Loading... आजः ४ पुष २०८१, बिहीबार

फागुन दोश्रो साता हुने राष्ट्रिय सभाको चुनावमा मतका हिसाबले माओवादी पहिलो दल, एमाले दोश्रोमा झ¥यो

सुर्खेत ।
कर्णाली प्रदेशमा नेकपा एमाले विभाजनको असर परेको कुरा आगामी फागुनमा हुने राष्ट्रिय सभाको निर्वाचनले पुष्टि गर्ने भएको छ । आगामी फागुन १८ गते कर्णालीका तीन जना राष्ट्रिय सभा सदस्यको पदावधी सकिने लागेको छ । यी तिनै जनाको पदावधी फागुन २० गते सकिनेछ भने यी तिनै स्थानका लागि फागुनको १४ वा १५ मा चुनाव हुने भएको छ ।

नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एकीकृत समावजादी गठन भएसँगै कर्णालीमा एमालेको मतभार बाँडिन पुगेको हो । एमालेले कर्णालीका ७९ ओटा पालिका मध्ये २९ ओटामा मात्रै जीत हासिल गरेको थियो । स्थानीय तहको निर्वाचनमा काँग्रेसले २५ र माओवादी २५ स्थानीय तहमा जित हात पारेका थिए । एमाले विभाजन भएपछि कर्णालीमा राष्ट्रिय सभाको मतका हिसाबले माओवादी पहिलो दल बन्न पुगेको छ ।

चालीस सदस्य रहेको कर्णाली प्रदेश सभामा एमाले एक्लैको २० सांसद रहेका थिए तर अहिले भने जम्मा १३ जना मात्रै सांसदको एमालेलाई साथ रहेको छ । नेकपा एसमा तीन साँसद प्रवेश गरेका छन भने चार जना सांसदको पद यसअघि नै गइसकेको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख, उपप्रमुख एवम प्रदेश सभाका सदस्यहरुसँग हुन्छ । कर्णालीबाट राष्ट्रिय सभामा हाल प्रतिनिधित्व गरिरहेका तीन जना सांसदहरुको पदावधी आगामी फागुनमा सकिदैछ ।

एमाले फूटका कारण तीन जना प्रदेश सभा सदस्य देवि ओली, पदम रोकाया र चन्द्रबहादुर शाही समाजवादीमा लागेका छन् । चुनावमा एक सांसद बराबर ४८ मतभार हुन्छ । तीन जना सांसद बराबर १४४ मतभार हुन जान्छ ।

स्थानीय तहका प्रमुख उपप्रमुख मध्ये नयाँ दलमा एमालेबाटै १३ जना गएका छन् । सल्यानबाट एक अध्यक्ष, एक उपाध्यक्ष एस पार्टीमा जाँदा दैलेखबाट दुइ अध्यक्ष, दुई उपाध्याक्ष र एक उपप्रमुख नयाँ दलमा गएका छन् ।

कालिकोटबाट दुइ अध्यक्ष, एक उपप्रमुख र एक उपाध्यक्ष एसपार्टीमा जाँदा डोल्पाबाट एक नगरप्रमुख नयाँ पार्टीमा गएका छन् । मुगुबाट एक उपाध्यक्ष गरी जम्मा १३ जनाले एमाले त्यागेका छन् ।

स्थानीय तहका पदाधिकारीको मतभार १८ हुन्छ । यसरी हिसाब गर्दा १३ जनाको मताभार २३४ हुन्छ । प्रदेश सभाको १४४ मतभार यसमा जोडदा ३७८ हुन्छ ।

तीन ओटा राजनीतिक दल एकल रुपमा चुनाव लडेको समयमा एमाले विजय हुने अवस्था रहेको कर्णालीमा पार्टी विभाजनले भने नोक्सान गराएको छ ।

समाजवादी पार्टी नबनेको अवस्थामा एमालेसँग ५८ ओटा पालिकाका पदाधिकारी थिए । त्यो भनेको १ हजार ४४ मत हो । त्यसबाट अब दुइ सय ३४ मत घटाउँदा ८१० मत एमालेको हुन्छ । यस्तै, प्रदेश सभामा एमालेका १३ जना मात्रै बाँकी छन् । त्यो भनेको ६२४ मत हो । एमालेसँग राष्ट्रिय सभाका लागि चुनाव हुँदा कुल १४३४ मत मात्रै हुन्छ ।

यता, माओवादी केन्द्रसँग पालिकामा ५२ पदाधिकारी छन भने प्रदेश सभामा १२ सांसद रहेका छन् । राष्ट्रिय सभाको निर्वाचन भएको खण्डमा माओवादीमा पालिकाबाट ९३६ र सांसदबाट ५७६ मत प्राप्त हुन्छ । यो भनेको १५१२ मत हो । माओवादी केन्द्र यसअघि मतका हिसाबले दोश्रो ठूलो दल भएपनि एमाले विभाजनपछि भने पहिलो दल बन्न पुगेको छ । एमाले भन्दा माओवादीको ७८ मत बढि छ ।

नेपाली काँग्रेस सँग पालिका प्रमुख उपप्रमुखको ७२० मत छ भने ६ सांसदको ४८ का दरले २८८ हुन्छ । दुवै जोडदा काँग्रेससँग राष्ट्रिय सभाको लागि १ हजार आठ मत छ ।

यसरी हेर्दा राष्ट्रिय सभाको निर्वाचनमा एमालेले जित्नकालागि गठबन्धन गर्नपर्ने अवस्था आएको छ । गठबन्धन विना एमालेले विजय प्राप्त गर्न समस्या देखिएको हो ।

आगामी फागनु भित्र पदावधी सकिने कर्णालीका तीन जना सांसदहरु रहेका छन् । रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (हाल समाजवादी), हुम्लाका कविता वोगटी (एमाले) र कालिकोटका जीवन बुढा ( माओवादी)को पदावधी सकिने लागेको हो ।


सम्बन्धित समाचार