घरको छतमा ट्विन अटर जहाज ! आविष्कारको आकाशमा जुम्लाका टक्कबहादुर
सुर्खेत । पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर भाईरल बन्दै गइरहेको छ, त्यो तस्वीरमा घरको छतमा एक नेपाल वायुसेवा निगमको नाईन एन कल साईनको ट्वीनअटर जहाज बसेको देखिन्छ ।
त्यो हेर्दा साँच्चिकै जस्तो देखिएपनि त्यो घरको छतमा सिमेन्टबाट निर्माण गरिएको जहाज हो ।
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर पाँच घर भएका ४२ वर्षीय युवा टक्क बहादुर नेपालीले आफ्नै घरमा उक्त जहाज आफैंले निर्माण गरेका हुन । औपचारिक शिक्षाको रुपमा दुर्गा माविबाट एसएलसी मात्रै उत्तीर्ण गरेका नेपालीको विज्ञान र प्रविधिप्रति अगाध लगाव छ ।
‘साढे दुई महिनामा हामीले सिमेन्टको विमान बनाएका हौं । कहिले विहान, कहिले बेलुका फुर्सद मिलाएर बनाएको हो । म चौध वर्षको हुँदा खेरि देखि नै मेरो विज्ञान र प्रविधिमा रुचि थियो । म सानो हुँदा गाडी बनाउने, प्लेन, हेलिकप्टर बनाउने गर्दथेँ । एकपटक जुम्लामा निकोन एअर दुर्घटना भएको थियो । त्यतिबेला मैले सानो प्लेन बनाएको थिएँ । गिद्धको पखेटा प्रयोग गरेर हेलिकप्टर बनाएँ । छतमा राखेर छोड्दा आफैं उडेर जान्थ्यो । त्यसपछि प्लेन नै बनाउने मेरो कन्सेप्ट थियो ।’ पहिलोप्रेससँगको कुराकानीमा टक्क भन्छन, ‘विद्यालयमा विज्ञान प्रर्दशनी हुन्थे, मैले जहिल्यै भाग लिन्थेँ र प्रथम हुन्थेँ ।’
उनले जहाज मात्रै बनाएका छैनन । यसअघि उनले भोटिङ्ग मेसिन बनाए । प्याराग्लाइडर बनाई उडडाए । ‘२०७४ सालमा प्याराग्लाईडर बनाएर नेपाली झण्डासहित जुम्लामा उडाएँ ।’ उनि भन्छन, ‘मैले उड्ने जहाज नै बनाउँछु भनेर काम सुरु गरेँ । तीस प्रतिशत जति काम मैले सम्पन्न गरेको छु । आजभन्दा चार वर्ष अघि मैले जहाज बनाउने सोच बनाएको थिएँ, त्यो जहाज भित्र खाजा नास्ता खुवाउने, क्याफे जस्तो बनाउने सोच थियो । मैले एक जना साथीलाई जग्गा दिन भनेको थिएँ, उसले हुन्छ भनेपनि जग्गा दिएन । त्यसपछि मैले आफ्नो घर बनाउन थालेँ, घर बनाई सकेपछि मैले आफ्नै घरको छतमा जहाज बनाएको हुँ ।’
उनले हाल तातोपानीमैे मिनि ट्रेलर, थ्रेसरहरु निर्माण गर्ने र विक्री गर्ने कार्य गर्दै आइरहेका छन् ।
कर्णाली इनोभेटिभ टेक्नोलोजी इन्जिनियरीङ्ग स्कोप प्रालि उद्योग स्थापना गरेर त्यहि मार्फत काम गर्दै आइरहेको उनको भनाई छ ।
‘मैले भोटिङ्ग मेसिन परीक्षण गर्न काठमाडौंको निर्वाचन आयोगमा लिएको थिएँ । त्यहाँबाट नास्टमा लगेर गएँ । नास्टले यस्तो मेसिन अन्यत्र बनिसकेको बताउँदै कपिराईट गर्न नमिल्ने भनेर जानकारी दियो । उसले मलाई घरेलुमा जान सुझाव दियो ।’ उनी भन्छन, ‘त्रिपुरेश्वरमा व्यवसायिक सम्र्वद्धन कार्यक्रम थियो । म त्यहाँ डेढ वर्ष बसेको थिएँ । २०६६ सालतिर मैले त्यहाँ सोलार क्याव, खुट्टाले चलाउँदा बत्ती निस्किने यन्त्रहरु निर्माण गरेको थिएँ ।’
उनले प्लेन बनाउन एक लाख भन्दा कम लागेको बताए । एक जना बनाउने साथी छन । उनले ज्याला लिएका छैनन ।
‘पहिले प्याराग्लाईडिङ्ग बनाउँदा तातोपानी गाउँपालिकाले पाँच लाख रुपैंया दिएको थियो । यस्तै एक संस्थाले दुई लाख रुपैंया दिएको थियो भने व्यक्तिगत रुपमा पनि धेरैले सहयोग गर्नु भएको थियो ।’ उनले भने, ‘प्लेन निर्माण गर्दा भने गंगादेवि उपाध्यायले पाँच हजार सहयोग गर्नु भएको छ । उहाँ तातोपानी गाउँपालिकाको पूर्व उपाध्यक्ष हुनुहुन्छ ।’
नेपाल एअरलाईन्सको ट्वीन अटर जहाजको मोडल बनाएका नेपालीले आगामी दिनमा कुनै व्यावसाियक होटलहरुले अर्डर गरेको खण्डमा यस्ता प्लेनहरु बनाउने बताए ।
‘होटल व्यवसाय, क्याफे, रिर्सोटहरु बनाउनु परे जहाज भित्रै बनाउन सकिन्छ । यसले पर्यटकीय आकर्षण त बढाउला नै, व्यापारिक रुपमा पनि नाफा हुने मैले देखेको छु ।’ नेपालीले भने, ‘अहिले मेरो घर चर्चामा आए जसरी व्यावसयिक फर्महरुले पनि यसको फाईदा लेऊन भन्ने मेरो चाहना हो ।’
पहिलोप्रेस
१८ श्रावण २०८२, आईतवार १६:०८