कसरी सुखि जीवन जीउनेः मननयोग्य तीन कुरा
-नृप रावल
मानिसको जीवनको प्रत्येक क्षण, जन्मदेखि मृत्यु सम्म, धनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावमा बाँधिएको हुन्छ । जन्मको खुसी होस् वा मृत्युको संस्कार, विवाहको हर्ष होस् वा उपचारको आवश्यकता हरेक चरणमा पैसाको भूमिका अनिवार्य रहन्छ ।
धन केवल लेनदेनको साधन मात्र होइन, जीवनयापनको आधार पनि हो । यसले खानपान, वस्त्र, आवास, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न मद्दत गर्छ । पर्याप्त धन भए व्यक्ति आफ्नो र परिवारको सुख र सुरक्षाको स्तर बढाउन सक्छ, समाजमा सम्मान पाउँछ, र आत्मविश्वासका साथ भविष्यको योजना बनाउन सक्षम हुन्छ ।
तर, धनलाई मात्र जीवनको अन्तिम लक्ष्य ठान्नु पनि उचित हुँदैन । पैसाले सुविधा त दिन सक्छ, तर सन्तोष, प्रेम, ईमान र मानवीय मूल्यहरू बिना त्यसको स्वाद अधुरो रहन्छ । त्यसैले धनलाई साधनको रूपमा प्रयोग गर्दै, आत्मिक र सामाजिक मूल्यहरूलाई पनि समान महत्व दिँदा मात्र जीवन साँच्चिकै सुखी र समृद्ध बन्छ ।
१) धन खर्च गर्दा सोँच विचार गरौं
धन आफैमा पूर्णता होइन । तरग, यसले हाम्रो जीवनका अभाव र आवश्यक्ताहरु परिपूर्ति गर्न सघाउँछ । जब धन हुँदैन, हामी थुप्रै कुराको उपभोगबाट बञ्चित हुन पुग्छौं । सामान्य दैनिकी पुरा गर्न पनि हामीलाई धन चाहिन्छ । धनले सुख दिदैन, तर सुख प्राप्त गर्ने साधनहरु दिन्छ । धनले स्वस्थ्य बनाउँदैन, तर स्वस्थ्य जीवन यापनका लागि आवश्यक्ताहरु पुरा गरिदिन्छ । तर, धन त्यही मात्र हो, जो नितान्त तपाईंको बलबुतोले कमाइ गरिएको होस् । अर्कालाई झुक्याएर, छलेर, लुटेर कमाएको धनले तपाईंलाई कहिले पनि सुख र सन्तुष्ट दिदैन । बरु, त्यसले सधै शंका, भय, त्रास, मोहको दलदलमा फसाइदिन्छ । त्यसैले धन आफ्नो पसिना, बुद्धि–विवेकबाट आर्जन गरेको हुनुपर्छ । यसरी कमाएको धनले मात्र तपाईंको मनलाई शितल तुल्याउँछ । अन्य ढंगले आर्जन गरेको धनले तपाईंको मनलाई पोल्छ ।
जब हामी आफ्नो श्रम, आफ्नो लगाव, आफ्नो मेहनत, आफ्नो विवेक प्रयोग गरेर धन आर्जन गर्छौं, संञ्चय गर्छौं, त्यो धनले हामीलाई शक्ति दिन्छ । अतः यसरी आर्जन गरेको धन त्यही कुरामा खर्च गरौं, जसले सकारात्मक नतिजा दिन्छ । आफ्नो स्वस्थ्यका लागि, शिक्षाका लागि, घर–घडेरीका लागि, सुख–सुविधाका लागि खर्च गर्न सकिन्छ । तर, यसरी खर्च गर्दा सोच विचार गर्नुपर्छ कि, आफुले जुन कुरामा धन खर्च गरिदैछ त्यो कति उपयोगी छ ?
मदिरापान गर्ने, जुवातास खेल्ने जस्ता कुरामा आफ्नो आर्जन वा मेहनतको कमाई खर्चनु हुँदैन । त्यसो गर्नु भनेको हाम्रो वुद्धि भ्रष्ट हुनु हो । जब वुद्धि भ्रष्ट हुन्छ, हामी मान्छेको खोल पहिरिएका राक्षस जस्तो हुन पुग्छौं । वुद्धि भ्रष्ट भएपछि हामी कुकर्ममा लाग्र्छौं, हिंसामा लाग्छौं । जीवन नष्ट हुन्छ । खुसी र सुखहरु टाढा भाग्छन् । दुख, भय, लोभ आदिले सताउन थाल्छ ।
चाणक्यले भनेका छन्, ‘कुबेरले पनि आफ्नो आयभन्दा बढी खर्च गर्न थालेमा कंगाल हुनेछ ।’ अर्थात धन खर्च गर्दा आवश्यक्ताको प्राथमिकतालाई ध्यानमा राखेर खर्च गर्नुपर्छ । कुन अति आवश्यक कुरा हो, कुन नभई नहुने कुरा हुन्, कुन कुरा नभए पनि हुन्छ । यस्ता कुरामा ध्यान दिएर मात्र खर्च गर्नुपर्छ ।
धन आर्जन गरौं । बचत गरौं । संयमित भएर खर्च गरौं ।
पैसाले एउटा एउटा भाषा बोल्दछ त्यो हो
आज तिमीले बचायौ भने
म भोली तिमीलाई बचाउने छु
भलै म तिम्रो साथमा माथि जान्न
तर तिमी जब सम्म तल हुन्छौ
तव म तिमीलाई माथि लिएर जानेछु
त्यसैले मलाई (पैसालाई )आजैबाट सन्चित गर्न सिक ।
२) अल्छीपन त्यागौं
अल्छ्याइ नलिनु घिन रहनु निन्द्रा नधेरै लिनु ।
कोहि देखि नडराउनु रिस कतै कहिले नउठने हुनु । ।
धन्दा झटपट लिनु फुर्ति रहनु जुम्सोपना त्यागिदिनु
विद्यामा धनमा पूरा हुन यो बानी रहदम लिनु । ।
हाम्रो सबैभन्दा ठूलो सत्रु को होला ? कसले हामीलाई प्रगति गर्नमा बाधा पु¥याएको होला ? कसले हाम्रो अनमोल समय वर्वाद गरिरहेको होला ?
