दैलेखलाई फलफूलमा आत्मनिर्भर बनाउन प्रभावकारी कदम चाल्दैछाैँ : प्रमूख पाण्डे
२०८० जेठ १४ गते कृषि विकास कार्यालय दैलेखमा निमित्त कार्यालय प्रमूख भएर कृषि विकास निर्देशनालयबाट कार्यभार सम्हाल्न सरुवा भई गएका दशरथ पाण्डे बीचमा पाँच महिना जाजरकोट कृषि विकास कार्यालयमा सरुवा भए । त्यसपछि उनी सातौं तहमा उत्तीर्ण भएसँगै प्रदेश सरकारले उनको सरुवा दैलेख कृषि विकास कार्यालयमा नै गरायो । अहिले उनि हालसम्म त्यहिँ कार्यरत छन ।
कृषि विकास कार्यालय दैलेखमा कार्यरत उनि दैलेखका सबै पालिका मात्रै होईन, वडासम्म पनि पुगिसकेका छन् । धार्मिक र पर्यटकीय क्षेत्र, कृषि उव्जाउ क्षेत्रको व्यापक सम्भावना भएको दैलेखमा कृषि क्षेत्रमा प्रदेश सरकारले के गर्दैछ ? दैलेखमा कृषि क्षेत्रमा के गर्दा समृद्धि हासिल होला लगायतका विषयमा उनि सुर्खेत आएको छेको पारेर हामीले उनिसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः
–दैलेख कार्यथलो भएको तीन वर्ष पुगेछ, यद्यपी बीचमा केहि समय जाजरकोट जानुभयो । दैलेखको कृषि क्षेत्रमा सम्भावना के छन ? कस्तो माहौल छ दैलेखमा ?
दैलेख कृषि क्षेत्रमा धेरै सम्भावना बोकेको जिल्ला हो । यहाँ ११ ओटा स्थानीय तह रहेका छन् । दैलेख जिल्ला कृषि उव्जनीको रुपमा आत्मनिर्भर जिल्ला हो भन्दा फरक पर्दैन, यद्यपी यहाँका नागरिकले बाहिरबाट चामल आयात गर्ने तर गाउँमा उव्जनी भएको मकै, कोदो लगायतका अन्नबाली पशुवस्तुलाई दानाको रुपमा दिने गर्दछन् । जसले गर्दा खाद्यान्नमा परनिर्भर छ कि दैलेख भन्ने पर्ने गरेको छ वास्तवमा त्यो सत्य होईन । हाम्रो अध्ययन अनुसार दैलेखमा अहिले पनि पाँच सय मेट्रिक टन खाद्यान्न मौज्दात रहेको छ । भनाईको मतलब हरेक वर्ष पाँच सय मे.ट. भन्दा बढी अन्न दैलेखमा बचत हुने गरेको छ ।
दैलेखमा खाद्यान्न बालीका अलावा फलफूल क्षेत्रमा अपार सम्भावना रहेको छ । स्याउ, ओखर, सुन्तला, कागती देखि आँपसम्म पर्याप्त मात्रामा फलाउन सकिने वातावरण दैलेखमा छ ।
यहि सम्भावनाका कारण पछिल्लो समयमा हामीले ‘वगैंचा एक स्वामित्व अनेक’ कार्यक्रम लागु गर्ने जमर्को गरेका छौँ ।
–दैलेखमा यस आर्थिक वर्षमा कस्ता कार्यक्रम समेटनु भएको छ ?
यस वर्ष व्यावसायिक फलफूल, बगैंचा स्थापना तथा विकास कार्यक्रम एक करोड, स्रोत केन्द्र स्थापना तीन ओटा तीस लाख, व्यावसाियक तरकारी उत्पादन कार्यक्रम २० लाख, रोड–करिडोर साझेदारी कार्यक्रम २० लाख, अर्गानिक कफि प्रर्वद्धन कार्यक्रम २० लाख, सेरेना मौरी स्रोत केन्द्र स्थापना १५ लाख, कृषि औजार, उपकरण वितरण कार्यक्रम ३० लाख, साना सिंचाई (५ देखि १५ लाख), गरीब तथा विपन्न लक्षित वर्ग विशेष कार्यक्रम ३० लाख, बाँझो जग्गामा उत्पादन विशेष कार्यक्रम १२ लाख, बजारीकरण कार्यक्रमलाई सहयोग गर्न संकलन केन्द्र निर्माण जस्ता कार्यक्रमहरु समेटिएका छन् ।
यस्तै, अन्य कार्यक्रमहरुमा सिकाई केन्द्र स्थापना, खाद्यान्न बाली वीउ वितरण, विभिन्न बालीका प्रर्दशनि लगायतका कार्यक्रम रहेका छन् ।
–‘वगैंचा एक स्वामित्व अनेक’ कार्यक्रम भनेको के हो ? यसले दैलेखलाई कस्तो प्रभाव पार्छ ?
