Loading... आजः २१ मंसिर २०८२, आईतवार

प्रहरी सेवामा मेरा ३० बर्ष, जीवन एक समर्पणको कथा

लेखक अप्रा प्रहरी नायव निरीक्षक नृप बहादुर रावल हुन ।

तीन दशक अर्थात तीस बर्ष यो कुनै सानो समय होईन जीवनका कैयौ आरोह अवरोह सफलता असफलता र खुशी पीडाका थुप्रै अध्यायहरु समेटिनुका साथै जीवनका ऊर्जासिल क्षणहरु यहि अवधिमा व्यतित भएका छन ।  यति लामो प्रहरी सेवाको यात्रा सजिलो थिएन तर गौरवपूर्ण थियो । आज म फर्किएर हेर्छु मनमा गर्व, आँखामा आँशु र आत्मामा सन्तोष छ। किनभने मैले मेरो जीवन राष्ट्र र जनताको सुरक्षाको लागि समर्पण गरेको छु ।

प्रहरी जीवनको सुरुवात – एउटा संयोग एउटा संकल्प 
२०५१ सालको साउन भदौ महिना गाँउमा रोपाईको चटारो भर्खरै सकिएको थियो । खेतको हिलो पखालिए पनि थकान अझै शरिरमा बांकी थियो । साँझको समय आफ्नै गाँउको घर माथिल्तिर रहेको कालिका मन्दिर परिसरको चौरमा हामी केहि जना बसेर गफ गर्दै थियौ जीवनका उद्देश्य सपनाहरु र संभावनाको बारेमा ।
त्यहि समय गाँउका एकजना अग्रज काकाले मलाई हेर्दै सहज र गहिरो भावमा भन्नु भयो नृप तिमी त शारिरीक रुपमा प्रहरी हुन लायक छौ । किन प्रयास नगर्ने ? त्यो एक वाक्यले मेरो मनमा एकाएक हुटहुटी जाग्यो म ति शब्दमा हराए र जीवनको नयाँ संभावनाको कल्पना गर्न थाले । त्यो सानो प्रेरणाले मलाई ठुलो सपना देखायो । राष्ट्रिय सेवा, पोशाकको गरिमा र जिम्मेवारीको मार्गतर्फ ।
समय वित्दै गयो ठीक एक बर्ष पछि २०५२ सालको आश्विन महिनामा प्रहरी जवान पदमा भर्ना खुल्यो , त्यो खवर सुन्ने वित्तिकै मन उत्साह र संकल्पले भरियो । संयोग त्यस्तो पर्यो कि मलाई प्रहरी बन्न प्रेरित गर्ने उनै काका स्वयं  पनि गाँउका अन्य केहि यूवाहरुसंगै भर्ना प्रक्रियामा जान लाग्नुभयो ।म पनि वहाँहरुसंगै दिपायल हानिय । नयाँ यात्रा नयाँ अध्याय सुरु गर्ने सोचका साथ ।
छनौट प्रक्रिया कठिन थियो करिव तीन महिनाको लामो अवधीमा दौड, शारिरीक परिक्षण, लिखित परिक्षा, अन्तरवार्ता यी सवै पार गर्दै गर्दा शरिर थाक्थ्यो तर मनको आत्मबल झन बलियो बन्दै गयो । अन्ततः नतिजा आयो छनौटमा हामी संगै गएकाहरुमा म मात्र छनौट हुन सफल भए ।
प्रहरी तालिमको पहिलो दिन कहालीलाग्दो सुरुवात
छनौट भएर प्रहरी तालिम केन्द्र भित्र पाईला टेकेको त्यो दिन आजपनि मेरो स्मृतिमा चिरस्थायी बनेर बसेको छ । एउटा अनौठो अनुभव जहाँ जीवनको नयाँ अध्याय प्रारम्भ त भयो तर सुरुवातैमै अकल्पनिय संघर्षबाट ।