छिमेकी, आफन्त, साथीभाई, सहकर्मी कोही पनि यसका दोषी होइनन, हुँदैनन् । दोषी हामी आफैभित्र छ । त्यो हो, अल्छीपन ।
जब हामी केही गर्न खोज्छौं, हामी भित्रको अल्छीपनले रोक्छ । जब हामी कुनै काम गर्न चाहन्छौं, हामी भित्रको अल्छीपनले छेक्छ । जब हामी मनमनै बुनिएको योजना कार्यन्वयन गर्ने सोंच बनाउँछौं, हामी भित्रको अल्छीपनले बाधा पु¥याउँछ । अर्थात आलस्य एवं अल्छीपन नै हाम्रो प्रगतिको वाधक हो ।
सफल व्यक्तिहरुको कथा पढौं, उनीहरुको दैनिक तालिका हेरौं, कतिपनि अल्छी गरेका पाइदैन । उनीहरुमा जाँगर हुन्छ । जाँगरसँगै उर्जा हुन्छ । उर्जासँगै रचनात्मक क्षमता हुन्छ । त्यही कुराले उनीहरुलाई प्रगतिपथमा अगाडि बढाउँछ
संसारमा जति गरिब छन्, त्यसमा धेरैजसो कारण उनीहरु आफै हुन् । हामी गरिब हुन्छौं, कमजोर हुन्छौं भने त्यसमा अरु भन्दा बढी हामी आफै जिम्मेवार छौं । किनभने फुटपाथबाट उठेर पनि कतिपयले विश्वलाई हाँक दिएका छन् । अर्थात पुटपाथमा जन्मनु नै समस्या होइन । एउटा प्रचलित भनाई छ नि, ‘तिमी गरिबको कोखमा जन्मियौं, त्यो तिम्रो गल्ती होइन । गल्ती त त्यो हो, तिमी गरिब भएरै मर्यौ ।’
हामी गरिब हुन्छौं, कमजोर हुन्छौ भने त्यसमा सबैभन्दा ठूलो कारक हो, अल्छीपन । जाँगर गर्नेहरु कहिल्यै कमजोर हुँदैनन् । जीवनलाई सार्थक बनाउने, जीवनमा प्रगति गर्ने हो भने अल्छीपन त्याग्नुपर्छ । जाँगर गर्नुपर्छ, श्रम गर्नुपर्छ ।
३) वर्तमानमा बाँच्न सिकौं
हामी आसपासका छिमेकी, आफन्त, साथीभाईसँग सोधौं, उनीहरु भविष्यप्रति चिन्तित छन् । विद्यालय धाउने बच्चालाई भोलिको परीक्षाको भय छ । कुनै उद्यम सुरु गर्न लागेका तन्नेरीलाई भोलिको बजारको भय छ । छोराछोरी हुर्काइरहेका दम्पतीलाई उनीहरुको भविष्यको भय छ ।
हामी आज ढुक्कले बाँचेका छैनौं । किनभने हामीलाई भोलिको चिन्ताले भयभित तुल्याएको छ । हामी जे गर्छौ, जे गरिरहेका छौं, भोलिका निम्ति भनेर गरिरहेका छौं । अर्थात भोलिका निम्ति हामीले हाम्रो आजलाई त्याग गरिरहेका छौं ।
हामी भोलिको कुराबाट मात्र चिन्ताग्रस्त छैनौं । हिजोका कुराले पनि हामी पिरोलिएका छौं । हिजोको दिनमा भएका गल्ती, कमजोरीले हाम्रो मन पोलिरहन्छ । हिजो त्यसो गरेको भए हुन्थ्यो, त्यसो नगरेको भए हुन्थ्यो भन्ने औडाहले दुखी बनाइरहेको छ ।
हिजोको चिन्ता र भोलीको भय त्यागेर आजको दिनलाई सर्वोत्कृष्ट बनाउने प्रयास गर्नुपर्छ । आजको अर्थात वर्तमानलाई हामी जति रचानत्मक, जति उत्कृष्ट बनाउँछौं, भोलि र हिजोको डर एवं चिन्ता त्यसै हराउनेछ ।
–मानिस एक्लै जन्मन्छ, एक्लै मर्छ । साथै उसले आफ्नो राम्रो र नराम्रो दुबै कामको फल पनि आफैले भोग्छ । उ एक्लै स्वर्ग वा नर्क जान्छ ।
–तपाईं के गर्ने सोंचमा हुनुहुन्छ यो कुरालाई व्यक्त नगर्नुहोस् । बुद्धिमानीपूर्वक यसलाई रहस्यमै राख्नुहोस् र कामको लागि दृढ रहनुहोस् ।
–शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्ति हरेक स्थानमा सम्मानित हुन्छन् । शिक्षाले सौन्दर्य र यौनलाई परास्त गर्न सक्छ ।
–जब भय तिम्रो सामुन्नेमा आइपुग्छ, त्यसलाई आक्रमण गरेर नष्ट गरिदिनुहोस्
पहिलोप्रेस
२६ श्रावण २०८२, सोमबार १०:०७