कर्णालीमा वर्तमान सरकारकै निरन्तरता दिन्छौं: उपमहासचिव ज्वाला
सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नवनियुक्त उपमहासचिव प्रकाश ज्वालाले वर्तमान कर्णाली सरकारकै निरन्तरता आफ्नो दलले चाहेको बताएका छन् । अहिले पनि समाजवादी पार्टी कर्णालीमा सरकारमै रहेको बताउँदै उनले कात्तिक १५ गतेपछि पनि सरकारलाई निरन्तरता दिइने बताए ।
‘हामी अहिलेपनि सरकारमै सहभागी छौं । यसै सरकारलाई निरन्तरता दिएर हामी अघि बढछौं ।’ ज्वालाले भने, ‘तर कसकसलाई मन्त्री बनाउने् भन्ने बारेमा अहिले कुनै निर्णय गरिसकेका छैनौं ।’
कर्णाली प्रदेश सरकारमा फ्लोर क्रस गरेका तीन जना अहिले पनि मन्त्री छन् ।
वैशाख १५ गते स्वतन्त्र हैसियतमा सपथ लिएका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको कार्यकाल कात्तिक १५ गते सकिदैछ ।
तीनै जनाको संवैधानिक रुपमा नै समयावधी सकिने भएपछि समाजवादी दलमा आवद्ध भएका चन्द्बहादुर शाही, देवि ओली र पदम रोकाया मध्येबाट नयाँ मन्त्री चयन हुने छन् ।
यसैबीच, नेकपा एकीकृत समाजवादीको उपमहासचिवमा प्रकाश ज्वाला नियुक्त भएका छन् । जारी केन्द्रीय समितिको वैठकले उनलाई उपमहासचिवमा नियुक्त गरेको हो । यसका अलावा कर्णालीबाट केन्द्रीय सदस्य बनेका मुगुका चन्द्रबहादुर शाही, डोल्पाका हंशबहादुर शाही र रुकुम पश्चिमका शेरबहादुर केसी पोलिटव्यूरो सदस्य बनेका छन् । केन्द्रीय समितिका सदस्यहरुको हकमा स्थायी कमिटिको बैठकले टुंगो लगाउने उपमहासचिव ज्वालाले बताए ।
‘केन्द्रीय सदस्यहरुको हकमा भोली बस्ने स्थायी कमिटिको वैठकले आवश्यक निर्णय गर्ने छ । जम्मा ३०१ सदस्यीय केन्द्रीय कमिटि निर्माण गर्ने भएका छौं ।’ उनले भने, ‘केन्द्रीय कमिटिले पूर्णता पाएपछि जिम्मेवारी दिइने र पार्टी निर्माण अभियानमा त्यसपछि लागिनेछ ।’
पहिलोप्रेस
७ आश्विन २०७८, बिहीबार १८:२८