अन्तिम परिक्षा सफलतापुर्वक उत्तिर्ण गरेर हामी उत्साहित थियौ, मनमा नयाँ सपना अनुहारमा गर्व मिश्रित मुस्कान । हामी सोच्दथ्यौ अब प्रशिक्षण सुरु हुनेछ । अनुशासन, शारीरीक अभ्यास र सिकाईको प्रक्रिया प्रारम्भ हुनेछ तर हामीले कल्पना गरे विपरित प्रर्शिक्षार्थीहरुलाई एउटा प्रहरी ट्रकमा राखेर तालिम केन्द्रबाट वाहिर लगियो । तर त्यो दिनको मुख्य कार्य थियो तालिम केन्द्र परिसरको उत्तरततर्फ निर्माण हुदै गरेको क्षेत्रीय प्रहरी अस्पतालको भवनका लागि ढुंगा संकलन गर्नु ।
हामीलाई सेती नदिको कालाखोला वगरमा लगियो नत कुनै सुचना दिईएको थियो, नत तयारीको मौका विहानै देखि साँझसम्मै  ढुंगा उठाउने, बोकेर ट्रकमा हाल्ने र त्यसको चाङ लगाउने कार्यमा दिन बित्यो । गर्मि, थकाई  भोक र शरिरको पीडा यी सवैलाई लुकाउदै हामीले त्यो पहिलो दिनको सामना गर्यौ ।
जव राती १० वजे तालिम केन्द्र फिर्ता आयौ शरिर भतभती दुखेको थियो अनि पेटमा चर्को भोक ।हामीले सोचेका थियौ अव त खाना खाएर आराम गर्न पाईने होला तर त्यो आशा पनि निराशामा परिणत भयो खाना त परै जाओस गुरुहरुबाट लामो ब्रिफ्रिङ सुरु भयो  । रातको पालो पहरा, अनुशासन, तालिम केन्द्रका नियमहरु सवै सविस्तार सुनाईयो । यसै क्रममा घडिले रातको १२ बजाई सकेको थियो ।
अन्ततः जव खाना खान पाईयो त्यो पनि चिसो अनि आधा पेट मात्र खाना खादै गर्दा आँखा निन्द्राले भारी भएका थिए । जव व्यारेक पुगेका थियौ रातको १ बजि सकेको थियो सुत्न नपाउदै २ देखि ३ बजेसम्मको पालो डिउटी जानुपर्ने भयो । त्यो रात मैले करिव २ घण्टा जति मात्र सुत्न पाए , यो केवल सुरुवात थियो । करिव एक महिना सम्म दिनहु बन्दै गरेको अस्पतालको लागि ढुंगा ओसार्ने हाम्रो दैनिकी बन्यो ।
शारिरीक थकान, मानसिक तनाव र निन्द्राको अभाव विच पनि हामी अगाडी बढयौ कारण थियो कर्तव्यको भावना र देश सेवाको सपना । त्यो पहिलो दिनको अनुभुति आजपनि मेरा लागि एउटा अमुल्य पाठ हो । प्रहरी बन्ने बाटो सजिलो छैन तर त्यहि कठिनाईमा साँचो बल धैर्य र समर्पण पलाउछ भन्ने लाग्यो ।
लामो समयपछि आधिकारीक रुपमा तालिम सुरु भइ नियमित तालिम प्रक्रिया अघि बढ्दा मैले पनि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने अवसर पाँए । तालिम अवधिभर म अनुशासन पि.टी. परेड टर्नआउट र शारिरीक तन्दुरुस्तीमा अगाडी रहदै छुट्टै पहिचान स्थापित गर्न सफल भए । मेरो पि.टी. परेडको स्तर साप्ताहिक निरीक्षणमा देखिएको उत्कृष्टताले तालिम केन्द्रमा एकखालको छुट्टै पहिचान बनायो । जसबाट मेरो मनोबलमा बृद्वि भई कठोर तालिम पनि सहज लाग्न थाल्यो तालिमको १३ महिना बितेको पत्तै भएन ।यद्यपि तालिमको अन्तमा भएको विभेदले मनमा नराम्रो छाप बसेको छ । जसको जतिसुकै खेद र भत्सर्ना गर्दा पनि कमै हुन्छ ।
