Loading... आजः २२ मंसिर २०८२, सोमबार

दैलेख एमालेमा मच्चियो रडाको, पुरानालाई महाधिवेशन प्रतिनिधि नबनाएको भन्दै विरोध सुरु

प्रतिनिधिको सार्वभौम अधिकार अपहरित भयोः नेता विष्ट

सुर्खेत । नेकपा एमालेले मंसिर अन्तिम साता काठमाडौंमा आयोजना गरेको ११ औं महाधिवेशनमा एमालेको गढ मानिएको दैलेख जिल्लामा रडाको मच्चिएको छ ।

‘मैले पनि नेकपा एमालेको ११ औं महाअधिबेशनमा प्रतिनिधि छनोट गरिपाउँ भनि दैलेख जिल्ला क्षेत्र नं २ देखि उम्मेद्बारी दिएको थिए, अधिकांश केन्द्रिय सदस्य ले बोल्दा सदस्यता लिइएको मिति र सिनियरताको आधारमा प्रतिनिधि छनोट हुन्छन् भन्थे आखिर गोजी भित्रका मान्छेलाई प्रतिनिधि छनोट गर्नु थियो भने यत्रो नाटक प्रपन्च गर्नु के आवस्यक थियो ?’

२०५२ माघ २० गते सदस्यता प्राप्त नम्बर ११८८१५ रहेको र २०६२ कात्तिक दुई गते उनको सदस्यता प्रमाणित भएको प्रमाण सामाजिक सञ्जाल फेसबुकमा राख्दै विना पोखरेलले भनेकी छिन, ‘नेता ज्यु तपाईंले छानेका प्रतिनिधि त म पार्टीमा लागेको बेला जन्मिएका थिए ? कि थिएनन् ? अझ लाजको पसारो सर्वसहमती रे ?केन्द्रिय सदस्यका गोजिका मान्छे भन्नू पर्ने ? भुगोल मिलाउन पर्ने होला भैरवी क्षेत्र नं १ मा परेको हो त ?’

उनि त एक उदाहरण मात्र हुन । आठबीस नगरपालिकाबाट महाधिवेशन प्रतिनिधि हुन योग्य पदमबहादुर माझी, नगरप्रमूख तर्क बडुवाल, पूर्व नगरप्रमूख खड्गराज उपाध्यायले समेत महाधिवेशन प्रतिनिधि बन्ने अवसर पाउन सकेनन् । यध्यपी यो पालिकाबाट गमता बिक र कल्पना थापा भने छनोट भइन ।

आज दैलेख जिल्लाका दुई ओटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको रुपमा सर्वसम्मत नाम चुनिएको सूचना सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

एमालेले जारी गरेको सूचना अनुसार निर्वाचन क्षेत्र नम्बर दुईबाट खुलातर्फ एमाले दैलेखका अध्यक्ष सुर्यबहादुर शाही, रुद्र बहादुर शाही, धिरबहादुर शाही, तिलक प्रसाद रिजाल, विष्णु थापा कल्पना कुमारी थापा, नन्दा कुमारी आचार्य र सुशिल कुमार थापालाई मनोनित गरिएको छ ।

यी मध्ये पाँच ओटा पालिका रहेको दुई नम्बर निर्वाचन क्षेत्रबाट चार जना भने दुल्लुबाट मात्रै चयन भएका छन् । चामुण्डाबाट दुई, आठबीसबाट एक जना र ठाँटीकाँधबाट एक जना चयन भएका छन् ।

यी उम्मेदवार भने खुला, महिला र युवा कलष्टरका हुन ।
यस्तै दलितबाट निर्वाचन क्षेत्र नम्बर एकबाट पार्वती विशुन्के र सशिराम बिक तथा दुई नम्बर बाट गमता विक र हिक्मत विक चयन भएको निर्वाचन कमिटिका प्रमूख गणेश प्रशाद रेग्मीले जानकारी दिए ।

यस्तै निर्वाचन क्षेत्र नम्बर एकबाट खुलामा रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, नैनसिंह खत्री र हिमालयजंग शाह चयन हुँदा युवा कलष्टरबाट जनकराज न्यौपाने चयन भएका हुन ।

महिलातर्फ तप्ता थापा, खगिसरा विसि र लक्ष्मी कार्की चयन भएको प्रमूख निर्वाचन अधिकृत घनश्याम रेग्मीले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधिका लागि भन्दै शनिबार मात्रै निर्वाचन क्षेत्र नम्बर दुई बाट ५९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर एकबाट भने नौ जनाले मात्रै उम्मेदवारी दिएका थिए ।

