधिवेशनको रुपमा दशों अधिवेशन २०७९ साल जेठ १० गते सुरु भएको थियो । यो अधिवेशनमा २९ ओटा वैठक बसेको थियो भने सदनले ३३ घण्टा ३१ मिनेट ५७ सेकेण्ड खर्च गरेको थियो ।

कर्णाली प्रदेश सभाको दोश्रो कार्यकालको पहिलो अधिवेशनमा १५ ओटा मात्रै वैठक बसेका छन् । २०७९ साल पुस १८ गते सुरु भएको यो अधिवेशनमा २० घण्टा सात मिनेट नौ सेकेण्ड समय खर्च भएको छ ।

यस्तै, बजेट अधिवेशनको रुपमा दोश्रो अधिवेशन २०८० जेठ १० मा सुरु भएको थियो । यो अधिवेशनमा ३९ ओटा वैठक बसे भने सदनले ४४ घण्टा १६ मिनेट ४२ सेकेण्ड खर्च गरेको छ । सोही वर्षको फागुन ३० गते तेस्रो अधिवेशन सुरु भएको थियो । कुल ११ ओटा मात्रै वैठक बसेर टुंगिएको यो अधिवेशनले १२ घण्टा ५६ मिनेट ५० सेकेण्ड मात्रै खर्च गरेको रेकर्ड प्रदेश सभामा छ ।

२०८१ जेठ ११ गते सुरु भएको चौथो अधिवेशनमा २८ ओटा वैठक बसेका छन् । आज पनि यो अधिवेशनको २९ औं वैठक बस्ने भएको छ ।
यो तथ्यांकले कर्णाली प्रदेश सभा आफ्नो मूल कर्ममा निरन्तर चुक्दै गएको पुष्टि हुन्छ ।


सम्बन्धित समाचार