३० बर्षको प्रहरी धर्म एक समर्पित राष्ट्र सेवकको गौरवगाथा 
नेपालमा जव १० बर्षे जनयुद्वको सुरुवात भयो ठिक त्यहि समय मैले राष्ट्रसेवाको पवित्र व्रतका रुपमा प्रहरी सेवामा आफ्नो पाहिला टेकेको थिए त्यो काल एक दशक लामो संघर्ष, अराजकता, परिवर्तन र चुनौतिको समय थियो । जहाँ प्रहरी सेवामा जीवन विताउन केवल एउटा पेशा नभई साहस त्याग र कर्तव्यप्रतिको प्रतिवद्वता थियो ।
देशमा प्रजातन्त्र देखि गणतन्त्र र त्यसपछि लोकतान्त्रिक शासन प्रणालीको स्थापना हालैको जेन्जेड विद्रोह सम्मको हरेक राजनितिक संक्रमणकाललाई नजिकबाट अनुभुत गर्दे मैले आफ्नो पेशा ,धर्म कर्तव्यनिष्ठा आचरण र मर्यादालाई सधै प्राथमिकता दिदै जनताको सेवामा समर्पित रहि जीवनको अमुल्य तीन दशक विताए ।
मैले मेरो व्यक्तिगत जीवनको मार्गदर्शनका रूपमा आध्यात्मिक दृष्टिकोणबाट भागवत गीता र व्यवहारिक आदर्शको रूपमा चाणक्य नीतिलाई आत्मसात् गरेको छु। यी शिक्षाले मेरो सोच, व्यवहार, सेवा प्रवाह र आर्थिक निर्णय समेतमा दृढता र नैतिकता प्रदान गरेका छन्। मेरो प्रत्येक कदममा यी सिद्धान्तहरूले स्पष्ट मार्ग देखाएका छन् र जीवनलाई केवल व्यक्तिगत सफलतामा सीमित नराखी, समाज र देशको हितमा समर्पित बनाएका छन्। यसरी, मेरो जीवन र कार्यशैली पूर्ण रूपमा यी आदर्शहरूको प्रतिबिम्ब बनेका छन ।
आज गौतम बुद्ध छैनन् तर उनले दिएका ज्ञान र उपदेशबाट मानिस बुद्धका शरणमा पुग्न सक्छन् । गौतम बुद्धले भनेका थिए, “संसारका सबै वस्तु नाशवान् छन् । ती वस्तुप्रति मोह राख्नु दुःखको कारण हो । हृदयदेखि नै पवित्र भावले सेवा कार्यमा लागेमा दुःखबाट छुटकारा पाउन सकिन्छ र अन्त्यमा मुक्ति मिल्छ ।” यी विचारहरूको पालना गर्नाले मानिसलाई धार्मिक सुख मिल्दछ र आत्मामा शान्ति हुन्छ । यही विश्वासमा विश्वका अरबौं मानिसहरू बुद्ध धर्मको पालना गर्दछन् र गौतम बुद्धलाई भगवान् भनेर पूजा गर्दछन् ।
मार्गदर्शकको रुपमा तालिम 
सेवा अवधिभर मैले प्रहरी कारवाही र सूचना प्रविधिसहित  विभिन्न १० विधाका व्यवसायिक तालिम लिने अवसर पाएँ। ती सबै तालिममा मैले प्रायः उत्कृष्ट स्थान हासिल गरेको छु। यस अवधिमा गरेको मिहिनेत र लगनशीलताले कार्यक्षेत्रमा पदिय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न मद्दत गरेको अनुभव भएको छ। धेरै पढेर प्रमाणपत्र हासिल गर्नु मात्र पर्याप्त होइन; मुख्य कुरा भनेको बुद्धि, विवेक र जागरुकताको विकास गर्नु हो।
जीवनको मुलमन्त्र 