२०६४ मा देशभर कमजोर देखिएको अवस्थामा निर्वाचन क्षेत्र नम्बर दुईबाट मात्रै एमालेले साविक मध्यपश्चिम विकास क्षेत्रबाट जीत हात पारेको थियो ।

त्यसताका एमालेका राजबहादुर बुढाले चुनाव जितेका थिए ।
‘दुई नम्बरमा जिल्ला इन्चार्ज समेत रहेका लक्ष्मी पोखरेलले मनलाग्दी महाधिवेशन प्रतिनिधि चयन गरेका हुन ।’ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका तर चुनाव लडन नपाएका एक युवा नेताले भने, ‘उनिहरुले आफ्नै मनलाग्दी गरी निर्वाचन प्रतिनिध चयन गरेका छन् । यसले आगामी निर्वाचनमा ठूलो असर पर्ने देखिएको छ ।’

उनले स्थानीय तहको निर्वाचनमा दैलेखका दुल्लु नपा, चामुण्डा विन्द्रासैनी नपा, भैरवी र ठाँटीकाँध गाउँपालिकामा चुनाव हार्नुपर्ने अवस्था यिनै नेताहरुका कारण निम्तिएको आरोपसमेत लगाए ।
दैलेखबाट पोलिटब्युरो सदस्यमा पोखरेल, केन्द्रीय सदस्यमा विष्णु रिजाल, राजबहादुर बुढा, विनोद कुमार शाह र केन्द्रीय विभाग सदस्यमा चामुण्डाका पूर्व मेयर सुर्यबहादुर शाहीरहेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नम्बर एकबाट एमालेको केन्द्रीय सदस्यमा धर्मराज रेग्मी, सुर्या कुमारी श्रेष्ठ र मिनासिंह रखाल रहेका छन् ।
यता, यसविषयमा प्रतिक्रिया लिन खोज्दा इन्चार्ज पोखरेलको आवाज सुनिएन ।

जिल्ला अध्यक्ष सुर्यबहादुर शाहीले भने फोन उठाउन चाहेनन् ।

प्रतिनिधिको सार्वभौम अधिकार अपहरित भयोः नेता विष्ट
यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर एकका इन्चार्ज ठम्मर विष्टले महाधिवेशन प्रतिनिध छनौटमा प्रतिनिधिको सार्वभौम अधिकार अपहरित भएको प्रतिक्रिया दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमा कडा स्टाटस लेख्दै नेता विष्टले महाधिवेशनको सर्बोच्चतालाई लत्याउँदै प्रतिनिधिहरुको सार्वभौम अधिकार अपहरित हुनु दुखद परिघटना भएको प्रतिक्रिया दिएका हुन ।

‘कम्युनिष्ट पार्टीको महाधिबेशनको आफ्नै सर्बोच्चता र सार्वभौम नियमहरु हुन्छन तर खासगरी नेकपा ( एमाले) को यही मंसिर २७–२९ हुने महाधिवेशनको सन्दर्भमा सुर्खेत निर्बाचन क्षेत्र नं. १ मा प्रतिनिधी छनौटको प्रक्रियामा मर्यादित र ब्यबस्थित प्रक्रिया अबलम्बन गर्ने केन्द्र पार्टीले परीपत्र गरेको बिद्यमान पद्धतिलाई कुल्चेर अघि बढनु गम्भीर बिषय बनेको छ ।’ उनले भनेका छन्, ‘जे होस अन्ततः उम्मेदवारहरुको बिचमा सहमती नभैसके पछि सबै प्रतिनिधी उम्मेदवारहरुले सहजीकरण कार्यदललाई पुर्ण जिम्मेवारी प्रदान गर्दा गर्दै म आफै संयोजक रहेको कमिटीको संयोजक बिनै प्राबिधिक ढंगले बहुमतको दम्भबाट प्रस्तुत भै एकलौटि ढंगले हचुवाको भरमा प्रतिनिधि छनौट गर्नु हाम्रो बिधि र प्रणाली बिपरित मात्र छैन क्षेत्र नं. १ का कार्यकर्ता, समर्थक र शुभचिन्तकको भावना र मर्म बिपरित समेत छ ।’

उनले यस विषयमा नोट अफ डिसेन्ट लेखिसकेको बताए । ‘यध्यपि यो असंतुलित प्रक्रियामा मेरो नोट अफ डिसेन्ट समेत दर्ज भैसकेको छ । अब यो प्रकृयाबारे केन्द्रमा नै आवाज उठाउछु ।


सम्बन्धित समाचार