सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा हेर्न नमिल्नेमा
काठमाडौँ ।
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढे पनि आज सुनुवाइ नहुने भएको छ ।
सापकोटा विरुद्धको अदालतको अवहेलना र द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने गरी पेशीमा चढेको थियो । तर, आज सुनुवाई हेर्न नमिल्नेमा राखिएको छ । ती मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूसहित न्यायधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधनिक इजलास गठन गर्नुभएको थियो ।
संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले हेर्न नमिल्नेमा परेको हो ।
सापकोटाको मुद्दा १० वर्षदेखि अदालतमा विचाराधीन छ । माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा लामाकी पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा दर्ता गर्नुभएको थियो । सो मुद्दाको यसअघि पनि २० पटक पेशी तोकिएको थियो ।
पहिलोप्रेस
१६ भाद्र २०७८, बुधबार १३:१३