विपन्नको उपचारमा पहुँच पुर्याउन भूगोल अनुसार बीस हजारसम्म भाडा उपलब्ध गराउँदै प्रदेश सरकार
सुर्खेत । कर्णाली प्रदेश सरकारले विपन्न र असहाय नागरिकका लागि यातायात भाडा उपलब्ध गराउने भएको छ । प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ का लागि यो शीर्षकमा २५ लाख रुपैंया बजेटको व्यवस्थापन गरि भूगोलको आधारमा पाँच हजार देखि बीस हजारसम्म उपचार खर्च वा भाडा उपलब्ध गराउने भएको हो ।
बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसकेका बिरामीहरुलाई उपचार तथा यातायात खर्च सहयोगका लागि यो कार्यक्रम राखिएको मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।
‘बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसकेका बिरामीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्नु प्रमूख् उदेश्य हो ।’ मन्त्री भण्डारीले भने, ‘कर्णालीका अधिकांश नागरिकले आर्थिक अभाव भएकै कारण उपचार गर्न नपाएको जनगुनासो आइरहेको समयमा हामीले यो कार्यक्रम ल्याएका हाैँ ।’
उनका अनुसार यो सुविधा लिनका लागि वडाको सिफारिस वा उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावमा अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी सिफारिस भई मन्त्रालयमा निवेदन गरे बमोजिम ५ हजार देखि २० हजारसम्म भौगोलिक दुरीका आधारमा यातायात खर्च मन्त्रालयले उपलब्ध गराउने भएको छ ।
यस्तै, उपचारका क्रममा मृत्यू भई आर्थिक अभावमा धार्मिक संस्कार गर्न नसक्ने नागरिकका लागि शव वाहन वापतको रकम पनि भुक्तानी दिने व्यवस्था गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
भुक्तानीका लागि मन्त्रालयका सचिवको नेतृत्वमा एक समिति गठन गरिएको छ । सदस्यहरुमा स्वास्थ्य महाशाखा प्रमूख, आर्थिक प्रशासन शाखा प्रमूख, चिकित्सा शाखा प्रमूख रहेका छन् ।
सेवाग्राहीले यो सुविधा लिनका लागि निवेदन दिनुपर्नेछ । ‘निवेदन, वडा वा अस्पतालको बिरामी पुर्जा, बिरामी वा बिरामीका नजिकका आफन्तको बैँक खाता विवरण दिनुपर्नेछ ।’ मन्त्री भण्डारीले भने, ‘मृतकको हकमा मृत्यू दर्ता प्रमाणपत्र र हकवालाको बैंक खाता विवरण उपलब्ध गराउनु पर्नेछ ।’
उनका अनुसार संघीय सरकारले यसअघि दिदैँ आएको दीर्घ रोगीहरुकालाई उपचार खर्च वापतको रकम भन्दा थप एक लाख बराबरको उपचार खर्च प्रदेश सरकारले दिने बताए । यस्तै, प्रदेश अस्पतालमा मृगौलाको डायलाईसिस गराउनेको हकमा निश्ुल्क उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्री भण्डारीको भनाई थियो ।
पहिलोप्रेस
२८ श्रावण २०८२, बुधबार ११:०४