काँक्रेविहार जाने सडक असारभित्रै कालोपत्रे हुने, काम छिटो सुरु गर्न मुख्यमन्त्री कंडेलको ताकेता !

सुर्खेत । कर्णाली प्रदेशको बहुचर्चित पर्यटकीय स्थल काँक्रेविहार जाने सडक स्तरोन्नती हुने भएको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना अन्र्तगत प्रादेशिक आयोजना ब्यबस्थापन ईकाइ सुर्खेतले लाटीकोईली डाँडा काँक्रेविहार रोड यहि वर्ष कालोपत्रे गर्ने भएको हो ।
‘देश विदेशका पर्यटकहरु आउने यो हिन्दु र बौद्ध धर्मको साझा धार्मीक स्थल हो ।’ वीरेन्द्रनगर–९ का कमल कोईराला भन्छन, ‘प्रदेश सरकारले सडकमा बनेका खाल्डा पुर्न, सडकलाई कालोपत्रे गराउन किन ढिला गरेको हो थाहा भएन । पर्यटकीय क्षेत्रमा जाने सडकलाई व्यवस्थित बनाएको भए कर्णालीको विकास बारेमा अन्यत्रका पर्यटकले प्रशंसा नै गर्ने थिए नि होईन र ?’
लाटीकोईली डाँडा देखि काँक्रेविहारसम्म जाने बाटोको कूल लम्बाई १५ सय मिटर मात्रै छ । संघीयता स्थापना भएको लामो समय भइसकेपनि यो सडक स्तरोन्नती गर्नतर्फ कसैको ध्यान नगएको भन्दै स्थानीयहरु रुष्ट बनिरहेको समयमा यसपटक भने यो सडक कालोपत्रे गरिने भएको हो ।
प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका प्रमूख यगेन्द्र धरालाले उक्त सडकखण्ड यहि वर्ष कालोपत्रे हुने जानकारी दिए ।
यो सडकका लागि दुई करोड बजेट विनियोजन भइसकेको भन्दै तत्काल कार्यान्वयन गर्न मुख्यमन्त्री यामलाल कंडेलले आयोजना प्रमूखलाई ताकेता गरिरहेका छन् ।
‘काँक्रेबिहार सडक निर्माणका लागि दुई करोड रकम विनियोजन भएको छ । यसको डिपीआर बनेर हाल विश्व वैंकको कार्यालयमा पठाई सकेका छौं । यो सडकका लागि नेपालले ४० लाख र विश्व वैंकको ऋण एक करोड ६० लाख बजेट विनियोजन भइसकेको छ ।’ यहि बजेटबाट यो वर्ष काँक्रेविहार सडक निर्माण सम्पन्न गरिने धरालाको भनाई छ ।
कार्यालय प्रमूख धरालाले विग्रेको स्थानमा पुरै बनाउने र नविग्रेको ठाउँमा थप कालोपत्रे गर्ने स्टिमेट बनाइएको जानकारी दिए ।
‘अहिले यो रोडमा ओभर ले गर्ने स्टिमेट तयार भइसकेको छ । यो सडकको चौडाई बढीमा चार मिटरको हुनेछ । बैंकबाट नो अव्जेक्सन लेटर आउने वित्तिकै यो ठेक्का प्रक्रियामा जान्छ र ठेक्का सम्झौता पछि कार्यान्वयनको जिम्मा हामीले पूर्वाधार विकास निर्देशनालयलाई दिन्छौँ । यहि अािर्थक वर्षमा यो सडक तयार गर्ने लक्ष्य हामीले लिएका छौँ ।’
कुन–कुन सडक बन्दैछन विश्व वैंकको ऋणमा ?
कार्यालयका इन्जिनियर सन्तोष भट्टराईका अनुसार कर्णाली प्रदेशमा ११ ओटा सडकहरु विश्व वैंकको ऋण ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत बजेटमा कालोपत्रे हुनेछन भने दुई ओटा नयाँ सडक निर्माण गरिने छ ।
‘त्यसमध्ये पनि दुई ओटा सडकको भने ठेक्का सम्झौता भइसकेको छ । डुंगेश्वर–डाँडापराजुल सडक ७.९१ किलोमिटरका लागि २८ करोड १२ लाख ७५ हजार ९३७ रुपैंया र हुम्लाको गल्फगाड–श्रीनगर ९.९९ किलोमिटर सडक निर्माण गर्न २८ करोड १७ लाख ६४ हजार ४६८ रुपैंयामा निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ ।’ उनले भने, ‘यी दुवै सडक सम्झौता भएको मितिले दुई वर्ष भित्र निर्माण पुरा गर्नुपर्नेछ भने निर्माण पुरा भएको एक वर्षसम्म निर्माण कम्पनीले अनिवार्य रुपमा मर्मत सम्भार गर्नुपर्ने छ । त्यसपछिका पाँच वर्ष पनि निर्माण कम्पनीले मर्मत गर्नुपर्ने सम्झौता भइसकेको छ । यद्यपी यो अवधीमा भने निर्माण कम्पनीले मर्मत सम्भार वापत हरेक वर्ष केहि बजेट प्राप्त गर्नेछन् ।’
यी वाहेक बाँकी सडकहरु लालीघाट कोटवाडा कुमालगाउँ सडक कालिकोट, खलंगा लासि रोड जुम्ला, वडावन सानाखोला रोड जुनिँचाँदे, सलिसल्ला पिप्लाङ्ग सडक हुम्ला, गँगटे आरनटुडा ढाँडखेत सडक सुर्खेत, सुर्खेत रिङ्गरोड, तारापानी–सोरुकोट सडकको डिपीआर निर्माण भइरहेको छ ।
यस्तै, शेरावाडा पाद्मघाट महावै सडक कालीकोट र लासीक्याप कागकोट सडक डोल्पा नयाँ निर्माण हुने भएका छन् । यी दुवै सडकको डिपीआर पनि बनिरहेको उनको भनाई थियो ।
यस्तै, कार्यालयले चालु आर्थिक वर्षमा दुई सय किलोमिटर सडक नियमित मर्मतसम्भार गर्ने भएको छ । प्रदेशका दश ओटै जिल्लामा रहेका सडकहरुमा खाल्डा पुर्ने, सफाई गर्ने लगायतका कामहरु यो शीर्षक अन्र्तगत कार्यालयले गराउने छ । यसका लागि विश्व वैंकको ६० लाख बजेट छ भने नेपाल सरकारको एक करोड ६० लाख रहेको कार्यालय प्रमूख् धरालाले जानकारी दिए ।
पहिलोप्रेस
२६ श्रावण २०८२, सोमबार १२:२७