Loading... आजः ४ पुष २०८१, बिहीबार

पोखरा अनि म…

साथीहरुले पोखराको चिनो लैजाउ भनेर सामान किन्दै थिए । मैले पनि केही सामान किने । यात्रामा सबैभन्दा रमाईलो र मिलनसार निराजन भाई थियो । हाँसो लाग्दो कुरा के भने सामान किन्नेक्रममा मैले मोवाइल बोक्ने कभर किन्न खोजिरहेको थिए । सायद त्यो लेडिजहरुले प्रयोग गर्ने खालको झोला हो । तर त्यो भाईले मलाई लैजानुस् न मिलाएर बोके केही फरक पर्दैन भनेर लेडिजले बोक्ने झोला किन्न लगायो । पछि अरु साथीहरुसँग भेट्दा उनीहरुले मलाई हाँसोमा खुब उडाए ।

 

बाँके । गितकार प्रेम प्रकाश मल्लले पहिलो पटक पोखरा पुग्दा पोखरालाई गितका लाइनमा व्याख्या गर्दै भनेका थिए ।

माछापुछ्रे फेवातालमा पौडी खेल्दो रैछ ।
पोखरा त साच्चिकै को पोखरा नै रैछ ।।
हिमाललाई अंगालोमा भरु जस्तो लाग्ने ।
आफूलाई आत्मसात गरु जस्तो लाग्ने ।
भावना यो हिमाल जस्तै पग्लि दिदा खेरि ।
मान्छे हिमाल हिमाल मान्छे भई दिदो रैछ ।।

सायद यि गीतका लाइनहरु त्यसै कोरिएका रहेन छन् । यस गीतमा कुनै बनावटी र कल्पना गरिएको छैन । गरिएको छ त यथार्थ नितान्त पोखराको चरित्र । पोखरा भन्ने वित्तिकै जाउँ जाउँ नलाग्ने कस्लाई पो होला र ? आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा रोजाईको प्रथम विन्दुमा पर्दछ । बाल्यकालदेखि कितावमा पढ्दै र सुन्दै आएको मेरो रहरको शहर थियो पोखरा । देशका ७७ वटा जिल्लामध्ये ५० बढि जिल्ला घुम्ने अवसर पाएको म पोखराको यात्रा भने जीवनमा धेरै पटक तय गरेर पनि पुग्न नसकेको शहरका रुपमा मैले लिने गरेको थिए । यसैक्रममा अप्रत्यासि मेरो यात्राको गन्तव्य बन्न पुग्यो पोखरा ।

धेरै पटक शुभ साइत जुराएर पोखरा जाने रहर मनमा पालेको म यस पालि भने रहरको शहर पोखरा पुग्न सफल भए । त्यो दिन (२०७८ मंसिर १६) अर्थात पहिलो पटक पोखराको लागि अफिसद्वारा रिजर्व गरिएको गाडिभित्र पसेको दिन सायद मैले आफैलाई आफूभित्र कति हर्षित भएको थिए त्यो क्षण शब्दमा व्यक्त गर्न त कहाँ सकिएला र ? त्यो रात करिव बेलुकीको ८ बजे हाम्रो यात्रा पोखराका लागि बाँकेको कोहलपुरबाट सुरु भयो ।

म लगायत मेरो अफिस नेशनल प्रिन्टिङ्ग प्रेसका १९ जना यात्री लिएर फोर्स गाडी पोखरा हानियो । सम्झन लाएक यात्रामा समावेश रंगिला तथा मिलनसार कर्मचारी सर म्याडमका साथ सुरु भएको यात्रा फलदायी बन्न पुग्यो । गाडिमा यात्रा गर्दा मनमा हजारौं जिज्ञाशा उत्पन्न भइरहेका थिए । अरुको मुखबाट सुनेको अनि किताबमा पढेको पोखरा साच्चिकै कस्तो होला ? अनेकौ जिज्ञाशा माझ यात्रामा समावेश हुँदै गर्दा विस्तारै विस्तारै धैर्यताका बाधहरु फुट्ने र बास्तविक पोखरालाई आफ्नै आँखाले नियाल्ने सौभाग्य प्राप्त हुँदै थियो । आफ्नै गतिमा सयौं किलोमिटर, हजारौं घुम्ती छिचोल्दै हामी सवार गाडीले पोखरालाई चुम्योे ।

