सुर्खेत ट्राफिकद्वारा झण्डै डेढ करोड राजश्व संकलन, गत वर्ष दुर्घटनाबाट ३० जनाको गयो ज्यान

शेरबहादुर थापा/सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा झण्डै डेढ करोड राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमूख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार गत आर्थिक वर्षमा एक करोड ४५ लाख १५ हजार राजश्व संकलन भएको हो ।
यो राजश्व सवारी तथा मालवाहक साधनबाट संकलन गरिएको हो । यो संकलित राजश्वमा मापसे, तीव्र गति र टिसिएसमेतबाट संकलन गरिएको राजश्व रहेको प्रनि सुनारले बताए ।
कार्यालय प्रमूख् सुनारका अनुसार आर्थिक वर्ष २०७९/०८० मा कार्यालयले १९ हजार ६९१ ओटा सवारी साधनमा कारवाही गरेको थियो । ती कारवाहीबाट एक करोड ४७ लाख ६३ हजार पाँच सय रुपैंया राजश्व संकलन गरिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा राजश्व संकलनमा गिरावट आएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार ८४२ ओटा साधन कारवाहीमा पर्दा जम्मा एक करोड १५ लाख ९९ हजार पाँच सय रुपैंया मात्रै संकलन भएको थियो ।
उक्त वर्षको तूलनामा गत आर्थिक वर्षमा भने कारवाही संख्या १३०९ ले बढेर १७ हजार १५१ पुगेको थियो ।
चालु आर्थिक वर्ष २०८२/०८३ को साउन २४ गतेसम्म कार्यालयले एक हजार ७५ ओटा कारवाही गरिसकेको छ भने यसबाट ८ लाख ७२ हजार रुपैंया राजश्व संकलन गरिसकेको छ ।
चालु आर्थिक वर्षको २४ दिनमा संकलित राजश्व मादक पदार्थ सेवन गरेर सवारी साधन हाँकेकाबाट धेरै भएको छ जुन राजश्व रु ८३ हजार रहेको छ । चार जनाले तीव्र गतिमा सवारी हाँकेको भनेर कारवाहीमा परेका छन् ।
यस्तै निरीक्षक सुनारका अनुसार गत आर्थिक वर्षमा ४२३ ओटा सडक दुर्घटना भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ६७३ ओटा दुर्घटना भएका थिए भने त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा ३१९ ओटा मात्रै सडक दुर्घटना भएका थिए ।
तर, दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा भने गत आर्थिक वर्षमा बढोत्तरी भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार गत आर्थिक वर्षमा ३८ जनाको मृत्यू भयो भने ९३६ जना घाईते भए । आर्थिक वर्ष २०८०/०८१ मा २८ जनाको मृत्यू भयो भने ११८४ जना घाईते हुँदा अघिल्लो आर्थिक वर्षमा ३० जनाको मृत्यू र ५६५ जना घाईते भएका थिए ।
चालु आर्थिक वर्षको साउन २४ गतेसम्म ३६ ओटा दुर्घटना भइसकेका छन भने दुई जनाको मृत्यू र ७३ जना घाईते भएका छन् ।
