Loading... आजः २९ भाद्र २०८२, आईतवार

काङ्ग्रेस निकट किसान संघमा भाँडभैलो, समानान्तर कार्यसमिती गठन

सुर्खेत । नेपाली काङ्ग्रेस निकट नेपाल किसान महासंघ कर्णाली प्रदेशको प्रदेश अधिबेसनमा धादली गरेर गैर सदस्य घुसाइ समिति बनाइएको भन्दै भाडभैलो मच्चिएको छ ।

उक्त भाडभैलोको परिणाम स्वरुप आज नरसिंह मल्लको अध्यक्षमा अर्को समानान्तर कार्यसमिति गठन गरिएको हो ।

नेपाली कांग्रेस पार्टी कार्यालय सुर्खेतमा भएको अधिवेशनमा धाँधलीपूर्ण, एकलौटी निर्णय र फर्जी नामावली प्रयोग भएको भन्दै मल्लको नेतृत्वमा अर्को कमिटी गठन गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जानकी सिंह, कर्णाली प्रदेश उपसभापति कालिबहादुर सहकारी, सहमहामन्त्री उपेन्द्र थापा र केन्द्रीय प्रतिनिधि कविराज रेग्मीको रोहवरमा नरसिंह मल्लको अध्यक्ष रहेको कमिटि घोषणा गरिएको हो ।

मल्ल नेतृत्वको समूहले १८८ सदस्य मध्ये ९९ जनाको स्पष्ट समर्थन प्राप्त भएको बताउँदै आफूहरुकै समूह नै वैधानिक र आधिकारिक भएको दाबी गरेको छ ।

यसअघि गठन भएको कमिटीमा गैरसदस्यलाई सहभागी गराएर बनाइएको भन्दै अध्यक्ष मल्लले अर्को कमिटी अस्वीकार्य मात्र नभई पूर्ण रूपमा अवैध रहेको बताए ।

मल्ल पक्षले निर्वाचनमा प्रयोग भएको मतदाता नामावली नै फर्जी रहेको आरोप लगाएको छ। उनीहरूले उपलब्ध गराएको नामावलीमा ६३ जनाको नाम एकलौटी ढंगले परिवर्तन गरिएको उल्लेख गर्दै, वास्तविक सदस्यहरूको नाम काटेर सदस्य नै नभएकालाई सूचिमा राखिएको दाबी गरेका छन्।

नामावली सच्याउन लेखित निवेदन दिइए पनि निर्वाचन समिति र केन्द्रीय प्रतिनिधिले नमानेको भन्दै उनीहरूले त्यसलाई धाँधली र पूर्वनियोजित योजना बनाएको आरोप लगाए ।

मल्लले वास्तविक सदस्यको नाम हटाएर गैर सदस्य राखिएको निर्वाचनलाई वैधानिक मान्न नसकिएकाले आफुहरुले बनाएको समिति नै आधारिकारिक भएकाले भ्रममा नपर्न आग्रह गरे ।

आफुहरुले ९९ सदस्यको हस्ताक्षर भएको तथ्य रहेको बताउँदै विधानअनुसार बहुमतको निर्णय मान्य हुने उनको भनाइ छ।
यसअघि केन्द्रीय प्रतिनिधि कविराज रेग्मीले मतदाता नामावलीकै विषयमा असहमति जनाउँदै मतदाता नामवली सच्चाउनु पर्ने,फर्जी मतदाता हटाउनुपर्ने माग गरेका थिए ।

तर असहमति बेवास्ता गर्दै चुनाव गराइएको भन्दै मल्ल समूहले निर्वाचन समितिमाथि धाँधली गरेको आरोप लगाएको छ।
मल्ल नेतृत्वको कमिटीले आफूहरू नै वैधानिक र आधिकारिक भएको जानकारी पार्टी केन्द्रमा पठाइसकेको जनाएको छ।

बहुमत सदस्यको समर्थनमा, विधानअनुसार, वैधानिक रूपमा कमिटी गठन गरेको भन्दै धाँधली र फर्जी नामावलीमा बनेको अर्को कमिटी अवैध भएको पत्र केन्द्रमा पठाइएको जनाइएको छ ।
यता, हिजो मात्रै अर्को समिति निर्वाचित भएको घोषणा गरिएको थियो । उक्त समितिले समेत आफुहरु नै आधिकारिक भएको बताउँदै आफुहरुमाथी लगाइएका आरोप निराधार रहेको बताएको छ ।