पहिलो पटक आएको हुँदा गुगल म्यापबाट पोखराको अवलोकन गरेको मैले सबै कुराको जानकारी भने खासै राखेको थिएन । पुन निर्माण भएरहेको सडकका कारण भने यात्रामा अलि असहज भएको महशुस भइरहेको थियो । पोखरालाई हेर्ने लाखौ रहर पालेको म जब पहिलो पटक पोखरामा पाइला राखे सायद त्यो क्षण मैले आफैले आफैलाई भुलेकी जस्तो आवाश भइ रहेको थियो ।

वरीपरी चारैतिर हरियाली डाँडा, उत्तरमा सेतो हिमाल चिसो वातावरण आहाँ त्यतिबेला मैले सोचे सायद स्वर्ग नै पोखरा पो हो की ? डेभिड फल्स, महेन्द्र गुफा अझ बढि फेवाताल पुगरे डुङ्गामा सयर गर्दै फेसबुक तथा टिकटकमा फेवातालमा साईली डुङ्गा सरर… भनेर पोष्ट गर्ने मेरो रहर पुरा हुँदै गर्दा हामी सवार गाडी पोखरा विमानस्थल हुँदै बसपार्क पुग्यो । एरपोर्टको छेउमै बाटो भएका कारण हवाई जहाजहरु नजिकबाट नियाल्ने अवसर प्राप्त हुने रहेछ । लाग्थ्यो हवाई जहाज मसँगै ठोक्किन आउँँदै छ । पर्यटकिय दृष्टिकोणले महत्वपूणर् यो स्थानका सडक पेटीहरु व्यवस्थित भएपनि बसपार्कको संरचनाले भने पोखराको सभ्यतालाई गिज्याई रहेको भान भयो । पानी परेको कारण हिलाम्य बसपार्क पैदल यात्रीलाई यात्रा गर्न निकै कष्टकर भइरहेको दृशयहरु यत्रतत्र छताछुल्ल देखिन्थे ।

बसपार्क व्यवस्थापनमा भएको लापरवाही भने पोखराका लागि सुहाउँदो नभएको मेरो बुझाई हो ।

दैनिक हजारौं गाडि आवत जावत गर्ने शहरको प्रखुख बसपार्कको यस्तो हालत हुनु पक्कै पनि जिम्मेवार निकायको चरलम लापरवाही नै हो । अव्यवस्थित बजारी करणका कारण सुन्दर नगरी पोखराका लागि बसपार्क भद्धा भएको महशुस मनमा भई रहेको थियो । प्रस्थान अघि नै घुम्ने सेडुल बनाइएकाले हाम्रो पहिलो सेडुलमा डिभिड फल्स (पातले छाँगा) परेको थियो ।

हामी सवार गाडी बसपार्क पुग्यो रात भरको यात्राले थकित बनेका हामी थकाईलाई थाति राख्दै बसबाट झरेर होटलतर्फ हानियौं । होटल पुेगर फ्रेस भएपछि खाना खाई ओरी यात्रा डेभिड फल्स तिर लम्कियो ।

बाल्यकालमा डेभिड फल्सको बारेमा एक डेभिड नाम गरेका विदेशी नागरिक यो छाँगामा खसेर मरेपछि यसको नाम डेभिड फल्स रहन गएको हो भन्ने सुनेको थिए । आखिर के हो यो यसका बारेमा जान्नका लागि आतुर म बिस्तारै आफ्नै आँखाले अवलोकन गर्न गेट प्रवेश गर्दै थिए ।

खुशि मुद्रामा रहेका मेरा साथीहरु कोही सेल्फी लिदै थिए त कोही क्यामेराबाट फोटो । म भने त्यो स्थानमा पुग्नका लागि बेग्र आतुर थिए । केही समय लाइनमा बसेपछि मेरो त्यो इच्छ पनि पुरा भयो ।

