माओवादी जिल्ला कमिटि दैलेखका दुइ सदस्यसहित आधा दर्जन एमालेमा प्रवेश
दैलेख ।
नेकपा माओवादी केन्द्र जिल्ला कमिटि दैलेखका सदस्य भक्त थापा मगर ‘एनान’ र दयाराम विश्वकर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटि दैलेखले आज आयोजना गरेको जिल्ला भेलामा उनीहरुलगायत आधा दर्जनले नेकपा माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन ।
‘नेकपा एमालेको नीति, विचार र सिद्धान्त अत्यन्त सहि छ । जनमुखि छ । जनताको बहुदलीय जनवादमार्फत नेपालको विकास र समृद्धि सम्भव छ ।’ नवप्रवेशी विश्वकर्माले भने, ‘नेपालको परिवर्तन, विकास र समृद्धि एमालेले मात्रै गर्न सक्छ भनेर हामी पार्टी प्रवेश गर्नकालागि पश्चिम दैलेखको आठबीस नगरपालिकाबाट यहाँ आएका हौं ।’
गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट वडाअध्यक्षका उम्मेदवार समेत रहेका विश्वकर्मा आज एमाले प्रवेश गरेसँगै आठबीस नगरपालिकामा एमाले थप मजवुद भएको नगरप्रमुख खड्गराज उपाध्यायले बताए । ‘हिजोको भन्दा अब हामी थप बलियो भएका छौं । आधा दर्जन भन्दा बढि नेकपा माओवादीका जिम्मेवार साथीहरु एमाले प्रवेश गर्नु भएको छ । यसले एमाले आठबीसलाई उत्साहित तुल्याएको छ ।’ उनले भने ।
पहिलोप्रेस
१६ भाद्र २०७८, बुधबार १६:२२