Loading... आजः ३ कार्तिक २०८२, सोमबार

‘जनता आवास’ अन्तर्गतका भवन प्रयोगविहीन, राज्यको लगानी खेर


सुर्खेत । कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा निर्माण गरिएका जनता आवास अन्र्तगतका घरहरु प्रयोग विहीन बन्न पुगेका छन् । राज्यले लाखौं लगानी गरेर बनाएका घरहरुमा न्यून आयस्रोत भएका नागरिक नबसिदिँदा ती घरहरुमा सरकारले गरेको लगानी खेर गएको हो । हुम्लाका चार वटा स्थानमा यस्ता सरकारी लगानीका घर निर्माण गरिएका भए पनि ती घर प्रयोगविहीन बन्न पुगेका हुन ।

अदानचुली गाउँपालिका–२ को मकैमा जनता आवास कार्यक्रमको आर्थिक सहयोगमा नौ वटा घर निर्माण भए पनि ती सबै घर प्रयोगविहीन रहेको स्थानीय दत्त बुढाले बताए । बजेट पाउने आशामा अपायक पर्ने स्थानमा घर निर्माण गरिएका कारण पनि सेवाग्राहीले प्रयोगमै ल्याउन नचाहेको उनको भनाइ छ । तीनकोठे भवन निर्माणका लागि जनता आवास कार्यक्रमबाट प्रतिघर साढे तीन लाखभन्दा बढी लगानी गरिएको छ ।

यी घर छनोटमा परेका न्यून आयस्रोत भएका गरिब तथा दलित परिवारले आफैँ निर्माण गरेका हुन् । घर निर्माण हुनु गरिबका लागि सकारात्मक कुरा भएको बताउँदै उनले तर अहिले प्रयोगमा किन आउन सकेनन् भन्ने कुराको खोजी हुन आवश्यक रहेको बताए ।

यस्तै खार्पुनाथ गाउँपालिका–५ को याङ्चुमा पनि २७ जना दलित घरधुरीका लागि निर्माण गरिएका भवन प्रयोगमै नआई जीर्ण अवस्थामा पुगेको स्थानीय पारस शाहीले बताए । छ वर्षअगाडि निर्माण गरिएका भवन गाउँपालिका केन्द्र भएकै स्थानमा भए पनि प्रयोगमा आउन सकेका छैनन् । यी घर निर्माणका लागि दुई लाख ७० हजार रुपियाँ जनता आवास कार्यक्रमले सहयोग गरेको थियो ।

यता सिमकोट गाउँपालिका–५ र ६ मा पर्ने गुम्बामा निर्माण गरिएका तीन वटा भवन पनि प्रयोग बिहिन छन् । यी भवन आवश्यकता भन्दा पनि पहुँचका भरमा निर्माण गरिएका कारण प्रयोगमा आउन नसेको स्थानीय सुरेश परियारले बताए ।

जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको सघन सहरी विकास कार्यालय जुम्लाका सबइन्जिनियर विमल रावतले माग आउने भवन निर्माण हुने तर प्रयोगमा नआउने समस्या हुम्लामा देखिएको बताए । यसरी सरकारी बजेट खर्च गरेर निर्माण गरिएका भवनको प्रयोगका लागि नयाँ उपाय लागु गर्न लागिएको जानकारी दिए ।


सम्बन्धित समाचार