दैलेखमा एकै व्यक्तिको नाउँमा वा स्वामित्वमा सयौँ रोपनी जग्गा एकै स्थानमा पाउन समस्या छ । सबै घरपरिवारका जग्गा हरेक स्थानमा छरिएर रहेका छन् । ती सबै जग्गाको स्वामित्व सबैको हुने तर बगैंँचा भने एक बनाउने, जसबाट ती सबै घरले रोजगारी पाउन सकुन र व्यवसायिक बन्न सकुन भन्ने मुख्य उदेश्य यस कार्यक्रमको हो ।
–भनेपछि यो कार्यक्रम कहिले लागु हुन्छ ? कति जग्गा आवश्यक पर्छ यो कार्यक्रम सञ्चालनका लागि ?
यो कार्यक्रम चालु आर्थिक वर्षमा लागु हुन्छ । यसका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट बजेटको अख्तियारी आइसकेको छ । हामी साउन महिना भित्रै सूचना जारी गर्ने, फिल्ड भेरिफिकेसन गर्ने देखिका वाँकी कार्यक्रमहरु दशैँ अगाडी नै सक्ने योजनामा छौँ ।
यो कार्यक्रमका लागि न्यूनतम एक हजार विरुवा लगाउनुपर्ने, ६५ रोपनी जग्गामा फलफूल खेति गर्नुपर्ने हुन्छ । घेरवार, सिंचाई, श्रम, मलखाद, खाल्डा खन्ने औजार उपकरण लगायत सबैमा कार्यालयको सहयोग हुनेछ ।
यो एक बगैँचा एकै स्थानमा स्थापना गर्नुपर्ने व्यवस्था छ भने एक बगैँचा स्थापनाका लागि दश लाख कार्यालयले लगानी गर्ने हो । यसका अलावा पचास प्रतिशत लागत समूह, सहकारी वा नीजि फर्मले व्यहोर्नु पर्नेछ ।
र यो वर्षमा यस्ता बगैंचा दश ओटा निर्माण गरिनेछ । यसका लागि केहि पालिकामा तोकिएको छ भने केहि पालिकामा स्थान तोकिएको छैन । स्थान नतोकिएकाका हकमा भने प्रस्तावको आधारमा कार्यालयले छनौट गर्नेछ ।
यसकालागि एक करोड बजेट आइसकेको छ । जसमा दुई ओटा वगैंचामा जीपिएस समेत जडान गरिनेछ । अन्य कार्यक्रममा पनि यस्तै व्यवसायिक काममा अगाडी बढने लक्ष्य लिएका छौं ।
दैलेख जिल्लामा फलफूलमा विशेष प्राथमिकता दिने, पहिले खुलेका बगैंचालाई सुदृढ गराउँदै लैजाने योजना कार्यालयको छ । यसरी वगैंचा स्थापना गर्न खोजेको खण्डमा तीन वर्ष सम्म विरुवाको अवस्था हेरेर प्रति विरुवा एक सय देखि एक सय पचास रुपैंया प्रोत्साहन स्वरुप वगैंचा व्यवस्थापनका लागि सम्वन्धित समूह, सहकारी वा फर्मलाई कार्यालयले उपलब्ध गराउने छ ।
‘यी कार्यक्रममा कोही व्यक्ति वा दलको चाहनामा सिधै कार्यक्रम लागुु गर्ने भन्ने कुरै हुँदैन, यसमा तपाई क्लिएर भए हुन्छ । यी कार्यक्रमहरुका लागि हामी विभिन्न माध्यमबाट सूचना निकाल्छौँ । ती सूचनाका आधारमा सरोकारवाला निकायले प्रस्ताव ल्याउनुपर्ने हुन्छ । ती प्रस्ताव कार्यालयमा आइसकेपछि हामी स्थलगत अध्ययनमा जान्छौँ, त्यहाँको अवस्था बुझ्छौं । त्यहाँ जुन कार्यक्रमको लागि प्रस्ताव गरिएको हो, त्यो कार्यक्रमका बारेमा उक्त स्थल उपयुक्त छ वा छैन हेर्छौं । त्यसपछि कार्यालयमा आएका प्रस्तावहरुमाथि छलफल गर्छौं ।’
-यी कार्यक्रममा कृषकले कसरी सहभागिता जनाउन सक्छन ? कि यहाँहरुले ‘अनुहार’ हेरेर वा राजनीतिक दलका नेताहरुको चाहना अनुसारका समूह, सहकारी वा फर्मलाई सिधै कार्यक्रम दिनुहुन्छ ?
