बड्डिचौर सह-लगानी खानेपानी आयोजना शिलान्यास

सुर्खेत ।
सुर्खेतको बराहताल गाउँपालिका-५, मा रहेको बड्डीचौर सह-लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्किम नं. १ को शिलान्यास गरिएको छ । सह-लगानी आयोजना अन्तरगत स्किम नं. १ को चेपाङ, रक्सेनी, बसन्तपुर र बुटी खण्डमा सञ्चालन हुने आयोजनाको शिलान्यास भएको हो । आयोजनाको बुधबार (आज) बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गरेका हुन् ।
बराहताल गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का करिव १२ सय घरधुरीलाई पानीको पहुँचमा पुर्याउने लक्ष्यका साथ संस्थाले उक्त आयोजना निर्माण गर्न लागेको हो । जसका लागि संस्थाले नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ८ सय रुपैयाँ ऋण सम्झौतासमेत गरि सकेको छ ।

बड्डीचौर सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना निर्माणमा कुल १५ करोड ९३ लाख ७४ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । कुल लागत मध्ये ७० प्रतिशत अर्थात ११ करोड १५ लाख ६१ हजार ८ सय रुपैयाँ नेपाल सरकारले अनुदान स्वरुप प्रदान गर्नेछ भने आयोजनाको १० प्रतिशत अर्थात १ करोड ५९ लाख ४ सय रुपैयाँ उपभोक्ताले आफै व्यहोर्नु पर्ने संस्थाका अध्यक्ष अर्जुन कुमार बुचामगरले जानकारी दिए ।
अध्यक्ष मगरका अनुसार अब निर्माण हुने आयोजनाको पहिलो मुहानबाट प्रति सेकेण्ड साढे १० लिटर, दोस्रोबाट तीन लिटर र तेस्रो मुहानबाट प्रति सेकेण्ड ४ लिटरको दरले पानी संकलन हुनेछ ।
आज बुधबार सम्पन्न शिलान्यास कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष तिलक बहादुर मर्साङ्गि मगर, वडा नं. ७ का वडाध्यक्ष कुल बहादुर बुचा मगर, समाजसेवी प्रेम बहादुर बस्नेत, संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना कार्यलय सुर्खेतका ईन्जिनियर महेन्द्र सिं थारु, एन्फो संस्थाका प्रतिनिधी लगायत बड्डिचौर सह-लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिए ।








पहिलोप्रेस
२१ पुष २०७८, बुधबार १७:४६