दैलेखको आठबीसमा विद्यालय भवन अलपत्र, थपेन प्रदेशले वजेट !

सुर्खेत । दैलेखको आठबीस नगरपालिका वडा नम्बर ६, खड्केगडेनमा अवस्थित शिव आधारभूत विद्यालयको भवन अलपत्र परेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा सशर्त अनुदानमा दुई कोठे भवन निर्माण गर्ने भनेर १५ लाख लगानी गरेको प्रदेश सरकारले यस वर्ष एक रुपैंँया पनि बजेट विनियोजन नगर्दा उक्त विद्यालयको भवन अधुरै रहेको हो ।
आठबीस नगरपालिकाले योजना कार्यान्वयन गरेको उक्त भवनका लागि यो वर्ष न त पालिकाले बजेट दिएको छ, न त प्रदेश सरकारले नै बजेट दिएको छ ।
विद्यालयमा ढलान मात्रै गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर थापाले जानकारी दिए ।
‘भवन मात्रै बनेको छ । ढलान मात्रै भएको छ ।’ अध्यक्ष थापाले भने, ‘गत आर्थिक वर्षमा जम्मा १५ लाख रुपैँया बजेट आएको थियो । उक्त बजेटले भवन बनाउन सकिएन ।’ उनले भने, ‘हामीले श्रमदानसमेत गरेर विद्यालयको ढलानसम्म गरेका छौँ । थप बजेट भइदिएको भए हामीले भवन निर्माण पुरा गथ्र्यौँ । नगरपालिकाले हामीलाई १४ लाख भुक्तानी दिएको थियो ।’
यो विद्यालयमा १३४ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा पाँचसम्म अध्यापन गराईने यो विद्यालयमा चार कोठा मात्रै रहेको विद्यालयका प्रधानाध्यापक रामनाथ योगीले जानकारी दिए । विद्यालय भवन अधुरो रहेका कारण विद्यार्थीहरुलाई एउटै कोठामा दुई ओटा कक्षाका विद्यार्थीहरु राखेर अध्यापन गर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको उनको भनाई छ ।
हाल अधुरो रहेको उक्त दुई कोठे भवनको झ्यालढोका, पर्खाल, प्लष्टर गर्न र रंगरोगन गर्न बाँकी रहेको उनले जानकारी दिए ।
पहिलोप्रेस
१० भाद्र २०८२, मंगलवार १७:२३