जब डेभिड फल्स हेर्नका लागि गेटभित्र प्रवेश गरियो सायद मैले पहिलो पटक स्वर्ग अनुभव गर्न पाए । मौलिक शैलिमा निर्माण गरिएको बगैचा, हिमाल तथा पहाडहरुको आवरणले मेरो मनै लोभ्यायो । लाग्थ्यो सायद अब म यो स्थान छाडेर कहि अन्त जाने छैन् । यही रहने छु, यही रमाउने छु, कही जाने छैन ।

जसरी यहाँ कोरिएका अमुर्त तस्वीरहरु विना हिचकिचावट मै अघि उभिरहेका थिए लाग्छ म पनि यसै गरी उभिरहु । केही समय हामी यही रह्यो हजारौं मान्छेहरु अवलोकन गरि रहेका थिए । फरक परिवेशका मान्छेहरु देख्न सकिन्थ्यो ।

हेर्दै मन लोभ्याउने केटीहरुको जमात पनि कम थिएन । यस स्थानको विशेष महत्व चाँहि झरना रहेछ । छाँगाबाट पानी झरेको तर अलि यता आउँदा पानीको आवाज आउने तर पानी नदेखिने रहेछ । समय छोटो भएका कारण केही समय अवलोकन पश्चात हामि डेभिडबाट बाहिर निस्कियौं ।

साथीहरुले पोखराको चिनो लैजाउ भनेर सामान किन्दै थिए । मैले पनि केही सामान किने । यात्रामा सबैभन्दा रमाईलो र मिलनसार निराजन भाई थियो । हाँसो लाग्दो कुरा के भने सामान किन्नेक्रममा मैले मोवाइल बोक्ने कभर किन्न खोजिरहेको थिए । सायद त्यो लेडिजहरुले प्रयोग गर्ने खालको झोला हो ।

तर त्यो भाईले मलाई लैजानुस् न मिलाएर बोके केही फरक पर्दैन भनेर लेडिजले बोक्ने झोला किन्न लगायो । पछि अरु साथीहरुसँग भेट्दा उनीहरुले मलाई हाँसोमा खुब उडाए । पोखरा भ्रमण सुरु भएदेखि अन्त्य नहुन जेलसम्म भाई निराजनले कुनै समय बोरिङ्ग फिल हुन दिएन । जितु,महाविर, रामु दाई, नारायण दाई, नोखराज दाई, नैना, लक्ष्मी, ठुलदिदी लगायतका मिलनसार अनि रमाईला मान्छेका कारण यात्रा अविस्मरणीय हुन गयो । यात्राको दोस्रो सेडुलमा गुप्तेश्वर महादेवको मन्दिर थियो ।

सायद यस्तो विचित्र ठाउँ मैले आजसम्म कतै देखेको थिइन जो त्यहाँ देखे । बाहिरबाट हेर्दा असामान्य लाग्ने त्यो गुफा भित्र पुग्दा अचम्म लाग्दो रहेछ । करिव १०० मिटर जमिनमुनि कडा चट्टानको बिचमा बनेको सुरुङ्ग । आचर्य मान्दै अवलोकनमा सरिक भइयो । गुफा बाट बाहिर निस्कदा मैले केही फरक अनुभुति गरे ।

लाग्छ यो ठाउँ भगवान बस्ने महासंग्राम नै रहेछ । धार्मिक दृष्टिकोणले पनि यो स्थान महत्वपूण मानिने रहेछ ।

गुफाभित्र ठाउँठाउँमा भगवान शिवको मन्दिर स्थापना गरिएको रहेछ । गुफाको अन्तिम स्थानमा पुग्दा पानी झरेको आवाज आइरहेको थियो । सायद त्यहि डेभिड फल्सबाट आएको पानि यो गुफा भएर बग्ने भएका कारण आएको हो । हेर्दा नदेखिने तर प्रस्ट पानी बगेको सुन्न सकिन्थ्यो । गुफामा प्रवेश गर्ने मुख्यद्वारमा मौलिक शैलीमा भगवानहरुका प्रतिमा कोरिएका थिए । जसले जो कोहीको पनि ध्यान खिच्न सफल भइ रहेक थिए । स्वदेशी तथा विदेशी आगन्तुकहरुको भीडका कारण भित्र जाँदा र निस्कदा भने केही असहज भइ रहेको थियो ।