यो महत्वपूर्ण प्रश्न हो । हामीले कार्यालय मार्फत तोकिएका बाहेक अन्य कार्यक्रमका लागि साउन अन्तिमसम्म सूचना प्रकाशित गर्ने तयारी गरेका छौं भनेर मैले पहिले नै भनिसकेको छु । यी कार्यक्रममा कोही व्यक्ति वा दलको चाहनामा सिधै कार्यक्रम लागुु गर्ने भन्ने कुरै हुँदैन, यसमा तपाई क्लिएर भए हुन्छ । यी कार्यक्रमहरुका लागि हामी विभिन्न माध्यमबाट सूचना निकाल्छौँ । ती सूचनाका आधारमा सरोकारवाला निकायले प्रस्ताव ल्याउनुपर्ने हुन्छ । ती प्रस्ताव कार्यालयमा आइसकेपछि हामी स्थलगत अध्ययनमा जान्छौँ, त्यहाँको अवस्था बुझ्छौं । त्यहाँ जुन कार्यक्रमको लागि प्रस्ताव गरिएको हो, त्यो कार्यक्रमका बारेमा उक्त स्थल उपयुक्त छ वा छैन हेर्छौं । त्यसपछि कार्यालयमा आएका प्रस्तावहरुमाथि छलफल गर्छौं ।
अर्थात छोटोमा भन्दा यी सबै कार्यक्रमका लागि समूहले कार्यालयमा प्रस्ताव पेश गर्ने, छनौट पश्चात सम्झौता गर्ने, कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रम सञ्चालन पश्चात अनुगमन र मूल्यांकन गरी समूह, सहकारी वा नीजि फर्मकै खातामा रकम कार्यालयले भुक्तानी गर्ने कार्य कार्यालयले गर्छ । यसमा राजनीतिक आग्रह वा पूर्वाग्रह हुँदैन ।
–दैलेखमा पछिल्लो समय सडक सञ्जाल तीव्र रुपमा फैलिएको छ । रोड करिडोर अन्तर्गत अहिले कुन क्षेत्रका नागरिकले लाभ पाउन सक्छन ?
गुराँसे देखि महावु, मध्यपहाडी लोकमार्ग, कर्णाली राजमार्गमा व्यवसायिक तरकारी खेति गर्न चाहेको खण्डमा लाभ पाउन सक्छन ।
तर, यी सूचनाहरु पश्चिमका आठबीस र ठाँटीकाँधका वासिन्दाले पाउन सक्दैनन भन्ने छ नि ?
कृषि विकास कार्यालयबाट सूचना प्रकाशन भइसकेपछि दैलेख जिल्लामा सञ्चालनमा रहेका सम्पूर्ण एफएमबाट सूचना प्रसारण गरिनेछ । सुर्खेत र दैलेखमा रहेका जिल्ला स्तरीय पत्रिकामा सूचना प्रकाशन गरिनेछ र सबै ११ ओटै स्थानीय तहमा रहेका कृषि शाखा र जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालय र कृषि विकास कार्यालयको सूचना पाटी र वेवसाईटमा यो सूचना राखिनेछ । त्यसबाट पनि प्राप्त हुन नसकेको खण्डमा सोझै कृषि विकास कार्यालयको ९८५८०८१५५५ नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।
-कृषि क्षेत्रमा लगानी गर्ने, दुई चार वर्षपछि त्यहाँ सरकारी लगानी नै हराउने अवस्था कर्णाली प्रदेशकै रोग हो । यो रोगबाट कसरी उन्मुक्ति पाउनु हुन्छ ?
