एमालेको प्रस्तावः लोकसेवा र खेलकुद मध्ये एक रोज्नुस, काँग्रेसको भने दुवै पदमा दाबी
शेरबहादुर थापा/सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेश सरकारका दुई प्रमूख निकायका महत्वपूर्ण पद रिक्त छन् । प्रदेश लोकसेवा आयोगको अध्यक्ष र कर्णाली खेलकुद विकास परिषदको सदस्य सचिव रिक्त रहेका हुन । यी दुवै पद रिक्त भएपछि एमाले नेतृत्वको सरकार आलोचनाको शिखरमा छ तर काँग्रेस भित्रैको कडा खिचातानीका कारण मुख्यमन्त्री यामलाल कडेलले दुवै पदमा पदपुर्ति गर्न नसकेको बताइएको छ ।
त्यति मात्रै होईन, सरकारको नेतृत्व गरेको दल एमालेले लोकसेवाको अध्यक्ष वा खेलकुद विकास समितिको सदस्य सचिव मध्ये एक रोज्न भनेपनि काँग्रेसको दुवै पदमा दावी भएका कारण हालसम्म दुवै निकायमा पदपुर्ति हुन नसकेको पाइएको हो ।
स्रोतका अनुसार हाल लोकसेवा आयोगमा नेता जीवन बहादुर शाहीकी पत्नी बसन्ती शाही कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छिन् । नेता शाही लोकसेवा आयोगको अध्यक्षमा आफ्नी श्रीमतीलाई नियुक्त गर्न चाहन्छन् । नभए कार्यवाहक अध्यक्ष भएर भएपनि आफ्नी श्रीमतीलाई लोकसेवा आयोगमा नै अड्याई राख्न पूर्व मुख्यमन्त्री शाही चाहन्छन् तर नेपाली काँग्रेसकै भागमा परेको सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी मन्त्री छन् । उनले खेलकुद विकास परिषदको सदस्यसचिव नियुक्तिका लागि मन्त्री परिषदको वैठकमा प्रस्ताव पेश गर्नुपर्ने हुन्छ ।
‘मन्त्री भण्डारीले काँग्रेसकै कोटाबाट सदस्य सचिव नियुक्त गर्ने अडान छोडेका छैनन । उनले उक्त अडान नछोडेकै कारण सदस्य सचिव नियुक्ति हुन नसकेको हो ।’ मन्त्री भण्डारी निकट स्रोत भन्छ, ‘केहि दिन अघि मात्रै पनि नेता शाही, मुख्यमन्त्री यामलाल कडेलसँग मन्त्री भण्डारीले भेट गरेका थिए । उक्त भेटमा पनि मन्त्री भण्डारीले खेलकुद सदस्यसचिव काँग्रेसबाटै नियुक्त गर्ने अडान राखेका थिए ।’
यता, नेता शाही भने खेलकुद सदस्य सचिव काँग्रेसले लिँदा लोकसेवा आयोगको अध्यक्ष एमालेको भागवण्डामा पर्ने, त्यसो हुँदा उनकी श्रीमती दोश्रो वरियतामा पर्ने हुँदा उक्त निर्णय गराउन चाहँदैनन । उता, मन्त्री भण्डारी भने, सकेसम्म आफू मन्त्रालयको नेतृत्वमा रहेको दिनसम्म सकेसम्म दैलेखबाट, नभए सुर्खेतबाट भएपनि खेलकुद सदस्यसचिव बनाई छाड्ने योजनामा छन् । यद्यपी उनले लोकसेवा आयोग संवैधानिक पद भएको बताउँदै यो पद भागवण्डामा पार्न नहुने जिकीर गर्दै आइरहेको भएपनि एमाले भने दुवै पद बाँडौँ भन्ने लाईनमा निरन्तर उभिइरहेको अवस्था छ ।
‘पछिल्लो समय मुख्यमन्त्री कंडेल र नेता शाहीबीच मात्रै होईन, काँग्रेसकै मन्त्री भण्डारी र नेता शाहीबीच पनि मतभेदहरु देखिएका छन् ।’ काँग्रेसस्रोत भन्छ, ‘तर, मन्त्री भण्डारी आफूले बनाएको योजना बाहेक अन्यमा सहमति दिने पक्षमा छैनन् । उनको साथमा अहिले काँग्रेसको माथिल्लो नेतृत्वले साथ दिएकाले पनि उनले जीवन शाहीको भनाई अटेर गर्न थालेका हुन ।’
यता, एमाले भने दुई पद मध्ये एक पद रोजेर लैजान काँग्रेसलाई बारम्बार ‘अफर’ गरिरहेको छ ।
‘हामीले दुई मध्ये एक पद लैजानुस भनेर उहिल्यै भन्दै आइरहेका हौँ । हामीले ती दुवै पदमा दाबी गरेका छैनाैँ ।’ एमालेका प्रमूख सचेतक टेकराज पछाई भन्छन, ‘उहाँहरुको् आपसमै कुरा नमिलेको हो कि, दुवै पदमा दावी छोडनु भएको छैन । यस्तो अवस्थामा नियुक्ति कसरी गर्ने अन्यौलता बढेको हो ।’
काँग्रेसले दुवै पदमा दावी गरेपछि एमाले भने ट्वाल्ल पर्न थालेको हल्ला चियाचौतारीमा चल्न थालेको छ । एमाले प्रदेश सभामा सभामुखसहित दश र काँग्रेस १५ सांसदका साथ उपस्थित छ ।
नेपाली काँग्रेस संसदीय दलका प्रमूख् सचेतक हिक्मत विष्टले भने लोकसेवा आयोग र खेलकुद परिषदको सदस्यसचिव अलग–अलग क्याटोगोरीमा पर्ने भएकोले यसमा भागवण्डा हुन नसक्ने बताए ।
‘लोकसेवा आयोगको अध्यक्ष पद संवैधानिक पद हो । लोकसेवा ऐनमा नै अध्यक्ष पद रिक्त भएको खण्डमा त्यसपछि ज्येष्ठताका आधारमा जो सदस्य हुन्छ, त्यहि व्यक्ति कार्यवाहक अध्यक्ष हुने भन्ने प्रावधान छ । बसन्ती शाही अहिले कार्यवाहक हुनुहुन्छ । उहाँ आफैंमा क्यापेवल, क्षमतावान महिला हो ।’ उनले भने, ‘तर खेलकुद परिषदको सदस्य सचिव भने राजनीतिक नियुक्ती हो । विभागिय मन्त्रालय काँग्रेसकै भएका कारण काँग्रेसले दावी गर्नु जायज हो ।’
सरकारले भने काँग्रेससँग किन वार्गेनिङ्ग गरिरहेको छ भन्ने बारेमा आफूलाई थाहा हुन नसकेको उनको भनाई छ ।
‘बरु अन्य राजनीतिक नियुक्तिमा भागवण्डा गर्न सकियो नि, प्रज्ञा प्रतिष्ठानका कुरा होला, दलितसम्वन्धी समितिको कुरा होला, पर्यटन विभागको कुरा होला, त्यसमा गर्न सकिन्छ नि ।’ उनले भने, ‘तर खेलकुद सदस्य सचिवमा काँग्रेसकै विभागिय मन्त्री भएको अवस्थामा अन्यलाई नियुत्तः दिन सकिँदैन ।’
उनले दुवै पद काँग्रेसले नछोडने अडान लिए ।
पहिलोप्रेस
३१ श्रावण २०८२, शनिबार १५:५०