प्रहरीको कार्यक्षेत्र असिमित छ ।जन्मदेखि मृत्यु सम्म कुनै ठाउ छैन प्रहरी नजोडिएको । कर्तव्य पालनाको क्रममा कैयौ बिध्नबाधाहरु  आइलाग्दछन कर्तव्य पालनाको क्रममा आइपर्ने हरेक चुनौतीलाइ बिना हतास निर्भिकता पुर्वक निर्वाह  गर्न सक्नु पर्दछ  ।  जीवनमा शुक्लपक्ष तथा कृष्णपक्ष दुवैको आउनु अनिवार्य छ। शुक्लपक्षको चाँदनी सर्वदा रहन सक्दैन उसैगरी कृष्णपक्षको अध्यारो सदा रहन सक्दैन ।कालको धर्म हो दिनको रातमा अनि रातको दिनमा वदल्नु यहि कालको गति हो ।यहि सोचेर मनुष्यले कृष्णपक्षको अध्यारोवाट डराएर (निरास) बनेर हतास हुनु हुदैन सुखको पश्चात् दुःख त आउछ नै परन्तु यस दुःखको अध्यारोमा मानवले आफ्नो धर्मको प्रकाशले बाटो बनाउनु पर्दछ ।यसलाई पुरुषार्थ भनिन्छ निरासको धर्तिबाट आशाको बिज रोप्नु पर्दछ ।यहि विजारोपण भविश्यमा फल दिन्छ । यहि मानव कर्तव्य हो अनि आदर्श पनि ।
जागिरे जीवनका अधिकांश कालखण्डमा नेतृत्वदायी कार्यालयहरुमा कार्यरत रहदै प्रशासनिक संरचनालाई समय सापेक्ष प्रभावकारी र प्रविधि मैत्री बनाउने कार्यमा सक्रिय भुमिकामा रहि निगरानी, समन्वय, निष्पक्षता र अनुशासनका साथ अगाडी बढाए । विभिन्न समयमा सम्पन्न भएका आम निर्वाचनमा क्षेत्रीय कार्यालयहरुमा कार्यरत रहदा माताहत जिल्लाहरुको भौगोलिक अवस्था, राजनितिक संबेदनसिलता र सुरक्षाको समग्र मुल्याङ्कन  गरी सुरक्षा योजना बनाई त्यसै अनुरुपको जनशक्ति साधनस्रोत परिचालन गराई परिणाम स्वरुप निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने कार्यमा महत्त्पुर्ण  भुमिका निभाएको छु।  विभागबाट प्राप्त हरेक जिम्मेवारीलाई समयमै निष्ठापुर्वक र कुसलताका साथ निर्वाह गर्नु मेरो प्राथमिकता रहयो । सेवामा रहदा चाहे जनता  होउन वा सहकर्मी प्रहरीकर्मचारीहरु सबैसंग समभाव, सद्वभाव, र भातृत्वको सम्बन्ध कायम राखे निष्कलंक छवि मर्यादित व्यवहार र विवाद रहित सेवा मेरा जीवनका मुल्य बने ।
आज जव यो तीस बर्षको गौरवपूर्ण प्रहरी जीवन पुरा गरी ससम्मान अवकाश ग्रहण गर्दै छु मेरो मन एकातर्फ प्रशान्त छ र अर्कातर्फ गर्वले फुलेको छ यो केवल जागिरको अन्त्य होईन यो राष्ट्रसेवा जनताप्रति समर्पण र अनुशासित जीवनसैलीको प्रेरणादायी सम्पूर्ण अध्याय हो । आज छाती गर्वले चौडा भएको छ । किनभने देश र जनताको सेवाभाव हृदयमा बोकी आजभन्दा तीन दशकअघि नेपाल प्रहरीको आधार स्तम्भ मानिने प्रहरी जवान पदबाट आफ्नो सेवा यात्रा आरम्भ  गरी प्रहरी नायव निरीक्षक सम्मको यात्रामा  जनताप्रति समर्पित प्रहरी धर्मलाई पूर्णा निष्ठा र सम्मानकासाथ जगेर्ना गर्दै आफ्नो कर्तव्य सफलतापूर्वक निभाएको अनुभुति गरेको छु ।
