पाँच वर्ष अघि जनज्योतिले तय गरेको नारा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सरकारी नीतिमा समावेश
सुर्खेत ।
सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बराहताल गाउँपालिका वडा नं. ५ बड्डिचौरमा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा कृषि र भेटेनरी विषयको पढाई हुन्छ । यस विद्यालयमा विद्यार्थीहरु मात्र पढ्दैनन् आफै कृषि गर्छन र लाखौं आम्दानी पनि गर्दछन् ।
विद्यार्थीहरु विद्यालयको समयमा अध्ययनमा व्यस्त रहन्छन् बाँकी समय उनीहरुलाई आफ्नो इलम अर्थात कृषिमा भ्याइ नभ्याइ हुन्छ । जसले गर्दा विद्यार्थीको सिपमुलक तथा व्यवसायिक शिक्षामा विकास त हुन्छ नै अर्को तर्फ आम्दानी पनि, विद्यालयमा अध्ययनरत विद्यार्थी कसैले तरकारी खेती गरिरहेका छन् त कतीले कुखुरा, बंगुर र माछापालन गरिरहेका छन् । उदाहरणिय यस विद्यालयलयले पाँच वर्षअघि तय गरेको नारा सरकारी नारा बनेको छ । विद्यालयले पाँच वर्षदेखि लागु गर्दै आएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ सरकारको नीतिमा समावेश भएको हो ।
सरकारले शुक्रबार ल्याएको प्रतिस्थापन बजेट विधेयकमा देशका सातै प्रदेशका केही नमूना विद्यालयमा यो कार्यक्रम लागु गरिने समेटिएको छ । बजेटको ४१ नं. बुदामा प्राविधिक विद्यामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने उल्लेख गरिएको छ । जनज्योतिले तय गरेको नाराबाट हालसम्म चार सय बढी विद्यार्थीहरु पढ्दै कमाउँदै कार्यक्रमबाट लाभान्वित बनिसकेका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ मा कर्णाली सरकारले समेत विद्यालयले थालनी गरेको कार्य उत्कृष्ट रहेको भन्दै अनुदान दिएको थियो । ‘हामीले विद्यार्थीहरुलाई पढ्दै कमाउँदै कार्यक्रम थालेपनि सरकारले नीतिमा समावेश गर्नु सवल पक्ष हो,’ विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले भने, ‘अब नीतिगत रुपमै सरकारले समेटेको छ । देशभरका विद्यालयहरुमा यो कार्यक्रम लागु भयो नयाँ युवापिढी बरोजगार बन्दैनन् ।
१२ कक्षा उत्र्तिण गरे लगत्तै उनीहरु स्वरोजगार बन्नमा टेवा पुग्ने छ ।’ जनज्योति विद्यालयले प्राविधिक शिक्षा लिन आउने विद्यार्थीहरुलाई ऋण दिएर विद्यालयकै जग्गामा बाख्रा, कुखुरा, बंगुर, माछा पालन, तरकारी खेती, अन्य मौसमी खेती गरिरहेका छन् ।
पहिलोप्रेस
२९ भाद्र २०७८, मंगलवार १५:४०