आगामी मंसिरमा पनि सुर्खेतमा यसकारण हुँदैन दशौं खेलकुद
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा पनि नहुने सम्भावना बढन थालेको छ ।
विगतमा बारम्बार मिति तोक्ने र सार्ने गरिएको नेपालकै सबैभन्दा ठूलो प्रतियोगिताको आगामी मंसिरमा उदघाटन गर्ने भनिएको भएपनि हालसम्म मिति नतोकेका कारण खेलकुद हुने वा नहुनेमा खेलाडीहरु श्संकित बन्न थालेका छन् ।
हालसम्म चारपटक प्रतियोगिताको मिति परिवर्तन भइसकेको छ उक्त प्रतियोगितालाई मंसिरमा ‘जसरी’ पनि आयोजना गर्न प्रधानमन्त्री केपि शर्मा ओलीले खेलकुद मन्त्री र राखेपलाई बारम्बार निर्देशन दिएका भएपनि हालसम्म राखेपले कुनै पनि निर्णय गर्न नसकेको हो ।
प्रधानमन्त्रीले निर्देशन दिँदा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र अन्य जिम्मेवार खेल पदाधिकारीहरू पनि सँगै थिए ।
२०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा कर्णाली प्रदेशलाई १०औँ संस्करण आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरिएको थियो ।
राखेपको ११५ औँ बोर्ड बैठकले १० औँ संस्करण २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्नेगरी मितिसमेत तोकेको थियो ।
तर, अन्तिम समयमा आएर तयारीका लागि समय अपर्याप्त भएको कारण देखाउँदै राखेपको ११८औँ बोर्ड बैठकले प्रतियोगिता २०८१ साल चैत २३ देखि ३० गतेसम्म आयोजना गर्नेगरी मिति परिवर्तन गरेको थियो । तर, दोस्रोपटक तय गरिएको मितिमा पनि १०औँ आयोजना हुन सकेन ।
त्यसपछि राखेपको १२१औँ बोर्ड बैठकले प्रतियोगिता आयोजनाका लागि अर्को मिति तोक्यो । २०८१ फागुन १५ गते बसेको राखेप बोर्ड बैठकले तेस्रो पटक मिति परिवर्तन गरेर १०औँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय ग¥यो ।
फेरि, चैत २९ गते बसेको राखेपको १२२औँ बोर्ड बैठकले जेठमा पनि राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिने निष्कर्ष निकाल्यो । उक्त बोर्ड बैठकले प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने निर्णय त ग¥यो तर, नयाँ मिति भने घोषणा गरेन । त्यसपछि राष्ट्रिय खेलकुदलाई लिएर झनै अन्योल बढेको छ ।
आगामी मंसिरमा सदस्यसचिव घिसिङको कार्यकाल सकिँदैछ । उनि नेकपा माओवादी सरकारमा हुँदा सदस्यसचिव बनेका थिए ।
अहिले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवसहित अधिकांश पद पनि रिक्त छन् ।
गत २०८१ पुस ६ गते सदस्यसचिव विश्वामित्र सञ्ज्यालको पदावधि समाप्त भएको थियो । उपाध्यक्ष प्रमोद हमालको कार्यकाल पनि सञ्ज्यालसँगै सकिएको थियो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पूर्वसदस्यसचिव विश्वामित्र सञ्ज्याल अहिलेकै अवस्थामा मंसिरमा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्नु चुनौतीपूर्ण रहेको बताउँछन् । प्रतियोगिताको तयारीका लागि समय अपर्याप्त रहेको उनको दाबी छ ।
‘प्रधानमन्त्रीज्यूले नै भनेपछि त सम्भव पनि होला । राज्य नै लागेपछि कुनै कुरा असम्भव हुँदैन । त्यसको लागि पनि तत्काल तयारी अगाडि बढाउनु आवश्यक छ । राखेप बोर्डको बैठकसम्म बस्न सकेको छैन । लामो समयदेखि कर्णाली प्रदेश खेलकुद विकास परिषद्मा पदाधिकारी नियुक्त हुन सकेको छैन । सत्तारूढ दलहरूबीच भागबन्डा नै मिल्न सकेको छैन रे,’ उनी भन्छन् ।
सञ्ज्यालका अनुसार, प्रतियोगिताअघि अपनाउनु पर्ने प्रक्रिया पनि निकै लामो छ । ‘प्रतियोगिताको निर्णय भएपछि पनि खरिद प्रक्रियाका लागि कम्तिमा ८० दिन समय चाहिन्छ । असोज र कात्तिकमा चाडपर्व पनि पर्छ । त्यसमाथि सदस्यसचिवको पदावधि पनि सकिँदैछ । मंसिरमा खै कसरी सम्भव होला र ?’ उनी भन्छन् ।
इता, १०औँ राष्ट्रिय खेलकुदका लागि तयार पारिएको रंगशाला पनि हालसम्म सरकारलाई हस्तान्तरण गरिएको छैन । त्यसका लागि पनि कम्तिमा तीन महिना समय लाग्छ । ‘ठेकेदारको नौ करोड रुपैयाँ दिन बाँकी छ । त्यो कसले तिर्ने ? पैसा तिरेपछि पनि करिब तीन महिना समय रंगशाला हस्तान्तरणका लागि लाग्छ । यी सबै कुरालाई ध्यानमा राख्दा मंसिरमा प्रतियोगिता सम्भव देखिँदैन,’ उनी भन्छन् ।
पछिल्लो पटक सचिवालय स्थापना, लोगो र मस्कट सार्वजनिक तथा उपसमितिसमेत गठन भइसकेको अवस्थामा राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरिएको थियो । राखेपको १२२औँ बोर्ड बैठकमा युवा तथा खेलकुदमन्त्री आफैंले जेठमा १०औँ आयोजना हुन नसक्ने प्रस्ताव राखेका थिए ।
अर्थ मन्त्रालयद्वारा कटौती गरिएको बजेटलाई यसको प्रमुख कारणका रूपमा अघि सारिएको थियो । सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा १०औँ राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
तर, पछि आएर अर्थ मन्त्रालयले त्यसमा २५ प्रतिशत रकम कटौती गर्ने भएपछि मन्त्री चौधरीले १०औँ आयोजनाका लागि रकम अभाव हुने बताउँदै आएका थिए । प्रतियोगिता स्थगित गरिनुको प्रमुख कारणका रूपमा त्यसलाई नै अघि सारिएको थियो ।
पहिलोप्रेस
१३ श्रावण २०८२, मंगलवार १८:१२