यस्तै, कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रमसमेत गर्दै आइरहेको प्रहरी निरीक्षक सुनारले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९/०८०मा ४९३ ओटा कार्यक्रम आयोजना गरिएको थियो, जसबाट २५ हजार २२३ जनाले लाभ लिएका थिए भने आर्थिक वर्ष २०८०/०८१ मा ११५५ ओटा कार्यक्रम आयोजना गरिएकोमा २२ हजार ९६१ जनाले लाभ लिएका थिए तर गत आर्थिक वर्ष २०८१/०८२ मा भने २५३४ ओटा कार्यक्रम आयोजना गरेको कार्यालयले १ लाख १३ हजार १०२ जनालाई सचेतनामूलक कार्यक्रममा समावेश गराएको हो ।
चालु आर्थिक वर्षको साउन २४ गतेसम्म २०९ ओटा कार्यक्रम गरिसकेको कार्यालयले ९ हजार २५१ जनालाई यस्तो प्रशिक्षण दिइसकेको छ ।
मोटरसाईकलबाट बढी राजश्व संकलन
सुर्खेतमा प्रहरीले दुई पांग्रे सवारी साधन मोटरसकाईकलबाट सबैभन्दा बढी राजश्व संकलन गर्ने गरेको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
गत आर्थिक वर्षमा ६७५० ओटा मोटरसाईकल कारवाहीमा पर्दा कार्यालयले ५४ लाख २६ हजार राजश्व संकलन गरेको छ ।
यस्तै, २८६१ ओटा ट्रक/ट्याकंर कारवाहीमा परेका छन भने यी साधनबाट २७ लाख ६० हजार राजश्व संकलन गरेको हो ।
अटोरिक्साबाट १९ लाख २४ हजार पाँच सय राजश्व संकलन गरेको कार्यालयले २०२५ ओटा रिक्सालाई कारवाही गरेको थियो ।
१६१४ ओटा बस/मिनिबस कारवाहीमा पर्दा १४ लाख ४४ हजार पाँच सय, ३०७२ ओटा जिप, कार भ्यान कारवाहीमा पर्दा २३ लाख ४६ हजार पाँच सय र ८२९ ओटा ट्याक्टर कारवाहीमा पर्दा ६ लाख १३ हजार ५ सय रुपैंया राजश्व संकलन भएको हो ।
यस्तै, काठमाडौं जाने लामो दुरिका सार्वजनिक यातायातमा दुई जना सवारी चालक राख्नुपर्ने व्यवस्था बमोजिम नराखेको पाइएको भन्दै कार्यालयले ३५ ओटा बसलाई कारवाही गरेको छ । ती बसबाट ३५ हजार राजश्व संकलन भएको कार्यालय प्रमूख सुनारले बताए ।
‘हामीले ट्राफिक कम्युनिकेशन याप अनुसार सुर्खेतबाट काठमाडौं जाने सार्वजनिक सवारी साधनमा दुई जना ड्राईभर भए नभएको जाँच छिन्चुमा गर्छौं । त्यहाँ ड्राईभरको तस्वीरसमेत यापमा राख्छौँ ।’ उनले भने, ‘यदि ती ड्राईभर काठमाडौं नागढुङ्गामा नभेटिएको खण्डमा उहाँहरु कारवाहीमा पर्नुहुन्छ । लामो दुरिमा एक जना चालकले मात्रै बस चलाउँदा दुर्घटना हुनसक्ने भएका कारण हामीले यो यापलाई कडाईका साथ सञ्चालन गरिरहेका छौँ ।’
उनले गत आर्थिक वर्षमा १४ ओटा दुर्घटनाग्रस्त क्षेत्रमा बोर्डहरु राखिएको बताए । ‘कुनै सथानहरु यस्ता छन, जहाँ हरेक दुई तीन महिनामा दुर्घटना भइरहन्छन, त्यस्ता १४ ओटा स्थानमा हामीले बोर्ड राखेका छौँ ।’ उनले भने, ‘सुब्बाकुना देखि मंगलगढीसम्म पाँच ओटा स्थानमा रहेका जोखिमयुक्त यूटर्नहरुसमेत बन्द गरेका छौँ ।’
गत आर्थिक वर्षमा ५ ओटा सडक डिभाईडर राखिएको र ५९ ओटा ट्राफिक कोण राखिएको उनको भनाई छ ।
यस्तै, अस्थायी ट्राफिक प्रहरी पोस्ट बबईमा नम्बर प्लेट पहिचान र जानकारीमूलक बोर्डहरु राखिएको प्रहरी निरीक्षक सुनारले बताए ।
पहिलोप्रेस
२६ श्रावण २०८२, सोमबार ०९:१८