Loading... आजः २ कार्तिक २०८२, आईतवार

सत्र वर्षीय डिकेशको प्रतिष्ठानको लापरवाहीले मृत्यू भएको आफन्तकाे आराेप

तीन दिनमा समस्या समाधान नगरे आन्दोलन गर्ने परिवारको चेतावनी

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचाररत डिकेश नाथ योगीको प्रतिष्ठानका स्वास्थ्यकर्मीको लापरवाहीका कारण मृत्यू भएको भन्दै मृतकका परिवारजनले सदरमुकाममा आन्दोलन गरेका छन ।

एसईई परीक्षा दिएका डिकेश गम्भीर विरामी परेपछि जेठ २५ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।

हिमा गाउँपालिका वडा नम्बर ३ योगीबाडा निवासी मृतकका बुवा जगत नाथ योगीले अस्पतालको लापरवाहीका कारण छोराको मृत्यू भएको बताए ।

‘२५ गते राती अस्पतालमा छोरालाई इर्मजेन्सीमा भर्ना गरियो । त्यहि राती उनलाई डिस्चार्ज गरियो । भोलीपल्ट सन्चो नभएपछि फेरि छोरालाई त्यहाँ लिँदा एपेन्डिसाईट भएको भनियो । तर हामीलाई त्यस्तो कुनै प्रमाण नदिइकनै अपे्रशन गरियो ।’ पहिलोप्रेससँग कुरा गर्दै उनले भने, ‘जेठ २७ गते पनि सन्चो नभएपछि एक्सरे गर्न भन्यौँ । बेलुका आठ बजेतिर उनिहरुले एक्सरे गरे । त्यहि दिन राती एघारबजे पुनः अप्रेशन गरि विहान सात बजे आइसियूमा भर्ना गरे ।’

डाक्टरलाई रेफर गरिदिन अनुरोध गरेको भएपनि छोरा कालिकोटको सिमाना नपुग्दै वित्ने भनेर त्यहाँ कार्यरत डाक्टरले धम्की दिएको योगीको आरोप छ ।

तर, २८ गते विहान भने छोरालाई नेपालगन्ज वा काठमाडौं लैजान भनेर प्रतिष्ठानले रेफर गरेको उनको भनाई छ ।

‘त्यसपछि हामीले बाबुलाई कोहलपुर मेडिकल कलेज लियौँ । त्यहाँ १७ दिन आईसियुमा उपचार गरायौं । त्यहाँका डाक्टरले जहाँ अप्रेशन भएको हो त्यहिँ लैजान भनेर भने ।’ उनले भने, ‘त्यसपछि साउन १२ गते त्यहाँबाट यहाँ ल्याएका हौं ।’

उनले छोराको ज्यान जानु ठूलो घटना भएको बताउँदै आज जिल्ला प्रशासन कार्यालयमा लिखित सहमति भएको र तीन दिन भित्र छलफल गर्ने निर्णय भएको बताए । छलफल नभएको खण्डमा आन्दोलन चर्काउने उनको भनाई थियो ।

छानबिन समिति गठन 
डिकेशको मृत्युपछि शनिबार नै विभिन्न दलका नेता, जनप्रतिनिधि, स्थानीय समाजसेवी र योगी परिवारका सदस्यहरूको उपस्थितिमा गम्भीर छलफल गरिएको थियो । छलफलपश्चात जिल्ला स्तरिय छानबिन समिति गठन गरिएको छ ।

छानबिन समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य रहेका छन् भने सदस्यहरूमा बद्रिनाथ योगी, रतननाथ योगी, विष्णुबहादुर महत, मीन बहादुर रावल लगायतका सात जना छन् । समितिले अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समग्र उपचार व्यवस्थापन, कर्मचारी भर्ना प्रक्रिया, र योगीको मृत्युमा देखिएको लापरबाहीबारे अध्ययन–विश्लेषण गरेर प्रतिवेदन तयार पार्नेछ ।

छलफलमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेकपा एमालेका रतन नाथ योगी, माओवादी केन्द्रका विष्णु बहादुर महत, स्थानीय जनप्रतिनिधि, चिकित्सकहरू, र योगी परिवारका आफन्तहरूको उपस्थिति रहेको थियो । छलफलबाट तीन दिनभित्र पिडित परिवारलाई राहत उपलब्ध गराउने, दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने र संस्थाको कार्यशैलीमा सुधार ल्याउने प्रतिबद्धता जनाइएको छ ।

यता, नेकपा एमालेका प्रदेश कमिटि उपाध्यक्ष टेकराज पछाईले अस्पताल प्रशासनमाथि गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पछाईले भनेका छन्, ‘पेट दुखेर उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएका हिमा पालिका– ३ का डिकेशनाथ योगीको शनिबार दुखद निधन भएको छ । प्रतिष्ठानको लापरबाहीका कारण भर्खरै एसईई परीक्षा पास गरेका योगीको ज्यान गएको छ । योगीको मृत्युले केवल एक युवाको जीवन अन्त्य मात्र भएन राज्यकोषको अर्बौ खर्च भैरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिश्वसनियतामाथी प्रश्न चिन्ह खडा भएको छ । बिगतमा प्रतिष्ठानमा भएका भ्रष्टाचारलाई ढाकछोप गर्न गराईएका आगलागीको अहिलेसम्म प्रतिबेदन सार्बजनिक भएको छैन । शुरुवातदेखी लोकसेवालाई मतलब नगरी योग्य ब्यक्ति पाखा लगाउने र छनौट समितिका नाममा कार्यकर्ता तथा आफन्तहरुलाई भर्ती गर्दै बैधानिकता दिने काम गरेर प्रतिष्ठानलाई भर्ती केन्द्र बनाईएको छ ।’

उनले थपेका छन्, ‘यस्ता बिबिध घटनाहरुका कारण प्रतिष्ठानमा बिस्तारै राम्रा प्रतिष्ठित र योग्य जनशक्ति जान नमान्ने एबं त्यसका कारण प्रतिष्ठानको सेवा गुणस्तर खस्किदै जाने र अस्पतालमा बिरामीहरुको संख्या घट्दै जाने अबस्था बनेको छ । ‘डिकेशको मृत्युले मलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा डिकेश नाथ योगीप्रति भावपूर्ण श्रद्दान्जली एबं परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछु । साथै घटनाको उचित छानबिन एबं पिडित परिवारलाई क्षतिपूर्तिको ब्यबस्था गर्न माग गर्दछु ।’


सम्बन्धित समाचार