एमयूमा प्राविधिक विद्यार्थीको रोजाई अनलाईन परीक्षा, दुइ तिहाईले भौतिक परीक्षा दिदैं
सुर्खेत ।
कर्णाली प्रदेशमा रहेको एकमात्र विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालयमा राजनीतिक एजेण्डा फेल भएको छ । केहि विद्यार्थीहरुले लामो समय अनलाईन परीक्षा हुनुपर्ने र सबै विद्यार्थीको माग पनि अनलाईन नै भएको भन्दै आन्दोलन गरेका थिए ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको निवासमा तोडफोड गर्ने देखि गाडीमा बन्चरो समेत प्रहार गरेका विद्यार्थी संगठनका नेताहरुको विपक्षमा विद्यार्थीहरु फिजिकल परिक्षा दिएर उभिएका छन् । विश्वविद्यालयमा हुने राजनीतिक एजेण्डा भन्दा विद्यार्थीहरुका चाहना र माग महत्वपूर्ण रहेछ भन्ने सन्देश विद्यार्थीका नेताहरुलाई दिएको छ ।
विश्वविद्यालयको विभिन्न तहमा हाल ६ हजार तीन सय ९७ जना अध्ययनरत रहेका छन् । अनलाईन परीक्षा वा फिजीकल परीक्षा भनेर रोज्न विश्वविद्यालयले दिएको समयसिमामा जम्मा दुइ हजार ९७ जनाले मात्रै आवेदन दिएका छन् भने ती मध्ये पनि अधिकांशले फिजिकल रुपमै परीक्षा दिइरहेको विश्वविद्यालय स्रोतले बताएको छ ।
‘अनलाईन परीक्षाको फारम अधिकांश इन्जिनियङ्गि र विज्ञान संकायका विद्यार्थीहरुले मात्रै भरेको पाइएको छ ।’ विश्वविद्यालय स्रोत भन्छ, ‘अन्य संकायका ९० प्रतिशत भन्दा बढि विद्यार्थीहरुले फिजिकल परीक्षा दिन सुरु गरेका छन् । यो भनेको विद्यार्थी नेताहरुको माग एकातिर, विद्यार्थीको माग अर्कैतिर भए जस्तै हो ।’
विश्वविद्यालयमा अनलाईन परीक्षा नलिने भन्दै उपकुलपति प्रा. डा. सिंहको अडानले सफलता पाएको विद्यार्थीहरु बताउँछन् । ‘केहि विद्याथीहरुले आन्दोलनका नाममा हाम्रो सुमय वर्वाद मात्रै गरेका हुन । हालसम्म हाम्रो परीक्षा भएर अपग्रेड भइसक्थ्यौं ।’ एमयूमा विएमा अध्ययनरत लक्ष्मण विष्टले् भने, ‘राजनीतिक स्वार्थ भन्दा पनि उज्यालो भविष्यका लागि परीक्षा दिने हो । अनलाईन भनेर पास भइदैमा दक्षता नआउने भएका कारण हामी अधिकांश साथीहरु फिजिकल परीक्षा दिइरहेका हौं ।’
राजनीतिक दलका संगठनहरुले विद्यार्थीको पक्षमा भन्दा पनि आफ्नो दलगत स्वार्थमा आन्दोलन गर्दा आफुहरुको समय वर्वाद भएको ती विद्यार्थीको भनाई थियो ।
उपकुलपति प्रा.डा. सिंहले भने दुइ तिहाई भन्दा बढि विद्यार्थीहरु फिजिकल रुपमा परीक्षा दिन आउनु भनेको आफुहरुको अडान सहि भएको रुपमा अथ्र्याए ।
‘हामीले विद्यार्थीहरुका मागहरु सम्वोधन गरेका छौं ।अनलाइन वा फिजिकल भनेर छान्ने जिम्मा विद्यार्थीलाई नै दिएका हौं । अनलाईन परीक्षा भन्दा पनि फिजिकल परीक्षा नै लिने हाम्रो अडान थियो ।’ हाल काठमाडौंमा रहेका प्रा.डा. सिंहले भने, ‘विद्यार्थीहरु फिजिकल रुपमै परीक्षा दिन आइरहेका छन् । बाँकी कुरा आफै बुझ्नुस ।’
पहिलोप्रेस
३१ भाद्र २०७८, बिहीबार २०:१७