फेरि विवादमा कर्णालीका कृषिमन्त्री
सुर्खेत ।
आफ्नै स्वकीय सचिवकी श्रीमतिमाथी यौन क्रियाकलाप गरेको भिडियो बाहिरिएपछि सामाजिक संजाल लगायत आमजनमासमा विवादको शिखरमा पुगेका कणर्ाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही फेरि अर्को विवादमा तानिएका छन् । शाही एक अर्की महिलासँग जोडिएर विवादमा तानिएका छन् । स्वकीय सचिवकी श्रीमतीसँग जबरजस्ती करणी आरोपपछि उनको यौन भिडियो नै सार्वजनिक भएको थियो ।
त्यसको केही साता नबित्दै कालीकोटकै एक गाउँपालिकाकी उपाध्यक्षको ‘टिकटक’ भिडियोले पुनः मन्त्री शाही शंकाको घेरामा परेका छन् । बिहीबार बिहानै कालीकोटको शुभकालीका गाउँपालिका उपाध्यक्ष पम्फा शाहीले टिकटकमा अपलोट गरेको भिडियोले मन्त्री शाही र उनीबीचको सम्बन्ध के हो भनेर शंकामा पारेको हो । आफ्नै अकाउन्टबाट उपाध्यक्ष शाहीले राखेको भिडियोमा कृषिमन्त्री शाहीको तस्वीर छ ।
ब्याग्राउन्डमा ‘यो मुटुको धड्कन हौ तिमी, मैले फेर्ने हर सासमा छौ तिमी’ बोलको गित राखिएको छ । एउटा पुलको रेलिङमा उभिएका शाहीको उक्त तस्वीर, ब्याग्राउन्डमा राखिएको गीत र उपाध्यक्ष शाहीले आफ्नै अकाउन्टबाट पोस्ट गरेपछि अहिले दुई बीचको सम्बन्धबारे चर्चा सुरु भएको छ । उसो त मन्त्री शाही आफ्नै यौन भिडियो नै सार्वजनिक हुँदा पनि निर्धक्कसँग बिना संकोच कुर्सीमा विराजमान छन् । पम्फाले भिडियो पोस्ट गरेपछि त्यसमा विभिन्न प्रतिक्रियाहरु आएका थिए । आलोचना सुरु भएपछि उनले उक्त भिडियो हटाएकी छन् ।
कालीकोटमै पनि उनीहरुबीच अवैध सम्बन्ध भएको चर्चा चल्ने गरेको थियो । पम्फाले भने आफ्नो मोबाइलमा भएको मन्त्री शाहीको फोटोलाई गीतमा प्रयोग गरेर छोराछोरीले पोस्ट गरेको बताएकी छिन् ।
उनले आफूले टिकटक चलाउनसम्म नजानेको दावी गरेकी छिन् । तर, उनको अकाउन्टमा केही आफैंले अभिनय गरेका भिडियोहरुसमेत पोस्ट गरिएका छन् । छोराछोरीले हालिदिएको र पछि आफूले थाह पाएपछि हटाउन लगाएको उनको भनाइ छ । कृषिमन्त्री शाहीको घर कालीकोट सदरमुकाम मान्ममा रहेको छ । उनको घरमा उनै पम्फाको परिवार बस्छन् । मन्त्री शाही भने मन्त्रालयको क्वार्टरमै बस्छन् । उनकी पत्नी भने शुभकालिका गाउँपालिकाकै पुरानो घरमा बस्छिन् ।
आफ्नी पत्नीलाई पुरानो घरमा राखेर सदरमुकामको घरमा गाउँपालिका उपाध्यक्षको परिवारलाई राखेको भन्दै परिवारभित्रै केही समयअघि विवादसमेत उत्पन्न भएको थियो । उपाध्यक्ष पम्फाको परिवार मन्त्री शाहीको सदरमुकामको घरमा विगत चार वर्षदेखि बस्दै आएका छन् ।
टिकटक आएपछि मात्रै होइन । मन्त्री शाही र उपाध्यक्ष पम्फाबीच पहिल्यैदेखि सम्बन्ध रहेको पनि चर्चा चल्दै आएको थियो । उनले आफू र मन्त्रीबीचमा बुहारी-ससुराको जस्तो सम्बन्ध रहेको दावी गरेकी छिन् । तर, स्रोतका अनुसार कुर्मराज शाहीको परिवारमा यही सम्बन्धलाई लिएर पटक-पटक विवाद हुने गरेको छ । मन्त्री शाहीले त्यसललाई वेवास्ता गर्दै आए पनि उपाध्यक्षले भने आफूहरुबीच त्यस्तो कुनै सम्बन्ध नभएको भन्दै देवताको मूर्ति छुने गरेकी छिन् ।
उनले पनि यौन प्रकरणपछि मन्त्रीका पूर्व स्वकीय सचिवले आफूहरुविरुद्ध हल्ला फैलाएको आरोप लगाएकी छिन् । उपाध्यक्ष शाहीका पति शिक्षक हुन भने उनीहरुका दुई सन्तान छन् । अहिले टिकटकमा मन्त्री शाहीको फोटो राखिए पनि यो सम्बन्धबारे गत असारमै चर्चा चलेको थियो । उपाध्यक्ष र मन्त्रीबीच अवैध सम्बन्ध रहेको चर्चा फैलिएपछि उपाध्यक्ष शाहीले आफूहरुबीच सम्बन्ध नरहेको पुष्टि गर्न स्थानीय देवताको मूर्ति छोएर कसम पनि खाएकी थिइन् ।
मन्त्री शाहीलाई केही वर्षअघि कालीकोटकै कांग्रेस नेतृसँग पनि जोडेर चर्चा गरिएको थियो । पछि उक्त घटनालाई गुपचुपमै मिलाएको उनीनिकट नेताहरु बताउँछन् । अहिलेसम्म पनि उनको यौन प्रकरणको घटना सेलाएको छैन । चौतर्फी आलोचना हुँदा पनि प्रदेश सरकारले उनलाई कारबाही गर्न सकेको छैन । अघिल्लोपटक यौन भिडियोमा आफू नै भएको दावी गरे तर उक्त भिडियो फसाउनका लागि बनाइएको भन्दै टारिदिएका थिए । अब टिकटकका बारेमा कुन जवाफ दिन्छन् त्यो हेर्न बाँकी छ ।
पहिलोप्रेस
१ आश्विन २०७८, शुक्रबार ०९:३६