कर्णालीमा एमालेभन्दा गठबन्धनको डबल मतभार
सुर्खेत : आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णालीबाट सत्तारूढ गठबन्धनका उम्मेदवारको जित सुनिश्चत देखिएको छ।
राष्ट्रियसभा सदस्य पदमा कर्णाली प्रदेशअन्तर्गत जम्मा ३ सिटमा सत्तारूढ गठबन्धनका ३ र नेकपा एमालेका ३ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्।
सत्तारूढ गठबन्धनले साझा उम्मेदवारी दिएका छन् । भने नेकपा एमाले सत्तारूढ गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएको छ। जसमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारमध्ये नेपाली कांग्रेसले महिलातर्फ दुर्गाकुमारी गुरुङ (सुर्खेत), माओवादी केन्द्रले अपाङ्गतातर्फ नरबहादुर विष्ट (सुर्खेत) र खुलाबाट नेकपा एकीकृत समाजवादीले उदय बोहोरा (सल्यान) लाई उम्मेदवार बनाएको छ।
गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेले महिलातर्फ गंगा थापा महत (जुम्ला), अपांगता-अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) र खुल्लातर्फ चूडामणि शर्मा (सुर्खेत)लाई उम्मेदवार बनाएको छ। मंगलबार सबै उम्मेदवारले सुर्खेत निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराइसकेका छन् ।
हाल राष्ट्रियसभामा कर्णालीबाट निर्वाचित महिलातर्फ कविता बोगटी (हुम्ला), अपांगताबाट जीवन बुढा (कालीकोट) र अन्य समूहबाट ठगेन्द्रप्रकाश पुरी (रुकुमपश्चिम)को पदावधि सकिँदै छ।
गठबन्धन उम्मेदवारको जित सुनिश्चत
कर्णालीमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारको जित सुनिश्चत देखिएको छ। नेकपा एमालेका उम्मेदवारहरु कुल मतभारका हिसाबले गठबन्धनका उम्मेदवारसँग दोब्बर मतले पछि देखिएपछि सत्तारूढ गठबन्धनका तीनैजना उम्मेदवारको जित सुनिश्चत देखिएको हो ।
सत्तारूढ गठबन्धनको जम्मा मतभार २ हजार ९ सय १६ छ। भने नेकपा एमालेको जम्मा मतभार १ हजार ४ सय ३४ मात्र छ।
चुनावका लागि जम्मा १ सय ९१ जना मतदाता छन् । तीमध्ये ३५ जना प्रदेशसभाका सदस्य र १ सय ५८ जना स्थानीय तहका प्रमुख-उपप्रमुख हुन्। प्रदेशसभा सदस्यको मतभार एकजना बराबर ४८ र प्रमुख- उपप्रमुखको १८ मतभार हुन्छ।
कुन पार्टीको कति मतभार?
मतभारका हिसाबले कर्णाली प्रदेशमा माओवादी केन्द्रको मतभार सबैभन्दा बढी अर्थात् १ हजार ५ सय १२ छ। माओवादीका ५२ जना प्रमुख-उपप्रमुख र १२ जना प्रदेशसभा सदस्य छन्।
त्यस्तै, नेकपा एमालेको मतभार कर्णालीमा १ हजार ४ सय ३४ छ। एमालेका ४५ जना स्थानीय तहका प्रमुख-उपप्रमुख र १३ जना प्रदेश सांसद छन्।
नेपाली कांग्रेसको मतभार भने १ हजार २६ छ। कांग्रेसका ४१ जना प्रमुख-उपप्रमुख र ६ प्रदेशसभा सदस्य छन्। यस्तै, नेकपा एकीकृत समाजवादीको मतभार ३ सय ७८ छ। सो पार्टीका १३ जना स्थानीय तहका प्रमुख-उपप्रमुख छन्। भने ३ जना प्रदेशसभा सदस्य छन्।
प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना सदस्य छन्। भने ५ जना प्रमुख-उपप्रमुख स्वतन्त्र निर्वाचित छन्। उनीहरूले मत कसलाई दिन्छन् भन्ने प्रष्ट छैन।
हाल जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी निलम्बनमा परेका छन्। उनी मतदानमा भाग लिन पाउँदैनन्।
त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको मृत्यु भइसकेको छ। भने अर्का मतदाता कालीकोट तिलागुफा नगरपालिका उपमेयर दन्ता नेपाली लामो समयदेखि सम्पर्कमा छैनन्।
पहिलोप्रेस
२२ पुष २०७८, बिहीबार १३:१५