Loading... आजः १ कार्तिक २०८२, शनिबार

मुख्यमन्त्री कंडेलको निर्देशनमा योजना आयोगको कार्यालय सरकारी भवनमा सारियो

वार्षिक १२ लाख ६० हजार रुपैंया बचत हुने
कर्णाली योजना आयोग सरेको भवन पहिलो र यसअघि कार्यालय सञ्चालन हुँदै आएको नीजि घर दोश्रोमा।

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले प्रदेश सरकारका खर्चिला कार्यक्रमहरु निरन्तर घटाउँदै जान थालेका छन् । केहि दिन अघि मात्रै तारे होटलमा कार्यक्रम आयोजना नगरेर सरकारी हलमै कार्यक्रम आयोजना गर्न निर्देशन दिएका मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश योजना आयोगको कार्यालय सार्न लगाएका हुन ।

मुख्यमन्त्री कंडेलले उक्त कार्यक्रम सरकारी हलमै गरेपछि सामाजिक सञ्जालमा उनको यो कदमको प्रशंसा भएको थियो ।

यसअघि वीरेन्द्रनगर वडा नम्बर आठ आवास क्षेत्रमा मासिक एक लाख पाँच हजार रुपैंया भाडा तिरेर सञ्चालन हुँदै आएको आयोगको कार्यालयलाई मुख्यमन्त्री कंडेलको निर्देशनमा सरकारी भवनमा सारिएको हो ।

‘पाँच तलाको घर नै भाडामा थियो । कर्णाली प्रदेश सरकारसँग सुविधा सम्पन्न भवन नभएको भएपनि हाल कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा रहेको भवनबाट कार्यालय सञ्चालन गर्न मुख्यमन्त्री कंडेलले निर्देशन दिनुभएको थियो ।’ योजना आयोगका एक कर्मचारी भन्छन, ‘केहि पदाधिकारीले भने कार्यालय सार्न आनाकानी गरिरहेका भएपनि मुख्यमन्त्रीले तत्काल सार्न निर्देशन दिएपछि भदौ एक गते आइतबारबाट सरकारी भवनबाटै आयोगको कार्यालय सञ्चालनमा आएको हो ।’

मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेशमा रहेको बजेटलाई कर्णालीको समुन्नतिमा खर्च गर्नुपर्ने बताउँदै फजुल खर्च नियन्त्रण गर्नुपर्नेमा निरन्तर जोड दिदैँ आइरहेका छन् ।
‘यो घरको भाडा मात्रै एक लाख पाँच हजार मासिक थियो । पानी र विजुलीको विल त अलग नै भयो ।’ योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले भने, ‘कम्तिमा पनि १२ लाख ६० हजार रुपैंया सरकारको जोगिने भएको हो ।’

उनले भदौ एक गते देखि कार्यालय सािरएको बताए ।

‘म गतवर्षको साउनमा नियुक्त भएको समयमा कार्यालय यहिँ थियो । कार्यालय यो घरमा सञ्चालनमा आएको अहिले दुई वर्ष पुग्नै लागेको थियो ।’ उपाध्यक्ष योगीले भने ।
मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेशको आन्तरिक आय कम भएको बताउँदै केन्द्रकै बजेटमा अनावश्यक खर्च गर्ने परिपाटी क्रमशः कम गर्दै लिएको बताए ।

योजना आयोगको कार्यालय मात्रै होईन, आगामी दिनमा सकेसम्म फजुल खर्च हुने कार्यक्रम, अनावश्यक कोठाभाडा लगायतका खर्चहरु निरन्तर घटाउँदै लैजाने मुख्यमन्त्री कंडेलले बताए ।

 


सम्बन्धित समाचार