Loading... आजः ४ पुष २०८१, बिहीबार

काँग्रेस अधिवेशन प्रभावित पार्न एक हप्तामा ‘मुख्यमन्त्री फेरिने हल्ला’ प्रोपोगाण्डा मात्र 

पाँच वर्षसम्मै मुख्यमन्त्रीमा शाही नै कायम रहने दावी


सुर्खेत ।
एक साता अगाडी कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्बहादुर शाहीको सथानमा काँग्रेस नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने हल्ला विभिन्न मिडियामा आयो ।

उक्त हल्लालाई आधार मान्दै राष्ट्रिय स्तरका अनलाईन देखि स्थानीय पत्रपत्रकिा र रेडियोहरुमा जीवन शाही मुख्यमन्त्री बन्दै भन्ने शीर्षकमा समाचार प्रकाशित भए । कर्णाली सरकार फेरबदल हुने कुनै पनि हल्ला नचलिरहेको, एमाले विभाजन भइ समाजवादी पार्टीमा सनाखत गर्ने कार्य भइरहेको र काँग्रेसको वडाअधिवेशन चलिरहेको समयमा ‘प्रोपोगाण्डा’ फैलाउन आएको उक्त समाचार भाइरल नै बन्यो ।

धेरैले ती समाचारहरु प्रति विश्वास गरे । ती समाचारहरु यसरी आएका थिए, कि एक सातामै सरकार परिवर्तन हुने भन्दै लेखिएका थिए र त्यो एक साता पनि वितेको छ तर सरकारलाई भने यसबारेमा केहि पनि थाहा नै छैन ।

विभिन्न अनलाईन मिडियामा नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टको भनाईलाई उदृत गर्दै आगामी एक साता भित्रै मुख्यमन्त्री शाहीले राजीनामा दिने भनेर भनेको उल्लेख गरिएको छ । तर यसबारेमा तिनै प्रमुख सचेतकसँग नेपालप्रेससँग कुरा गर्दा काँग्रेससँग सहमति भएको तर अहिले नै सत्ता हस्तान्तरण गर्ने निर्णय भने भइनसकेको बताए । आफूले सरकार परिवर्तन हुने भन्ने विषयमा एक साता मै भनेर समय नतोकेको दाबी गर्दै विष्टले भने, ‘हिजो विश्वासको मत लिने बेलामा सहमति भएको छ । ढिलो चाँडो त्यो कार्यान्वयन हुन्छ होला भनेर भनेको हो ।’ उनले यो बारेमा केहि मिडियाले भ्रम फैलाएको समेत बताए ।

नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको सर्मथन फिर्ता लिएपछि वैशाख तीन गते विश्वासको मत लिएका थिए । काँग्रेससँगको सहमति र एमालेकै केहि सांसदले फ्लोर क्रस गरेर मत दिएका कारण १२ जना सांसद रहेको माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । त्यतिबेला मुख्यमन्त्री शाही र काँग्रेस नेता शाहीबीच आलोपालो मुख्यमन्त्री बन्ने ‘जेण्टलमेन्ट एग्रीमेन्ट’ भएको कुरा नेपालप्रेसले सार्वजनिक गरेको थियो ।

यसबारेमा मुख्यमन्त्री शाही र काँग्रेस नेता शाहीबीच लिखित सम्झौता गरेको भनेर प्रचार गरिएपनि अहिलेसम्म उक्त लिखित सम्झौता कहिँ कतै पनि सार्वजनिक भएको छैन । उक्त सम्झौता पत्र सार्वजनिक नभएका कारण ठ्याक्कै यहि दिन मुख्यमन्त्री फेरबदल हुन्छन भन्ने कुरा अफवाह मात्रै हो ।

तर मुख्यमन्त्री शाहीले भने काँग्रेस नेता शाहीसँग मुख्यमन्त्री छोडने बारेमा कुनैपनि सहमति नभएको दाबी गरेका छन् । ‘मुख्यमन्त्री पूर्ण कार्यकाल मैले नै चलाउने हो । यसबारेमा केहि पनि सम्झौता भएकै छैन । पाँचै वर्षका लागि मुख्यमन्त्री म नै हो ।’ उनले भनेका थिए ।

