Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली ‘माओवादीका अहो भाग्यमानी सांसद’, जसले पालैपालो मन्त्री हुने अवसर पाए…

मन्त्री नियुक्त गराउनमा माओवादी ‘फोर जिपीए’ नजिक !

सुर्खेत ।
अघिल्लो निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन पश्चात पार्टी एकता समेत भएपछि कर्णालीका २४ प्रत्यक्ष प्रदेश सभा सिटमा २३ सिटमा एमाले र माओवादीका उम्मेदवारहरु विजयी भएका थिए ।

काँग्रेसका एकमात्र प्रत्यक्ष निर्वाचित सांसदको अवसर पाएका हुम्लाका जीवनबहादुर शाही अहिले मुख्यमन्त्री बनिसकेका छन् ।

नेकपा एमाले र माओवादीलाई सर्वोच्च अदालतले नेकपाबाट अलग अलग दलमा रुपान्तरण गरिदिएपछि कर्णालीमा सत्ता समिकरणमा समेत व्यापक फेरबदल भएको हो । एक सिट प्रत्यक्ष जितेको नेपाली काँग्रेसका लागि मुख्यमन्त्री उपहार पाउनु अहोभाग्य बन्यो भने माओवादीका सबै सांसदहरुले मन्त्री बन्ने अवसर समेत पाउने करिब निश्चित भएको छ ।

माओवादीबाट निर्वाचित भएका सांसदहरुमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाही बनिसकेका छन् भने अरु सांसद मध्ये हाल तीन जना मात्रै मन्त्री पदको सपथग्रहण गर्न बाँकी छन् ।

यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रीमा नरेश भण्डारी र सिता नेपाली, आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र गोपाल शर्मा मन्त्री भइसकेका छन् ।

यस्तै, उर्जा तथा जलस्रोत मन्त्रीमा गणेशबहादुर सिंह मन्त्री हुँदा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा गैरसांसद कार्चेन लामा नियुक्त भइसकेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा विमला केसीसमेत मन्त्री भइसकेकी छिन् ।

अब चार महिनाका लागि मन्त्री बन्ने लाईनमा माओवादीका तीन जना सांसद मात्रै बाँकी छन् ।

डोल्पाका वीरबहादुर शाही, रुकुम पश्चिमका रातो कामी र जाजरकोटका कृष्णा शाह मन्त्री बन्ने तरखरमा छन् । सुरुमा वीरबहादुर शाहीलाई मात्रै मन्त्री बनाउने माओवादीको तयारी भएपनि बाँकी दुइ जनालाई किन चित्त दुख्ने बनाउने भन्दै पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाउने तयारी गरेका हुन ।

हाल माओवादीसँग तीन ओटा मन्त्रालय छन् । उर्जा तथा जलस्रोत, आर्थिक मामिला र पर्यटन मन्त्रालय माओवादीको भागमा छ ।
‘अरु सबै मन्त्री भइसकेपछि चार महिनाका लागि मत्रै भएपनि तीनै जना बाँकी रहेका सांसदलाई मन्त्री बनाउने तयारी तीव्र रुपमा अघि बढिरहेको छ ।’ दलका नेता शाही निकट स्रोत भन्छ, ‘अबको एक दुइ दिनमा तीनै जनाले सपथ लिनुहुन्छ होला ।’
यसअघि माओवादीले रातो कामीलाई संसदीय समितिको अध्यक्ष बनाउने, कृष्णा शाहलाई प्रमुख सचेतक बनाएर वीरबहादुर शाहीलाई मन्त्री बनाउने योजना बनाएको थियो । संसदीय समितिमा चुनाव हुन नसकेका कारण अब रातो कामीलाई पनि मन्त्री बनाउने तयारी महेन्द्रबहादुर शाहीले सुरु गरेका हुन ।

‘दलको वैठक सम्पन्न भएको छ । मन्त्री छान्ने जिम्मा हामीले दलका नेता एवम पूर्व मुख्यमन्त्री शाहीलाई दिएका छौं ।’ प्रमुख सचेतक शाह भन्छिन्, ‘अबको एक दुइ दिनमा उहाँले टुंगो लगाउनु हुन्छ होला ।’

कर्णाली प्रदेश सभामा माओवादीका दुइ जना सांसद एमालेमा प्रवेश गरेका कारण रिक्त भइसकेका छन् । धर्मराज रेग्मी र ठम्मर विष्ट एमालेमा आइसकेका छन् । बाँकी हाल माओवादीसँग ११ जना सांसद रहेका छन् । सात जना सांसदहरु यसअघि नै मन्त्री भइसकेका छन् । गैर सांसदका रुपमा ६ महिने मन्त्री हुम्लाका कार्चेन लामा पनि बनिसकेका छन् । उनलाई जोडदा माओवादीले आठ जना मन्त्री बनाइसकेको छ ।

माओवादीका सांसद पुष्पा घर्ति मगर भने उपसभामुख रहेकी छिन् ।

माओवादी नेता नरेश भण्डारी समेत मन्त्री बन्न तीन जना तयार रहेको बताउँछन् । ‘भविष्यमा के हुन्छ थाहा छैन । तीन जना नेताहरु मन्त्री नबनेका कारण अब उहाँहरुलाई मन्त्री बनाउँदा ठिकै हुन्छ जस्तो लागेर हामीले त्यहि सुझाव दिएका हौं ।’ उनी पहिलोप्रेससँग भन्छन, ‘बाँकी दलका नेताले टुंगो लगाउलान ।’

माओवादीबाट मन्त्री हुने लाइनमा रहेका एक सांसदले एक दुइ दिनमा सपथग्रहण हुने सम्भावना रहेको बताए । एक दुइ दिनमा सपथग्रहरण हुन्छ होला । को को मन्त्री बन्छन, थाहा पाइहाल्नुहुन्छ नि ?’ ती सांसदले भने ।

यी हुन मुख्यमन्त्री तथा मन्त्री भइसकेका माओवादीका सांसदहरु
महेन्द्रबहादुर शाही (कालिकोट)
विमला केसी (रुकुम पश्चिम)
विन्दमान विष्ट (सुर्खेत)
गणेशप्रसाद सिंह (जाजरकोट)
गोपाल शर्मा (रुकुमपश्चिम)
सिता कुमारी नेपाली (सुर्खेत)
नरेश भण्डारी (जुम्ला)

मन्त्री बन्न वाँकी सांसदहरु
कृष्णा शाह (जाजरकोट)
रातो कामी (रुकुम पश्चिम)
विरबहादुर शाही (डोल्पा)

उपसभामुख
पुष्पा घर्ती मगर (सुर्खेत)

गैरसांसद मन्त्री
कार्चेन लामा (हुम्ला)

 


सम्बन्धित समाचार