गुप्तेश्वर महादेवको गुफा अवलोकन पश्चात हाम्रो यात्रा फेवातालतर्फ अगाडि बढ्यो । फरक परिवेश, वातावरण रमणिय स्थानहरुसँग मित लगाउँदै अगाडि बढेको म जब फेवातालको आगनिमा पाइला पर्‍यो तब मलाई माथि उल्लेखित गीतले बारम्बार झस्काई रहयो । साच्चै गीतमा भनिए जस्तै माछापुच्छे्र हिमाल त फेवातालमै पौडि खेल्ने रहेछ । अलिक साँझको समय भएका कारण ताल वरपरका बस्तीहरुमा झिलिमिल बलेका बत्तिका कारण ताल झनै सिंगारिएकी दुलही जस्तै देखिन्थ्यो ।

आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ फेवातालमा कोही डुङ्गा चढ्न आतुर थिए । कोही फोटो तथा सेल्फी खिच्दै डुङ्गा सयर गर्दै थिए । भिड धेरै भएका कारण हामी केही समय तालको किनारमा फोटो खिच्दै रमाइलो गर्दै बितायौं । केही समयको प्रतिक्षा पछि डुङ्गामा सयर गर्ने मेरो बेग्र प्रतिक्षा पुरा भयो ।

एकपटकमा सात जनामात्र यात्रा गर्न मिल्ने रहेछ सोही अनुरुप साथीहरु फरक फरक डुङ्गामा गए । जब डुङ्गा तालबाराही मन्दिरलाई स्पर्स गर्दै थियो तब ताल वरीपरीका दृश्य यती सुन्दर देखिए सायद मनै प्रफुल्ल बनाउने त्यस्ता दृश्य जीवनमा कमै मात्र अवलोकन गर्न पाईन्छ । जीवन जिउनु ठुलो कुरा होइन ।

ठुलो हो त आफैले आफैलाई खुशी राख्न सायद जीवनमा पहिलो पटक मैले आफैलाई आफैले भरपुर खुशी राखेको क्षण नै यहि थियो । सभ्य संस्कार, मनै लोभ्याउने संस्कृति, अनुहार जस्तै व्यवहार राम्रा भएका मानिसहरु भेटिने ठाउँका रुपमा पोखरालाई मैले लिएको छु । डुङ्गा सयर गर्दा डुङ्गा चलाउने व्यक्तिहरुको रुखोपनाले भने मन खिन्न हुन पुग्यो । लाग्छ उनीहरु आफूभन्दा अरु कोही होइनन् भनेर आफूलाई प्रस्तुत गर्न खोजेको जस्तो उनिहरुको व्यवहारले प्रष्ट देखाइ रहेको थियो ।

तालबारही मन्दिर परिसरमा म केही समय रहे त्याहाँ रहदा मैले फोटो भिडियो र मन्दिरको बारेमा लेखिएका शिलालेखहरुको अवलोकन गरे । वरीपरी आँखाले हेरेर भ्याउन नसकिने तालको बिचमा रहेको आश्चर्यजनक यो मन्दिर धार्मिक र सांस्कृतिक धरोहर पनि हो । मन्दिरको अवलोकन पश्चात फेरी डुङ्गा चढेर तालको किनार मा फर्किए । त्यसताका नारायण दाई, नोखराज दाई साथमा हुनुहुन्थ्यो हामी गफिदै किनारतर्फ फर्कदै थियो ।

अर्को डुङ्गामा निराजन भाई थियो । उसले बोकेको क्यामेराबाट सुन्दर फेवाताललाई हाम्रो पृष्ठभुमिमा राख्दै फोटो लिदै रमाइलो गरिरहेको थियो । डुङ्गाबाट झरेपश्चात रात्रीकालिन समयमा आरति ताप्ने चलन रहेछ मैले पनि आरति तापे । जसपश्चात हामी लेकसाइडको रात्रीकालिन दृश्य हेर्न अगाडि बढ्यौ । झिलिमिलि बत्तिले पोखरालाई स्वर्गको उपममा सिंगारी रहेका थिए ।

