Loading... आजः १ कार्तिक २०८२, शनिबार

कर्णालीमा कार्यरत उपसचिवलाई शाखा अधिकृत बनाई चंखेली खटाएपछि….


सुर्खेत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली प्रदेशमा कार्यरत एक जना उपसचिवलाई शाखा अधिकृत भन्दै हुम्लाको चंखेली गाउँपालिकामा सरुवा गरेपछि संघबाट कर्णाली प्रदेशमा कार्यरत काजमा खटिएका कर्मचारीहरुमा खैलाबैला मच्चिएको छ ।

विहीबार मन्त्रालयले ९७ जना शाखा अधिकृत सरुवा गर्दा कर्णालीमा उपसचिवका रुपमा काम गर्दै आइरहेका कर्मचारीलाई ६६ औं नम्बरमा राख्दै सरुवा गरेपछि कतै आफू पनि त्यसरी नै सरुवा भईने हो कि भन्ने चिन्ता काजमा खटिएका कर्मचारीहरुमा देखिएको हो ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रशासन तथा योजना महाशाखा प्रमूख उपसचिव देवि प्रसाद पौड्याललाई मन्त्रालयले शाखा अधिकृतको रुपमा चंखेली गाउँपालिकामा खटाएपछि कर्णालीमा काजमा आई लामो समयदेखि काम गर्दै आइरहेका र प्रदेश लोकसेवा आयोगबाट बढुवा भएका कर्मचारीहरुमा यतिबेला खैलाबैला मच्चिएको हो ।

उनी २०७८ सालमा कर्णाली प्रदेश सरकार अन्तर्गत काम गर्ने भन्दै काजमा खटिआएका पौड्याल गत माघमा उपसचिवमा बढुवा भएका  थिए ।

‘उहाँ मात्रै होईन, धेरै जना प्रदेश लोकसेवा आयोगबाट उपसचिवमा भइसक्नु भएको छ ।’ काजमै कर्णालीमा काम गर्दै आइरहेका एक जना कर्मचारीले भने, ‘काजमा आएका चौथो, पाँचौँ तहका कोही कर्मचारी अहिले अधिकृत भइसकेका छन् । कतै उहि पदमा मन्त्रालयले आफूलाई खटाई दिने होकी भन्ने भय सुरु भएको छ ।’

यता, उपसचिव पौड्यालले भने सरुवामा प्राविधिक रुपमा गल्ती भएको हुनसक्ने बताए । ‘मेरो नियुक्ति मुख्यमन्त्री कार्यालयले गरेको हो । पदस्थापन पनि सोही कार्यालयमार्फत भई म सामाजिक विकास मन्त्रालयमा आएको हुँ ।’ उनले भने, ‘हरेक नियुक्ति देखि पदस्थापनहुनेसम्मका कुरा राष्ट्रिय किताबखाना देखि सामान्य प्रशासन मान्त्रालयसम्मै बोधार्थ दिइएको हुन्छ कसरि यस्तो भयो भन्ने कुराको मलाई जानकारी भएन ।’ उनले काठमाडौंमा यसबारेमा आज बुझ्ने प्रतिक्रिया दिए ।

उनले यहाँ भएको नियुक्ति, हाजिरी र पदस्थापनलगायतका सबै विवरण हुलाक वा कुरियरमार्फत काठमाडौं पठाउने गरिएको जानकारी दिए ।

यता, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यस्तो कमजोरी दुई ओटा निकायबाट हुनसक्ने बताए । ‘या त मुख्यमन्त्री कार्यालयले उहाँको विवरण केन्द्रमा पठाएन, या यहाँबाट पठाएको विवरण राष्ट्रिय कितावखानाले अपडेट गरेन ।’ उनले भने ।

 


सम्बन्धित समाचार