यसकालागि कार्यालयले नियमित अनुगमन गर्ने गरेका छौं र आगामी दिनमा गर्छौँ । उदाहरणका लागि आठबीस नगरपालिका वडा नम्बर दुईमा ९५ ओटा टनेल पहिले नै निर्माण भइसकेका थिए । अहिले ती सबै टनेलमा हामीले वीउ उत्पादनमा सहयोग गर्दै आइरहेकाछौं । त्यहाँका किसानहरुले अहिले वीउहरु विक्री गर्दै आइरहेका छन् ।
हो यसरी नै हामीले योजना छनौट भएका स्थानमा नियमित अनुगमन गर्ने, आवश्यक सुझाव सल्लाह दिने र उनिहरुलाई निरन्तर व्यवसायमा लागिरहन हौसला प्रदान गर्ने योजना बनाई कार्यान्वयनको चरणमा छौं ।
यदि आगामी योजनामा लापरवाही भएको खण्डमा त्यहाँका समूहलाई काम गर्न अनुरोध गर्ने, अटेर गरेको खण्डमा त्यहाँ निर्माण गरिएका संरचनालाई अन्यत्र काम गर्न चाहने नागरिकलाई हस्तान्तरण गर्ने योजना हाम्रो रहेको छ ।
-समग्रमा भन्दा दैलेखको कृषि क्षेत्रको अवस्था के छ छोटकरीमा बताई दिनुहोस न ?
दैलेखमा गत वर्ष कृषि क्षेत्रमा वार्षिक रुपमा १७ करोड रुपैंया भन्दा बढीको फलफूल निर्यात भएको छ । १४ करोड रुपैँयाको तरकारी निर्यात भयो भने वीउ उत्पादनबाट मात्रै दुल्लु क्षेत्रमा तीन करोड भित्रिने गरेको छ।
यद्यपी ७ करोड बढीका तरकारी, फलफूल लगायत अन्य कृषिजन्य बालीहरु दैलेख जिल्लामा आयात हुने गरेको छ ।
दैलेख जिल्लाको जम्मा क्षेत्रफल ४३ हजार १२१ हेक्टर रहेकोमा खेति गरिएको क्षेत्रफल ३४ हजार २१५ हेक्टर रहेको छ । यसमध्ये ८ हजार २५७ हेक्टर खेत छ भने २५ हजार ७३२ हेक्टर पाखोबारी रहेको छ ।
दैलेख जिल्ला भरि १३ हजार ८७० हेक्टर जग्गामा मात्रै सिंचाई गर्न सकिने अवस्था रहेको छ, जसमध्ये वर्षभरि ४ हजार २५१ हेक्टरमा सिचाइँ हुने गरेको छ भने मौषमी सिंचाई ७ हजार ३१५ हेक्टरमा हुने गरेको छ ।
–कुन–कुन खाद्यान्न बाली कति क्षेत्रफलमा लगाउने गरिएको छ दैलेखमा ?
दैलेखमा मुख्यगरि धान, मकै, गहुँको नै बढी खेति गर्ने गरिएको छ । मकै १९ हजार १२० हेक्टरमा, गहुँ १३ हजार १७५ हेक्टरमा र धानखेति ७ हजार ९२५ हेक्टरमा गर्ने गरिएको छ ।
आलु खेति १९२४ हेक्टरमा गर्ने गरिएको छ । दलहन १५२७, तेलहन ११३९, ओखर १८७, किवि ३ हेक्टरमा खेति भइरहेको छ ।
यस्तै, हिउँदे फलफूल ३३ हेक्टरमा गरिने गरिएको छ भने वर्षे फलफुल अन्र्तगत सुन्तला १११० हेक्टरमा गर्ने गरिएको छ ।
पहिलोप्रेस
१८ श्रावण २०८२, आईतवार ०८:४३