शिक्षक सरुवामा ठूलीभेरी नपामा बदमासी, एक महिना देखि चार महिनासम्मको तलबको दिदैनन् भुक्तानी
सुर्खेत ।
डोल्पा जिल्लाको ठूली भेरी नगरपालिकामा नगर शिक्षा तथा सम्वन्धित विद्यालयको प्रधानाध्यापकको मिलेमतोमा सरुवा मागेर अन्तरजिल्ला जाने शिक्षकहरुबाट कम्तिमा एक महिना देखि चार महिनासम्मको तलब राख्ने गरेको पाइएको छ ।दैलेखको भैरवी गाउँपालिकाका शिक्षक प्रेमप्रसाद आचार्यले नेपालप्रेससँग सो समस्या जनाएसँगै उक्त कुरा खुलेको हो ।
उनको गुनासो हाल नगरपालिकाका निमित्त कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालिन विद्यालय निरीक्षक दिलप्रसाद रोकायासँग सोध्दा उनी झर्किएका छन् ।
सोही नगरपालिकाको देवि आधारभूत विद्यालय ठूलीभेरी नपा ६ काँडाथलीमा २०७६ साल कात्तिकमा प्रेम प्रसाद आचार्य हाजिर भएका थिए । उनले त्यहाँबाट दैलेखको भैरवी गाउँपालिका वडा नं. पाचमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय थापावाडामा सरुवा मागेका थिए । उनले त्यहाँबाट सरुवा माग गरेर २०७८ जेठ पाँच गते उक्त विद्यालयमा हाजिर भएका थिए । उनले वैशाख ३१ गते डोल्पाको विद्यालयबाट रवानापत्र बुझेका थिए ।
‘मेरो एक महिनाको तलब भत्ता अहिलेसम्म दिएका छैनन् । विद्यालयका अध्यक्षले बारम्बार पैसा दिन भनेपनि वैशाखको तलब विद्यालयका प्रधानाध्यापकले दिन मानेका छैनन् । उनी मात्रै होइन, यसमा विद्यालय निरीक्षक रोकाया पनि जोडिएका छन् । उनीसँगको मिलेमतोमा उनले तलब दिइरहेका छैनन् ।’ शिक्षक प्रेमले भने, ‘त्यहाँबाट सरुवा भइ अन्य जिल्लामा फर्कने शिक्षककालागि यो समस्या रहेको छ । कसैको चार महिनाको तलब काट्ने गरिएको छ भने कसैको एक महिनाको तलब नै नदिने प्रचलन रहेको पाइएको छ ।’
आफूले बारम्बार तलब पठाईदिन भनेपनि खातामा नहालिएको भन्दै पहिलो चरणमा आफू मिडियामा आएको उनले बताए । ‘डोल्पामा यो व्यथिति छ । यस्तै कारण एकजना डोल्पाका शिक्षकले सरुवा माग्दा डेढ लाख भन्दा बढि रुपैंया त्यहि छोडनु परेको थियो ।’ उनी भन्छन्, ‘मेरो लागि त्यो एक महिनाको ४० हजार बढि होइन तर त्यहाँ भइरहेको चरम व्यथिति गलत लागेको छ । त्यसका विरुद्ध म उच्च अदालतको ढोका पनि ढक्ढक्याउन जान तयार भएको छु । चालिस हजार अरु खर्च गरेर भएपनि यो गलत काम विरुद्ध म लडनेछु ।’
उनले विद्यालयले रवाना दिइसकेपछि तलब रोक्नुको पछाडी भ्रष्टाचार गर्नेमानसिकता भएको बताए । ‘पैसा नदिनुको पछाडी अरु कारण म केहि देख्दिन ।’ उनी भन्छन्, ‘भदौ अन्त्य हुन लागेको छ तर वैशाखको तलब पालिकाले विद्यालयको खातामा गइसकेपछि पनि दिइउको छैन । यसमा नगरशिक्षा र प्रधानाध्यापकको मिलेमतो रहेको छ ।’
विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बुढाले उनको उक महिनाको तलब रोक्का गरिएको बताए । ‘हामीले यहाँ स्वयंसेवी शिक्षक भर्ना गरेका छौं । उहाँहरुबाट काटेर सो तलब दिने योजना बनाएका छौं ।’ उनले भने, ‘उहाँको तलब दिने भनेर विव्यसको निर्णय भइसकेको छ । यहि अध्यापन गराई सरुवा भएका तेजेन्द्र खत्रीले १५ हजार फिर्ता गरेपछि प्रेम आचार्यलाई पैसा पठाई दिन्छौं ।’
तर सोही विद्यालयका विव्यस अध्यक्ष चन्दु मल्लले भने उहाँको तलब रोक्नुपर्ने अवस्था नरहेको बताए ।
‘हामीले उहिल्यै निर्णय गरेर तलब दिन भनिसकेका छौं ।’ उनले भने, ‘हालसम्म किन उहाँलाई तलब नदिइएको हो थाहा भएन । उहाँले सबै तलब पाउनुपर्छ ।’
तत्कालिन विद्यालय निरीक्षक एवम निमित्त कार्यकारी प्रमुख रोकायाले भने आफुहरुका पनि मिडिया भएको बताउँदै मिडियाका नाउँमा धम्की नदिन उर्दि दिए । ‘मेरा पनि मिडिया छन् ।’ उनी भन्छन्, ‘उहाँहरुले विद्यालयलाई पैसा दिने भन्नु भएको थियो रे, त्यहि आधारमा उहाँहरुले नदिनु भएको होला । हाम्रा पनि मिडिया छन्, तपाई नधम्क्याउनुहोस ।’
पहिलोप्रेस
१८ भाद्र २०७८, शुक्रबार १४:३३