रात्रिकालिन दृश्य झनै मनमोहक थिए । फेशनेवल कपडामा सजिएका सयौं परीहरु सडकपेटीमा यत्रतत्र देखिन्थे । लाग्थ्यो ति परीसँग घण्टौं गफि रहौं । माया पिरतीका बात मारी रहौं । मानिसहरु आ-आफ्नै सुरमा मस्त थिए । कोही कसैलाई कसैको वास्ता थिएन ।

लाग्छ जहाँ कुनै ठुलै मेला लागि रहेको छ । दिनभर सुन्दर नगरी पोखरालाई आफ्नै समिपमा राख्दै पोखराकै छातिमा टाँसिएर रमाइलो गरियो । अवेरसम्म लेकसाइड घुमेपछि लाग्थ्यो साँझ झमक्क परेको रात अर्थात सुहागरातमा बलेको मधुर बत्ति झै पोखरा बलिरहेको छ । तत् पश्चात हामी खाना खानका लागि होटलतर्फ लाग्यो । डेभिड फल्स, गुप्तेश्वर महादेव, फेवाताल लगायत अन्य धेरै ठाउँको अवलोकन पश्चात समय छोटो भएका कारण हामीले यात्रा छोट्याउनु पर्ने थियो । अर्थात फर्कनु पर्ने । समय अभावका कारण केही घुम्नै पर्ने ठाउँहरु छोडिए ।

जसले मन भने खिन्न भई रहेको थियो । खाना खाए पश्चात रातिको करिव ११ बजे हामीले पोखरालाई भौतिक रुपमा छोड्नु पर्ने थियो । सोही अनुरुप हामी यात्रामा सामेल भयौ । जाँदा गएको बाटो फर्कदा लाग्थ्यो मेरो मुटु नै यतै कतै हरायो । भौतिक शरिर त गाडीको सिटमा लम्पसार थियो तर मन, मस्तिष्क भने पोखरामै छुट्यो । विरानो यो शहरका मान्छेहरु तर पनि आफ्नै छुटे झै महशुस भइ रहेको थियो । लाग्थ्यो सधैंका लागि यतै बसौं ।

बाँकी जीवन पोखराको काखमै बिताऔं । तर बास्तविक म र पोखरामा धेरै अन्तर थियो । मनै चुडाउने पोखराको यात्रा करिव तीन दिन पश्चात हामी पुनः फर्कियौं । लाग्छ फेरी यस्तै मौका आवस् । फेरी पनि पोखरालाई छातिमै टास्न पाउँ । पोखरामै हराउन पाउँ । अन्तत यो फलदायी र रमणिय यात्रा पश्चात मलाई बोकेको गाडिले पोखरालाई पृष्ठभूमिमा छाडेर अगाडि बढ्यो ।

केही समयमै मेरो सपना अनि रहरको शहर पोखरा मेरो समिपबाट टाढा भयो । पोखरा दृष्टिबाट हराउँदै गर्दा लाग्थ्यो दिल खोलेर बिदाई गरिरहेको छ । आउँनेलाई स्वागत । अन्तत पोखरा मेरो आँखाबाट विलिन भयो समय रहेछ र फेरी पनि मौका मिलेछ भने फेरी भेटौला भन्दै मनमनै कल्पना गर्दै मन्द मुस्कानमा मुस्कुराउँदै हृदयदेखिका मधुर आवजले भनिरहेका थिए बाइ पोखरा, सि यु अगेन ।

जीवनकै अविस्मरणिय पोखरा अवलोकनको अवसर जुराइ दिनुहुने नेशल प्रिन्टिङ्ग प्रेस, बाँकेका आदरणिय दाजु नोखराज रावत, नारायण चौधरी र यात्रालाई फलदायी बनाउनमा सहयोग पुर्‍याउनु हुने मेरा सहकर्मी साथीहरुलाई धरै धेरै धन्यवाद । (लेखक पहिलाे प्रेसकर्मी हुन् ।)


सम्बन्धित समाचार