जीवन निर्वाह भत्ता वितरणका लागि कर्णाली सरकारले माग्यो पालिकासँग विवरण
सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएका आन्दोलनमा शहिद भएका, घाईते तथा वेपत्ता भएकाहरुको विवरण आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाउन ७९ ओटै पालिकालाई निर्देशन दिएको छ ।
मन्त्रालयका निमित्त सचिव उत्तम गौतमद्वारा हस्ताक्षरित सूचनामा गत आर्थिक वर्षमा वितरण भएको भत्ताको प्रतिवेदनसमेत मन्त्रालयमा पठाउन निर्देशन दिइएको हो ।
‘अघिल्लो आ.व.२०८१/०८२ मा वितरण गरिएको भत्ताको प्रतिवेदन र यस आ.ब.२०८२/०८३ मा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण प्राप्त नभएमा उक्त भत्ताको रकम अधितयारी पठाउन मन्त्रालय वाध्य हुने छैन ।’ सूचनामा भनिएको छ, ‘सहिद स्मृति भत्ता र जीवन निर्वाह विशेष भत्ताको कार्यजिम्मेवारी तोकिएको शाखा÷कर्मचारीको नाम र सम्पर्क नम्बर सहित पठाउनहुन अनुरोध छ ।’
कर्णाली प्रदेश सरकारले मासिक दुई हजारका दरमा सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएको आन्दोलनका सहिद या बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाईते अपांग भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्दै आइरहेको छ ।
‘उक्त रकम अख्तियारी दिनुपर्ने भएकोले ‘सहिद स्मृति भत्ता वितरण कार्यविधि, २०८१’ घाईते अपांग भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१ मा भएको व्यवस्था वमोजिम सहिद स्मृत्ति भत्ता वितरण र घाईते अपांग भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण कार्य प्रयोजनका लागि कार्यविधिको अनुसूची–१ बमोजिमको यस आ.ब.२०८२/०८३ मा भत्ता प्राप्त गर्ने लाभग्राहीको आवेदन संकलन गरी आवेदन एकिन गरेर अनुसूची–२ बमोजिमको ढाँवामा लाभग्राहीको विवरण र आ.व.२०८१/०८२ मा वितरण गरिएको सहिद स्मृती भत्ता र जीवन निर्वाह भत्ताको प्रतिवेदन यस मन्त्रालयको इमेल moial.shanti@gmail.com मा २०८२ श्रावण मसान्त भित्र विवरण पठाउनु हुन अनुरोध छ ।’ पत्रमा उल्लेख गरिएको छ ।
पहिलोप्रेस
२५ श्रावण २०८२, आईतवार १६:२२