सुझाव 
आजको युग सूचना प्रविधिको युग हो। हरेक नागरिक कुनै न कुनै रूपमा सूचना प्रविधिसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ। सूचना प्रविधिको तीव्र विकाससँगै अपराधका कार्यशैलीहरू पनि बदलिँदै गएका छन्। कहिलेकाहीँ त अपराधीहरू प्रहरीभन्दा एक कदम अगाडि रहेको देखिन्छ। यस परिप्रेक्ष्यमा नेपाल प्रहरीले प्रदान गर्ने तालिम प्रणालीलाई पनि समयानुकूल परिमार्जन र अद्यावधिक गर्नु नितान्त आवश्यक भइसकेको छ। आजको समाज सचेत र चेतनशील बनेको छ, त्यसैले प्रहरीका प्रत्येक जवानदेखि अधिकृतसम्मलाई सूचना प्रविधि, अनुसन्धान प्रविधि तथा कानुनी प्रक्रियामा दक्ष बनाउने खालका व्यवहारिक तालिमहरू प्रदान गर्नु अपरिहार्य छ। त्यस्तै, वर्तमान प्रहरी ऐन र नियमावलीलाई समेत युगअनुसार पुनरावलोकन गरी परिष्कृत गर्दै प्रहरीलाई “आदेशमा मात्र चल्ने संस्था” होइन, “ऐन, कानुन र विधिबाट परिचालित संस्था” बनाउनु आवश्यक छ। अन्ततः, हाम्रो लक्ष्य यस्तो कानुन निर्माण गर्नु हो जहाँ मानिसले कानुन होइन, कानुनले मानिसलाई नियन्त्रण गर्ने व्यवस्था होस् — जसबाट कानुनी शासनको सुदृढीकरण र प्रहरी सेवाको विश्वसनीयता दुवै उच्च स्तरमा पुग्नेछ।
अपेक्षा
अवकाश प्राप्त प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा अवकाशको चरणमा रहेका प्रहरीजनहरूको अवकाशपश्चातको नागरिक जीवनलाई सहज र सुसंगठित बनाउन, उनीहरूको रुचि र योग्यता अनुसारका विभिन्न सिपमूलक तथा आयमूलक तालिम प्रदान गर्न सकिएमा, त्यसको बहुआयामिक प्रभाव पर्न सक्नेछ। एकातर्फ, यस्ता तालिमले उनीहरूलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बन्न सहयोग पु¥याउनेछ भने, अर्कोतर्फ, प्रहरी सेवाका व्यक्तिहरू सेवामा रहँदा मात्र होइन, सेवा पश्चात पनि समाजमा उपयोगी र योगदान दिन सक्ने क्षमतायुक्त नागरिक हुन् भन्ने सकारात्मक सन्देश आम जनमानसमा प्रवाह हुनेछ। यस प्रकारका पहलहरूले प्रहरी सेवाप्रतिको वितृष्णा घटाउने मात्र होइन, प्रहरीप्रतिको जनविश्वास र भरोसा अझ बृद्दि गर्ने कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
अन्तमा सेवा अवधीभर बिभिन्न कालखण्डमा प्रत्यक्ष एवं परोक्ष रुपमा जोडिनु हुने अग्रज, सहपाठी तथा अनुज सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा पनि  आपसी सदभाव भातृप्रेमी यथावत रहि रहोस भन्ने अभिलाषा लिदै सबैको उत्तरोउत्तर प्रगतिको कामना गर्दछु ।
धन्यबाद, जय नेपाल ।

सम्बन्धित समाचार