Loading... आजः २ कार्तिक २०८२, आईतवार

लोकतन्त्र र समृद्धिका पक्षधरहरु व्यवस्थाको रक्षार्थ एक ठाँउमा उभिनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्र र समृद्धिका पक्षधरहरु एकपटक फेरि राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एक ठाँउमा उभिनुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसरा पारेर लामो शुभकामना सन्देश लेख्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन ।

हेर्नुहोस, उनले लेखेको सन्देशः
संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज हो । यसमा लिपिवद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको संवोधन लागि तीनै तहका सरकार प्रयत्नरत भइरहेकै अवस्थामा एकाएक मुलुकले फरक मोड लिन पुग्यो । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकार जस्ता मागहरू लिएर सडकमा आएको जेन–जी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाका कारण उत्पन्न परिस्थिति पछि यतिवेला हामी सबै सामु गम्भीर चुनौती उत्पन्न भएको छ । संविधान जारीपछि आवधिक निर्वाचनका माध्यमबाट तीन वटै तहका सरकारले विकास र समृद्धिको लय समाइरहेको अवस्थामा पछिल्लो घटनाक्रमले मुलुकलाई फेरी दशकौं पछाडि धकेल्ने प्रयन्न भएको छ ।

नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिनु राज्यको दायित्व हो । आम नागरिक र खास गरि युवा पुस्ताको वीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहलहरू पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा वढ्नुलाई अन्यथा मान्नु हुँदैन । यस्ता कमी कमजोरीहरूलाई सच्याउँदै आ–आफ्नो ठाउँबाट सुधारसहित आम नागरिकमा भरोसा बढाउँदै जानुपर्ने वास्तविक यथार्थतालाई हामी सबैले स्वीकार्नै पर्दछ तर, परिर्वतन र शान्तिपूर्ण आन्दोलनका नाममा भएका आगजनी, तोडफोड तथा विध्वंसात्मक तथा विनाशकारी घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा कहिल्यै कल्पना समेत गर्न नसकिने त्यस प्रकारका घटनाले लोकतन्त्र र समृद्धिका पक्षधरहरु एकपटक फेरि राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एक ठाँउमा उभिनुपर्ने अवस्था सृजना भएको छ । यो विषयलाई गम्भीरतापूर्वक लिन लोकतन्त्रका पक्षधर सबैलाई म हार्दिक अनुरोध गर्दछु ।

संविधान निर्माणसंगै जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अव मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने अहिलेको प्रमुख कार्यभार थियो ।

अहिले जेन्जी पुस्ताले उठाएका मागहरू यसै संविधानमै रहेर पुरा गर्न सकिने प्रशस्त आधारहरु थिए, छन् । नेपाली जनताको लामो संर्घषको परिणाम स्वरुप बनेको संविधानलाई संशोधन गरेर थप परिस्कृत गराउन सकिने पर्याप्त आधारहरु छन् । आफ्ना मागहरुलाई संवैधानिक बाटोबाट शान्तिपूर्ण तरिकाले पुरा गर्न सकिने अधिकार संविधानमै निहित छ । पछिल्लो पटक भएका हिंसात्मक आन्दोलनले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने भन्दा थप राजनीतिक अस्थिरता र अराजकताको भूमरीतर्फ लैजाने स्पष्ट संकेत देखिएको छ ।

हामीले प्राप्त गरेका संघीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्था लगायतका महत्वपूर्ण उपलब्धीमाथि प्रहार गर्ने नियतका साथ गरिएका असंवैधानिक एवम् अराजक गतिविधिले हामी सबै चिन्तित बन्नुपर्ने अवस्था आएको छ । राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सामु गम्भीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा यतिबेला समयले हामी सबैबाट सुदृढ र रचनात्मक भूमिकाको माग गरिरहेको छ । पछिल्ला घटनाक्रमहरुले अहिले देखिएको विषम परिस्थितिमा प्राप्त उपलब्धीको रक्षा गर्दै सम्हालिनु, थप एकतावद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु नै समयको माग हो । यस विषम परिस्थितिमा सम्पूर्ण राजनितिक दलहरु, नागरिक समाज, युवा पुस्तालगायत सबैमा धैर्य रही प्राप्त उपलब्धीको रक्षा गर्दै संबैधानिक तथा लोकतान्त्रिक मूल्य मान्यता अनुसार थप एकतावद्ध हुन म अपिल गर्दछु ।

प्रदेश संरचना नै संघीयताको खास पहिचान हो तर प्रदेश संरचनाप्रति उठेका टिका–टिप्पणीलाई समयको माग बमोजिम सुधारात्मक बनाउनु अहिलेको आवश्यकता पनि हो । मुलुकमा राजनीतिक स्थायित्व कायम गरी समृद्धि हासिल गर्न तीन तहका सरकारबीच समन्वय जरुरी छ । हाम्रो संविधानले सहकार्य, समन्वय र सहअस्तित्वलाई आत्मसात गरेको छ । संविधानको यो मूल मर्म अनुसार यो दिवसले संविधान प्रदत्त नागरिकका अधिकारप्रति कर्तव्यनिष्ठ र थप जिम्मेवार बन्न हामी सबैलाई प्रेरणा मिल्ने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु । संविधानको सफल कार्यान्वयनमार्फत अहिले देखिएको अन्यौलता र अस्थिरतालाई संवोधन गर्दै राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न म सबैमा हार्दिक अनुरोध गर्दछु ।


सम्बन्धित समाचार