त्यसो हो भने, राजनीतिक चटारोका समयमा किन मुख्यमन्त्री शाही बन्दै भनेर समाचार सार्वजनिक भए त ? यसको नालीबेली पत्ता लगाउन नेपालप्रेसले मााओवादी र काँग्रेसका सांसादसँग कुरा गरेको छ तर ती सांसदहरुले आफ्नो नाम छाप्न नपाईने शर्तपनि तेस्र्याएका छन् । आवश्यक परेको खण्डमा ती सांसदहरुको नाम सार्वजनिक गर्न सकिनेछ ।

‘अहिले सरकार परिवर्तन भन्नु भनेको बेमौसमको वाजा मात्रै हो । यो काँग्रेस नेता शाहीले बजारमा हल्ला फिजाएको जस्तो मलाई लागेको छ । काँग्रेसमा वडाअधिवेशन चलिरहेको समयमा मुख्यमन्त्री बन्दै भन्ने समाचार प्रकाशित भएपछि हुम्ला लगायतका जिल्लामा आफ्नो पक्षका कार्यकर्तालाई सभापतिमा ल्याउन सकिने त्यसले काँग्रेस केन्द्रको राजनीतिमा आफ्नो पहुँच बढाउन भूमिका खेल्ने भएको कारण यस्तो भएको हो ।’ एक माओवादीका सांसद भन्छन्, ‘सरकार फेरबदल हुँदैन भन्ने होइन तर केन्द्रीय राजनीति नसल्टेसम्म यहाँ यस्ता हल्ला काँग्रेसले विभिन्न समयमा चलाईरहनेवाला छ । हेर्दै जानुहोला, मुख्यमन्त्री शाही नै पाँच वर्षे कार्यकाल पुरा गर्ने नेपालकै पहिलो मुख्यमन्त्री हुनेछन् ।’

ती सांसदले दाबी गरेअनुसार प्रमुख प्रतिपक्षी एमाले पनि काँग्रेस नेतृत्वको सरकार नबनोस भन्नेमा रहेको बताए ।

‘एमालेले पनि जीवन शाहीको नेतृत्वमा सरकार नबनोस भन्ने नै चाहेको छ ।’ ती सांसदले भने, ‘अहिले मिडियामा आएजस्तो मुख्यमन्त्री शाहीले तत्काल सत्ता छोडने भन्ने सवाल नै छैन । कात्तिक १६ गते पछि बरु सरकारका मन्त्रीहरु फेरबदल हुन्छन् ।’

कर्णालीको सरकार निरन्तरता दिन पछिल्लो समयमा माओवादीका शक्ति बस्नेत र जनार्दन शर्मा लागिपरेका छन् । यसमा माधव नेपालको समेत साथ रहेको अर्का माओवादी सांसदले बताए । ‘केृन्द्रमा शेरबहादुर देउवा, प्रचण्ड, नेपाल र यादवको गठबन्धन छ । एक्त गठबन्धनमध्ये प्रचण्ड, नेपाल र यादव यहि सरकारलाई निरन्तरता दिन चाहन्छन् । माधव नेपाल पछिल्लो समयमा मुख्यमन्त्री शाहीको पक्षमा अडान लिने नेताको रुपमा स्थापित भइसकेका छन् । कात्तिक १६ गतेपछि नेपालपक्षका तीन जना मध्ये दुइ जना मन्त्री बन्ने पक्का भईसकेको छ ।’

ती सांसदको भनाईलाई आधार मान्ने हो भने काँग्रेसले तत्काल नेतृत्व लिन चाहेपनि सम्भव भने देखिएको छैन । केन्द्रको सत्ता गठबन्धनले मुख्यमन्त्रीमा महेन्द्र शाहीलाई नै निरन्तरता दिने प्रवल सम्भावना छ । यदि त्यस्तो भएको खण्डमा काँग्रेस नेता जीवन शाहीको मुख्यमन्त्री बन्ने सपना अधुरै रहनेछ ।

नेपाली काँग्रेसका नेता एवम उर्जा एवम जलस्रोत मन्त्री दीनबन्धु श्रेष्ठले सरकार फेरबदल हुने भन्ने बारेमा जानकारी नपाएको बताए । ‘सरकार फेरबदल भन्ने कुरा थाहा भएन । हाम्रो दलका नेतालाई सोध्नुहोला ।’ उनले भने, ‘विश्वासको मत लिने समयमा आलोपालो मुख्यमन्त्री गर्ने सहमति भएको खबर भएको हो । त्यसबाहेक अन्य विषयमा मलाई केहि थाहा छैन ।’ उनले मुख्यमन्त्री सात दिनमा नै फेरिने भन्ने समाचार मिडियामा सुनेको बताए ।


सम्बन्धित समाचार