Loading... आजः ३ कार्तिक २०८२, सोमबार

छिन्चुमा महिला सेवा केन्द्र उद्घाटन, आईजीपी थापाद्वारा समावेशी सुरक्षाको संदेश

देशभरीमा एक हजारभन्दा बढी प्रहरी युनिट भवनविहीन


सुर्खेत । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी लैङ्गिक समावेशीकरणसँगै महिला सशक्तिकरणको नयाँ यात्रामा अघि बढिरहेको बताएका छन् । भेरीगंगा नगरपालिका–१२ छिन्चुमा नवनिर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गर्दै उनले प्रहरी संगठन नागरिकमैत्री सेवामा प्रतिवद्ध रहेको बताए ।

आईजीपी थापाले लैङ्गिक सम्वेदनशीलतालाई आत्मसात गर्दै प्रहरीमार्फत महिला, बालबालिका तथा जेष्ठ नागरिकका लागि प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्य रहेको उनको भनाई थियो ।

‘नयाँ भवनबाट महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई उच्च प्राथमिकता दिँदै सेवा प्रवाहमा मातहतका प्रहरी कर्मचारी सक्रिय हुनुपर्छ,’ उनले भने, ‘प्रहरी कर्मचारीमा नागरिकको सुरक्षा र भरोसा कायम राख्नुपर्ने जिम्मेवारी जोडिएको छ ।’ उनले नयाँ भवनमा महिलाका लागि छुट्टै ब्यारेकको व्यवस्था गरिएको जानकारी दिए ।

थापाले देशभर २ हजार ६६० प्रहरी युनिट रहेकामा एक हजारभन्दा बढी युनिटमा अझै भवन नभएको उल्लेख गर्दै सेवाग्राहीलाई राम्रो र प्रभावकारी सेवा दिन निर्देशनसमेत दिए ।

दुई तले नवनिर्मित भवनमा मिटिङ हलसहित ११ वटा कोठा रहेका छन् । फर्निचरसहित कुल ३ करोड ३५ लाख २७ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भवन बनेसँगै सेवा लिन आउने नागरिकलाई बास बस्नसमेत सहज हुने भएको छ ।


सम्बन्धित समाचार